पीपीएल : काठमाडाैंलाई ६ विकेटले हराउँदै चितवन फाइनलमा

 कात्तिक १८, २०७५ आइतबार १४:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा प्रिमियर लिगको उपाधिका लागि घरेलु टिम पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ । अाइतबार भएको इलिमिनेटर खेलमा चितवनले काठमाडौं रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनायो ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा मात्र ९४ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोडे । खराब सुरुवात गरेको काठमाडौंले १५ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर अमित श्रेष्ठ मात्र नौ रनमा आउट भए ।

चितवनका बलर सन्नी पटेलले एकै ओभरमा तीन विकेट लिएपछि काठमाडौंले १७ रनमा तीन विकेट खेर फाल्यो । पवन सराफले खाता खोल्न सकेनन् भने गौरभ तमोर एक रनमा पेभेलियन फर्किए , त्यसपछि नरेश बुढाऐर पनि मात्र एक रनमा आउट भएपछि काठमाडौंले ३० रनमा चार विकेट गुमायो ।

त्यसपछि काठमाडौंका लागि विदेशी खेलाडी जयकिशन कोल्सावाला व्यक्तिगत २५ रनमा आउट भएपछि ६८ रनमा पाँच विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आदिल खानले पनि दोहोरो अंक जोड सकेनन् र मात्र आठ रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको काठमाडौ स्कोरबोर्डमा अरु १५ रन जोड्दा थप तीन विकेट गुमायो । बलिङतर्फ चितवनका सन्नी पटेलले तीन तथा स्मिथ पटेल र भुवन कार्कीले दुई–दुई विकेट लिए ।

जवाफमा चितवनले १८ ओभर दुई बलमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गर्‍याे । तर उसको सुरुवात भने राम्रो हुन सकेन । दुई रनमा पहिलो विकेट गुमाएको चितवनले ३१ रनमा तीन विकेट खेर फाल्यो ।

ओपनर अनिल शाह एक रनमा आउट भए भने कप्तान पारस खड्का दुई रनमा पेभेलियन फर्किए । त्यसपछि हरिशंकर शाह पनि २६ रनमा आउट भएपछि चितवनले सुरुवातमा नै तीन विकेट लिए । तर चौथो विकेटका लागि स्मिथ पटेल र आरिफ शेखले ५७ रनको साझेदारी गरे । जसमा स्मिथले ३८ रनको योगदान गरे भने आरिफ शेखले २० रन बनाए ।

प्रतियोगितामा लगातार दुई खेल हारेर पनि चितवन फाइनलमा पुग्न सफल भयो । यता काठमाडौं भने सुरुवात राम्रो गरेपनि मुख्य मुख्य खेलमा पनि चुक्न पुग्यो । फाइनल खेल मंगलबार हुनेछ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया