नेकपाको चियापानमा जमराको जलपान : वामदेवको चिया टर्रो, प्रचण्डको सेतोकालो

 कात्तिक १०, २०७५ शनिबार ७:२९:१३ | मिलन तिमिल्सिना
unn.prixa.net

गुमनाम भएका ऋषि कट्टेलदेखि आग्निवाण बोकेका नेत्रविक्रमको समेत नाम मिल्नेगरी गठन भएको ठूला वामको नेकपा ।

वरको सिन्को पर सार्न नसके पनि ‘समृद्धि समृद्धि’ भनेर दिनरात गायत्री जप्ने प्रधानमन्त्री र मन्त्रीहरुले भरिएको सरकार । दुई तिहाईको बलियो सरकार चलाउने पार्टीको पहिलो चियापान कार्यक्रम । 

गैसकेको दसैँदेखि आउँदै गरेको तिहार, नेपाल सम्वत, छठ, क्रिसमस, ठूलो एकादशी, १५ पुस, माघे संक्रान्ति, चैते दसैँसम्मका शुभकामना एकैपटक भन्न पाइने गज्जबको अवसर । पहिले दुई पार्टीले छुट्टाछुट्टै गर्दा त ताउरमाउर र फूर्तीफार्ती ठूलै हुन्थ्यो । यसपाली दुई पार्टी एउटै भएपछि हुन लागेको चियापान त झन् अरुलाई देखाउनको लागि पनि भव्य पार्नै पर्यो ।

त्यसैले समृद्धिका गफ, उखानटुक्का र सपना छाडेर नेकपाका नेताहरु शुभकामना कार्यक्रमलाई भव्य बनाउन लागेका छन् । शीर्ष नेताहरुले आफ्नै अवस्था, व्यवहार र रुची अनुसारको चिया र जुसपानको व्यवस्था गरेका छन् । 

ओलीको जमराको जुस

देशको समेत मूली रहेका पार्टीका एक नम्बर मूली केपी शर्मा ओलीले यसपटक दसैँमा अक्षता र जमरा धेरै समाउनुपर्यो । टीकाको दिन शुरु गरको टीका पूर्णिमाको दिनसम्मै लगाउन भ्याईनभ्याई भयो । दसैँको बिदा धेरै भयो भनेर बिदा कटौती गर्ने ओली कार्यालय खुलेको दिन पनि सिंहदरबार जानुभएन । बालुवाटारमै बसेर टीका लगाइदिनुभयो । टीका पनि यसरी लगाउनुभयो कि मन नपरेको मान्छेलाई धनमाल दिएझैं मन नलागी नलागी बायाँ हातले नै जमरा कान र हाततिर फाल्दिनुभयो । 

यसरी फालेर बाँकी रहेको जमरा अझै बालुवाटारमा रहेछ । गोबरदेखि बिजुलीसम्म, रेलदेखि पानीजहाजसम्म सबै ज्ञान भएका ओलीलाई जमराको जुस औषधि पनि हो भन्ने सामान्य कुरा थाहा नहुने कुरै भएन । त्यसमाथि उहाँ आफैं पनि रोगी । चियाभन्दा जुसले बढी फाइदा गर्छ भन्ने थाहा छ । त्यसैले उहाँले शुभकामना कार्यक्रममा आफ्नै देबे्र हातले निचोरेर बनाएको जमराको जुसको व्यवस्था गर्नुभएको छ । टीका थाप्न जाने त पक्कै पनि जुसको लाइनमा बस्लान् । अरुलाई पनि जमराको जुसपानको लागि उहाँले चुले निम्तो गर्नुभएको छ ।

प्रचण्डको आलोपालो चिया

आलोपालो प्रधानमन्त्रीका सूत्रधार तथा पार्टीका दुई नम्बर मूली पुष्पकमल दाहालले आफ्नै रुचीअनुसारको आलोपालो चियाको व्यवस्था गर्नुभएको छ । चियापान कार्यक्रममा उहाँ पार्टीका एक नम्बर मूली ओलीको छेउमा बस्नुहुनेछ । 

उहाँको अघिल्तिर चिया भएको दुईवटा कित्ली हुनेछ । एउटामा दुध भएको सेतो चिया, अर्कोमा दुध नराखेको कालो चिया । गुलियोमा सबै भुल्छन् भन्ने यथार्थलाई मनन गर्दै उहाँले दुवै चियामा चिनी मजैले राख्नुहुनेछ ।

चियापान गर्न आउनेलाई उहाँले पहिले दुध भएको सेतो र त्यसपछि कालो चिया पालैपालो दिनुहुनेछ । उहाँको अघिल्तिर पुग्नेले एउटै मात्र चिया पिउँछु भनेर सुख पाउँदैन । आलोपालो गरेर दुवै चियाको स्वाद लिनैपर्छ भनेर उहाँले दुईथरी चिया पिउन बाध्य पार्नुहुनेछ । दुईथरी चिया पिउनेले उहाँलाई आलोपालो सिद्धान्त अनुसार सहज रुपमा प्रधानमन्त्री बन्नुहोला भनेर शुभकामना पनि दिनुपर्ने हुन्छ ।

वामदेवको तीतो चिया

नेकपाका टप टेनभित्रका मानिने अर्का नेता वामदेव गौतमको यसपालीको दसैँ खल्लो भयो । मासु खाने मुख तीतो भयो । बल्लतल्ल काठमाडौं ७ का रामवीर मानन्धरलाई फस्ल्याङफुस्लुङ पारेर साँसद बनौंला भन्ने ठूलो दाउ थियो । तर मानन्धरलाई मनाए पनि आरिसेहरुले देखिसहेनन् । चुनाव नै नलडीकनै डङ्ग्रङ्गै लडाइदिए । मासु चाट्ने बेला धुलो चाट्नु पर्यो ।

मनै खल्लो र मुखै तीतो भएको यो बेला वामदेव काम्रेडले चियापान कार्यक्रममा पनि तीतै चियाको व्यवस्था गर्नुभएको छ । उहाँले दिने चियामा चियापत्ती, चिनी र कागती हुने छैन, बरु निमको पात मिसाइएको हुनेछ । यसरी तयार पारिएको टर्रो चिया स्वास्थ्यको लागि पनि फाइदाजनक हुने भन्दै उहाँले आफूजस्तै पछारिएका र पछि पारिएका कार्यकर्ता तथा शुभचिन्तकलाई निम्तो दिनुभएको छ । 

माधव नेपालको फिका चिया

देश डुब्यो भनेर माझी बोलाउँदा पनि कसैले पत्याएनन् । पार्टीमा असहमतिको पोको बिसाए पनि अरुले फुकालेर छताछुल्ल बनाए । सबै मिलेर मच्चियो मच्चियो थच्चियो पारिदिए । 

आफ्नो यही अवस्थालाई प्रतिविम्वित हुने गरि माधव काम्रेडले फिका चियाको व्यवस्था गर्नुभएको छ । प्रचण्डको कालोे चिया र उहाँको फिका चियामा एकथोक मात्र फरक हुनेछ । त्यो के भने प्रचण्डको आलोपालो अन्तर्गतको कालो चियामा चिनी हुनेछ भने माधव काम्रेडको कालो चियामा चिनी राखिने छैैन । तर उहाँको चियामा वामदेवको जस्तो निमको पात होइन, चियाको रंग मिसिएको पुरै फिका चियाको व्यवस्था हुनेछ । 

चिनीमा जति भुलिए पनि पछि भुलिने जति फालिने भएकाले कुनै साइड इफेक्ट नगर्ने फिका चियामा बल गर्न काम्रेड नेपालले अनुरोध गर्नुभएको छ ।

झलनाथको ग्रीन टी

मीठोमसिनो खानेकुरा खाँदैमा र ह्याण्डसम भएर हिँड्दैमा अरुले पत्याउँदैनन् भन्ने झलनाथ काम्रेडलाई थाहा भैसकेको छ । खाएको र लाएको हेरेर हुने भए त पार्टीको टप टेनभित्र उहाँ पर्नुहुन्थ्यो नि । तर पर्नुभएन, अर्थात अरुले पारेनन् । 

ओली र प्रचण्डको जस्तो मुख गुलियो नि भएको छैन, वामदेवले जस्तै तीतो मुख लगाएर हिँड्नु परेको छैन । माधवको जस्तै कहिले गाढा र कहिले फिका पनि भएको छैन । पार्टी एकतापछि सदावहार उही दैनिकीमा चलिरहेका काम्रेड खनाललाई पुरै गुलियो, पुरै तीतो र फिकाभन्दा पनि एकनासको ग्रीन टीमा विश्वास बढ्न थालेको छ । त्यसैले चियापानमा उहाँले ग्रीन टीको व्यवस्था गर्नुभएको छ ।

यसरी नेकपाका शीर्ष नेताहरुले आफ्नो अवस्था, व्यवहार र रुचीअनुसारको ‘फ्लेवर’मा चिया बाँड्दैछन् । तपाईंलाई कुन नेताको कुन चिया मन पर्छ ? समयमै भृकुटीमण्डप पुगेर मुख मिठ्याउँदै लाइनमा उभिनुस् । समृद्धिको सपना र चियाको स्वाद एकसाथ मिल्नेछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया