खेल रसियामा, भिडन्त नेपालमा!

 जेठ २६, २०७५ शनिबार ९:२२:५६ | मिलन तिमिल्सिना
unn.prixa.net

व्यंग्य

बेसीबाट बेसारको बोरा बोकेर बेसार बाजे बसमा चढे । बेसारको धुलोले शिरदेखि पैतलासम्म पूरै पहेंलपुर । लुगा र शरीर समेत पहेंलो भएका बेसार बाजेलाई देखेर बसको पछिल्तिर रहेका ठिटाहरु गलल्ल हाँसे ।

– सुड्डो त पुरै ब्राजिलको फ्यान पो रैछ त ।

–जर्सी मात्र हो र, हेर न जुँगा पनि पहेंलै पो छ त बुढाको ! हाहाहा.....।

‘ए बाजे, सिधै ब्राजिलबाट आएको हो ?’ एउटा ठिटाले सोध्यो ।

‘बाजुरा हैन बाबु, तल बेसीबाट आएको, शहर जान’ बेसारको बोरा समाउँदै बाजेले जवाफ फर्काए ।

‘नेइमारले नै दान दिएजस्तो छ लुगादेखि पोकासम्म सुड्डोलाई’ अर्को बोल्यो ।

‘त्यो नेपाने मोराको कुरा नगर है बाबु हो । अस्ति एक मानो बेसार लिएर गएको पैसा त दिएको छैन । त्यस्तै लोभीले दिन्छ नि लुगा’ ठिटाहरुले नेइमार भन्दा बुढाले गाउँकै छिमेकी न्यौपाने सुनेछन् ।

‘ए सुड्डोले के भन्छ यार । नेइमार भनेको, नेपाने पो भन्छ त ! ए बुढा तिमी ब्राजिलको फ्यान हैन ?’ फेरि अर्को केटो बोल्यो ।

अघिल्तिर सिटमा पहेंलो जर्सी लगाएर बसेका अर्काथरी ठिटाहरु बोले, ‘ओइ केटा हो कसलाई थर्काएको । ती बेसार बेच्न हिँडेका बाजेलाई किन जिस्क्याउँछौं । तागत भए यता आओ ।'

‘ए जोगीहरु पनि रैछन् त त्यहाँ । हेर हुलै बाँधेर माग्न हिँड्या जस्तो छ । कमण्डलु त देखिएन नि । हाहाहा’ अर्जेन्टिना समर्थक ठिटाहरुले जिस्क्याए ।

‘ओई कसलाई जोगी भनेको ? बाटोमा फालेको डीडीसीको दूध प्याकेट टिपेर टेलरमा सिलाएर जर्सी बनाएजस्तो छ । फूर्ति गर्छौ !’ ब्राजिलका समर्थक झन् के कम ।

‘हेर केटा हो देख्दै जण्डिस लागेको पहेंले बेसारेहरु भन्दा त यही राम्रो छ’ अर्जेन्टिनाका समर्थक किन झुक्थे र ।  

‘खुब राम्रो ! त्यस्ता छिर्केबिर्के लुगा के काम ? एकपटक बल हानेर लडेपछि मैलो भएर कुन टिमको हो भनेर चिन्नै मुश्किल पर्ने’ ब्राजिलका समर्थक गल्लल हाँसे ।
‘ल ल नकराओ धेरै । तिमीहरुका नेइमार भन्दा त हाम्रै मेस्सी हेन्डसम छ’ अर्जेन्टिनाको ठिटाले फूर्ति लगायो । 

‘धेरै नखोक मुलाहरु । हेर हामी त फुटबलको बादशाह । पेलेको देश, फुटबलको देश । पाँचपटक त विश्वकप नै जितिसकेको छ’ ब्राजिलका समर्थकले पहेंलो जर्सी तन्कायो ।

‘पाँचपटक जितेर के गर्नु । चार वर्षअघि आफ्नै मैदानमै जिल खानुपर्यो त । जिल खाने टिम ब्राजिल हाहा’ अर्जेन्टिनाको ठिटाले अघिल्लो विश्वकप सम्झायो ।

‘ल भयो तिमीहरुको अर्जेन्टिनामा त्यही एउटा मेस्सी हो अलिअलि काम लाग्ने । त्यही पनि सन्यास लिएर फेरि फर्किएको मान्छेका के भर ! मेस्सी न सेस्सी’ ब्राजिलका समर्थक किन झुक्थ्यो र ।

ब्राजिल र अर्जेन्टिनाका ठिटाहरुको वाकयुद्ध सुनिरहेका दुईजना दिदीहरुलाई खपिसक्नु भएन । 

उतापट्टि सिटमा बसिरहेका दिदीहरु उफ्रे – ‘ए बजियाहरु मुखमा जे आयो त्यही बोल्छौ ? थुतुनो च्यात्नुपर्यो !’ 

‘के बोलेका छौं र दिदी हामीले ?’ ठिटाहरु झस्किए ।

‘के भन्या त्यो ? अघिदेखि नै ब्राझिक, म्याक्सी भन्या छ, भन्या छ । तिमीहरुको घरमा दिदीबहिनी छैन । दिदीबहिनीले नै लगाउँदा हुन् नि ब्रा र म्याक्सी । मनलाग्दी बोल्छौ । मुख सिलाईदिउँ ?’ दिदीहरुले पिटौंला झैं गरे ।

‘ल यी सुड्डीहरुसँग नसकिने भयो’ भन्दै बसको पछिल्तिर सिटमा बसिरहेका अर्जेन्टिनाका ठिटाहरु अघिल्तिर हिँडे ।

‘हाहाहा..ओई तिमीहरु त ब्राझिक टोलीका रे’ अर्जेन्टिनाका ठिटाले ब्राजिलका ठिटालाई खिल्ली उडाए ।

‘अनि तिमीहरु नि म्याक्सीका मान्छे रे, हाहाहा’ ब्राजिलका समर्थकले पनि जवाफ फर्काए ।

अर्कोतिर सिटमा सेतो जर्सी लगाएका जर्मनीका ठिटाहरुको अघिदेखि नै पारो चढेको थियो । एकजना बोलिहाल्यो, ‘ओई....जर्मनीका अगाडि अरु फ्याउराहरु धेरै प्यारप्यार नगरौं त । हामी त युरोपको बादशाह । हाम्रा थोमस मुल्लर कुर्ले भने सबैलाई कुलेलम ठोक्ने बनाउँछन् ।’

पछिल्तिर रहेको पोर्चुगलका फ्यानले पनि मुख खोल्यो, ‘ओई केटा हो, रोनाल्डो कहाँको हो भन्ने थाहा छ कि छैन ? कि भनिरहनुपर्यो । अनि आन्द्रे सिल्भाको नाम त सुनेका होलाउ नि ।’

‘हाहा नामै आन्द्रे । त्यस्ताको त आन्द्रा चुडाउँछ स्पेनले । अनि त्यस्ता रोनाल्डोलाई त हाम्रो डिएगो कोस्टाले ठाउँको ठाउँमै ढालिदिन्छन् । अनि डेभिड जिया कसको गोलकिपर थाहा होला नि ? यसपाली सुनको ग्लोब जित्ने नै उनी हुन्’ रातो जर्सी लगाएर बसेको स्पेनको समर्थक बोल्यो ।

जर्मनीको समर्थकलाई फेरि पारो चढ्यो, ‘यसअघि ब्राजिलमा भएको विश्वकपमा नेइमारको ब्राजिल र मेस्सीको अर्जेन्टिनालाई लडाएर विजेता भएको बिस्र्यौ ? चारपटक विश्वकप जितिसकेका छौं । अब पाँच पुग्छ । त्यसमाथि हाम्रा त एक होइन, सबै खेलाडी स्टार छन् ।’

‘पाँचपटक पहिल्यै जित्ने चाहिँ को नि ?’ ब्राजिलको समर्थकलाई खपिसक्नु भएन, ‘कोही छ पाँच पटक जितेर देखाउने अहिलेसम्म ?’
‘हामीले पनि एकपटक जितेर देखाइसकेका हौं, अब दुई हुन्छ’ स्पेनको समर्थक बोल्यो ।

‘एकको पनि के हिसाब गर्नु ? दुईपटक जितेर, तीनपटक उपविजेता भन्ने हामी हौं’ अर्जेन्टिनाका समर्थक बोल्यो ।

‘हामी त विश्वकपकै पहिलो विजेता देश’ झिनो स्वरमा उरुग्वेका समर्थक बोल्यो ।

‘हामीले पनि आयोजक देशका रुपमा एकपटक जितेका हौं’ फ्रान्सका समर्थकले पनि मुख खोल्यो ।

‘त्यस्ता कुरा छोड केटा हो यसपाली जित्ने हामीले हो’ फेरि अर्जेन्टिनाको समर्थक बोल्यो ।

‘डीडीसीका खोल धेरै नकराउ है, हान्दिउँला नि अहिले’ पहेंलो जर्सीवाला ब्राजिलका समर्थक करायो ।

‘जन्डिसे, जोगीहरु चुप लाग’ अर्जेन्टिनाका समर्थकले कुटौंला झैं गर्यो ।

‘ओ चुप लाग यसपाली पनि जर्मनी हो’ मुल्लर लेखिएको जर्सी लगाएको केटो करायो ।

‘हैन, पोर्चुगल ।’

‘स्पेन ।’

‘हैन हैन ईंग्ल्याण्ड ।’

‘फ्रान्स ।’

.......................

बसभित्रै मारामार हुन लागेपछि गुरुजीले गाडी रोके ।

‘ल भाइहरु यो बस रसिया पुग्दैन । रत्नपार्कसम्म हो । झरौं है त’ गुरुजी बोले ।

कस्तो सुड्डो गुरुजी रैछ भन्दै केटाहरु हाहाहुहु गर्दै बसबाट झरेर लाखापाखा लाए । बेसार बोकेका बेसारबाजे केहीदिन ज्यानै पहेंलो बनाएर बेसार बेच्नु ज्यानका लागि ठीक छैन भन्दै घरतिर फर्किए ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • मंगलकृष्ण मानन्धर

    June 9, 2018, 11:10 a.m.

    तिमिलसीनाज्यू, तपार्इको ब्यंग पढें, राम्रो लाग्यो । केही महिना अधि IPL खेलेर फर्केका संदिपहुन क्यारे नाम त्यति याद भएन् । प्रधानमन्त्रीज्यू तिपणी गर्दै हुनुहुन्थो । २, ४ गोला फ्याक्दैमा धेरै चर्चा पाए, भन्दै थिए । प्रशंग बश मात्र । बालुवाटारमा कुनै एक जना पत्रकार मित्रले प्रधानमन्त्री समक्ष प्रश्न तेर्साए । प्रधानमन्त्रीज्यू फुटबल खेलमा कतिरूचि छ? प्रधानमन्त्रीज्यू, भन्दै थिए, खेल्नेबेलां जेल परें । खै के भनु ? रूचि सबै हराए । म अर्कै खेल, खेल्छु, क्या । पत्रकार मित्र, फुटबलको बिश्व कप रसियामा हुन गै रहेको छ । कुन देशले जित्ला प्रधानमन्त्रीज्यूश्? अनुमान मात्रै । प्रधानमन्त्रीज्यूले भन्नु भयो । म अरूबेला थत्ता गर्छु ? तर यो थत्ता होर्इन । कहाँको कुन देश । नेपाल ले जित्छ । पक्का । ल । छापाका हाै कि इलेकट्रोनिक ? छापाका हाै भने छापिइ हाल । इ को हाै भने भरे कास गर । लः बिदा अाज ? गुद दे गुद दे ? बार्इ भन्दै । गए . . . . . . . . . . . रे । तिमिल्सीनाज्यू . . . ?

  •  0 Reply

तपाईको प्रतिक्रिया