पहिलो पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनको पोल्टामा

 कात्तिक २०, २०७५ मंगलबार १४:४१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ । फाइनलमा चितवनलाई तीन विकेटले हराउँदै पोखराले उपाधि उचाल्यो ।

दर्शकले खचाखच भएको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रन बनायो । चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले अनिल साहसँग उत्कृष्ट साझेदारी गर्दै टिमको पारी सम्हाले । यो प्रतियोगितामा खासै राम्रो लयमा नदेखिएको पारसले फाइनलमा भने कप्तानी पारी खेले ।

उनले पोखराविरुद्ध ५० रन बनाउँदै प्रतियोगितामा पहिलो अर्धशतक बनाए । उनको यो अर्धशतकसँगै प्रतियोगितामा अर्धशतक संख्या २१ पुगेको छ । उनले ३६ बलमा नौ चौका प्रहार गरे । उनले दोस्रो विकेटका लागि अनिलसँग ७६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर पारस ५१ रनमा आउट हुँदा चितवनले ८५ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि पनि सन्नी पटेल र अनिल साहले ५० रनको साझेदारी गरेपछि चितवन सम्मानजनक स्थितिमा पुग्यो ।

तर, उसको स्कोर एक सय ३५ रन हुँदा तेस्रो विकेट झर्यो । अनिलले ३८ बलमा ३७ रन बनाए । जसमा तीन चौका र एक छक्का प्रहार गरे । आज पनि भारतीय खेलाडी सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे । इलिमिनेटर राउण्डमा पनि अर्धशतक बनाउँदै टिमलाई फाइनलमा पुर्याएका उनले आज पनि ४३ रन बनाए । जसमा उनले बलमा तीन चौका र चार छक्का प्रहार गरे । जसका कारण चितवनले एक सय ५७ रनमा चौथो विकेट गुमायो । यस्तै आरिफ शेखले १४ रन बनाए । बलिङतर्फ कृष्ण कार्कीले दुई विकेट लिए ।

जवाफमा पोखराले १९ ओभर दुई बलमा सात विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । खराब सुरुवात गरेको पोखराले चार रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर कुशल भुर्तेल चार रनमा आउट भए । तर त्यसपछि आशिफ शेख र रवि इन्दर सिंहले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले ।

तर आशिफ १२ रनमा आउट भएपछि पोखराले ६५ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि मोहम्मद नावीद २५ रनमा आउट भएपछि पोखराले ९८ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटका लागि पनि कप्तान शरद भेषावकर र रवि इन्दरले अर्धशतकीय साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याए । शरद भेषावकर २२ रनमा आउट भएपछि पोखराले एक सय ४८ रनमा चौथो विकेट गुमायो ।

लगत्तै रोहित पौडेल पनि खाता खोल्न नपाउँदै आउट पाँचौ विकेट गुमायो । तर अन्तिमसम्म क्रिजमा टिकेका रवि इन्दर ९० रनमा आउट भएपछि पोखराको एक सय ५७ रनमा छैटाैँ विकेट गुम्यो । उनले ५८ बलमा १३ चौका र तीन छक्का प्रहार गरे । अन्तिममा १० रन जोड्दा पोखराले चार विकेट गुमाउन पुग्यो । अन्तिम ओभरमा जितका लागि चार रन आवश्यक रहेकोमा पोखराका विनोद भण्डारीले चौका प्रहार गर्दै पोखरा पल्टनलाई उपाधि दिलाए ।

जितसँगै पोखराले २७ लाख रूपैयाँ पुरस्कार पाएको छ भने चितवनले १० लाख पाएको छ ।
 

 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया