पहिलो पोखरा प्रिमियर लिगको नालीबेली : फुटबलमा रमाउने पोखरेली दर्शक चौका–छक्कामा रमाउन थाले

 कात्तिक २०, २०७५ मंगलबार १६:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – सुन्दर नगरी पोखरामा पहिलो पटक राष्ट्रिय स्तरको ठूलो प्रतियोगिता पोखरा प्रिमियर लिग सफलतापूर्वक सम्पन्न भयो । 

सफलता यसअर्थमा कि यो प्रतियोगिताले क्रिकेट क्रेज अपेक्षित रुपमा कम रहेको पोखरामा एकाएक माहोल सिर्जना गरिदियो । जीर्ण मैदान हराभरा भएको छ र भविष्यमा माछापुछ्रेको काखमा रहेको मैदानमा अन्य धेरै प्रतियोगिताका लागि ‘ब्रेक थ्रु’ हुने निश्चित छ ।

पोखरामा फुटबल निकै लोकप्रिय छ । लामो समयदेखि राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा रमाइरहेका पोखरेली दर्शक अहिले क्रिकेटको चौका र छक्कामा रमाउन थालेका छन् । पोखरा प्रिमियर लिगले नै यो सम्भव भएको हो । 

मुलुकका ६ शहरको नामबाट बनाइएको फ्रेञ्चाइजी टोलीबाट राष्ट्रिय क्रिकेटरको खेल स्थानीय मैदानमा पहिलो पटक हेर्न पाउनुमा पनि पोखरेली दर्शक उत्साहित नै थिए । सबैभन्दा उत्कृष्ट मानिने अहिलेको मौसममा पोखरा प्रिमियर लिगले पहिलो संस्करणमै पोखरेली मात्र होइन सम्पूर्ण नेपाली क्रिकेट समर्थकको मन जितेको छ ।

पोखरालाई उपाधि 

पोखरा प्रिमियर लिगको पहिलो संस्करणमा घरेलु टोली पोखरा पल्टनले ने उपाधि जितेको छ । फाइनलमा चितवन राहिनोजलाई ३ विकेटले हराएर पोखराले उपाधि जितेको हो । 

घरेलु क्रिकेटको राष्ट्रिय प्रतियोगितामा कप्तानका रुपमा शरद भेषावकर र पारस खड्काको यो तेस्रो फाइनल खेल हो । यसअघि ईपीएल र डीपीएलमा पारसको टोलीले जित हासिल गरेको थियो भने यसपटक शरदले बदला लिएका छन् । त्यो पनि घरेलु समर्थकमाझ । 

फाइनलमा चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले १९ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि रवि इन्दर सिंहले सर्वाधिक ९० रनको पारी खेले । उनैको शानदार प्रदर्शनले पोखराले उपाधि जित्यो । 

लिग चरणमा तीन जित र दुई हारसँगै समूहको शीर्ष स्थानमा रहेर पोखराले सिधै फाइनलमा स्थान बनाएको थियो । त्यही लयलाई कायमै राखेर पोखराले उपाधि उचाल्यो । 

घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको पहिलो संस्करण विजेता पोखरा पल्टनले २७ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता चितवनले १० लाख पुरस्कार पाएको छ ।

सन्नी पटेल उत्कृष्ट खेलाडी, गौरव तोमर र करण केसी उत्कृष्ट ब्याट्सम्यान र बलर

चितवन राहिनोजका विदेशी खेलाडी सन्नी पटेल प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । सुरुवाति दुई खेल हारेर त्यसपछिका लगातार चार खेल जिताउन महत्वपूर्ण भूमिका खेलेका सन्नीले प्रतियोगिताको सात खेलमा ब्याटिङतर्फ १९४ रन र बलिङतर्फ १० विकेट लिएका थिए । काठमाडौं रोयल्सविरुद्धको इलिमिनेटर खेलमा उनले ब्याटिङमा ९ रन तथा बलिङमा ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएका थिए । 

काठमाडौं रोयल्सका भारतीय खेलाडी गौरव तोमर प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बने । उनले ६ इनिङमा २१२ रन जोडे । उत्कृष्ट ब्याट्सम्यानको अवार्ड लिग चरणका खेललाई मात्र आधार मानेर दिइएको हो । उनी प्रतियोगिताको एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । उनले धनगढी ब्लूजविरुद्धको खेलमा ९५ रन बनाएका थिए । 

यो उनको प्रतियोगितामा दोस्रो अर्धशतक हो । यसअघि लिग चरणमा उनले चितवनविरुद्ध नै ६५ रनको पारी खेलेका थिए । त्यसबाहेक विराटनगर टाइटन्सविरुद्ध ४४, बुटवलविरुद्ध ११, धनगढीविरुद्ध २८ र काठमाडौंविरुद्ध २२ रन बनाएका थिए ।

चितवन राहिनोजका लागि खेलेका राष्ट्रिय टोलीका बलर करण केसी यस प्रतियोगितामा उत्कृष्ट बलर बने । उनले ७ इनिङमा १२ विकेट लिएका थिए । उनले हरेक खेलमा कम्तिमा एउटा विकेट लिएका छन् । दुई खेलमा ३–३ विकेट लिएका करणले बाँकी पाँच खेलमा एक–एक विकेट लिए ।

उत्कृष्ट तीनै जनाले सुजुकी मोटरसाइकल पुरस्कार पाए । 

इमर्जिङ प्लेयरः रशिद खान, मोस्ट भ्यालुएबल प्लेयरः ललित राजवंशी

पोखरा पल्टनका दुई युवा खेलाडीहरु रशिद खान र ललितनारायण राजवंशीले प्रतियोगितामा विशेष पुरस्कार पाए । नेपाली यू–१९ टोलीका सदस्य राशिद खान इमर्जिङ खेलाडीको रुपमा ५१ हजार रुपैयाँ पुरस्कार पाएका छन् । 

प्रतियोगिताको ६ इनिङमा उनले ७ विकेट लिए । लिग चरणमा धनगढी ब्लूजविरुद्ध ४ विकेट लिएका उनले ब्याटिङमा पनि अविजित १५ रन बनाएका थिए । 

त्यस्तै नेपाली राष्ट्रिय टोलीका बलर ललित राजवंशी मोष्ट म्याल्युएबल खेलाडी घोषित हुँदै १ लाख ?पैयाँ पुरस्कार पाए । नेपालका उदाउँदा लेग स्पिनर राजवंशीले यस प्रतियोगितामा पोखराका लागि ६ इनिङमा १० विकेट लिए । २४ ओभर बलिङ गरेका उनले ५.७९ इकोनोमीको साथमा मात्र १३९ रन खर्चिएका थिए । 

विदेशी खेलाडीको प्रभाव

पोखरा प्रिमियर लिग नेपालमा आयोजना भएको राष्ट्रियस्तरको तेस्रो ठूलो प्रतियोगिता हो । यसअघि एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको दुई–दुई संस्करण सम्पन्न भइसकेका छन् ।
ती प्रतियोगितामा जस्तै पीपीएलमा पनि विदेशी खेलाडीको प्रभाव देखियो ।

पीपीएलमा इंग्ल्याण्ड, युएई र भारतका खेलाडीहरु समावेश गरिएका थिए । बुटवल ब्लास्टर्सबाट खेलेका यूएईका कप्तान रोहन मुस्तफाबाहेक अन्य विदेशी खेलाडीको प्रदर्शन शानदार रह्यो । 

उनीहरुले टिमलाई आवश्यक परेका बेला कठिन परिस्थितिमा पनि राम्रो प्रदर्शन गर्ने सामर्थ्य राखे । पोखरा पल्टनले भारतका रवि इन्दर सिंह र यूएईका मोहम्मद नाभिदलाई अनुबन्ध गरेको थियो भने चितवन राहिनोजले भारतीय खेलाडीहरु सन्नी पटेल र स्मित पटेललाई ल्याएको थियो ।

फाइनलमा यी चारै खेलाडीले आ–आफ्नो टिमका लागि अहम् प्रदर्शन गरे । वास्तवमा भन्दा उनीहरुकै प्रदर्शनमा टिम निर्भर देखिएको थियो ।

तथ्यांकले पनि के पुष्टि गर्छ भने पीपीएललाई रोमाञ्चक बनाउन विदेशी खेलाडीकै प्रदर्शन निर्णायक छ । प्रतियोगितामा सर्वाधिक व्यक्तिगत रन बनाउने शीर्ष ६ ब्याट्सम्यानमा ५ जना विदेशी छन् । रवि इन्दर सिंह (चितवन राहिनोज) २६०, गौरव तोमर (काठमाडौं रोयल्स) २१२, मुहम्मद जियाद आलम (विराटनगर टाइटन्स) २०९, सन्नी पटेल (चितवन राहिनोज) १९४, दिपेन्द्र सिंह ऐरी (धनगढी ब्लूज) १८९ र पिटर ट्रेगो (धनगढी ब्लूज) १६६ रन बनाएका छन् ।

प्रतियोगितामा शतक बन्न सकेन । तर, एकै इनिङमा ९० रनभन्दा बढी रन जोड्ने दुई ब्याट्सम्यानमा दुवै विदेशी रहे । गौरव तोमर (काठमाडौं)ले लिग चरणमा धनगढीविरुद्धको खेलमा ९५ रनको पारी खेलेका थिए भने फाइनलमा रवि इन्दर सिंहले ९० रन बनाए ।

बलिङमा भने नेपाली खेलाडी नै हावी

पोखरा रंगशालाको मैदानमा प्रतियोगिताकै लागि चारवटा पिच बनाइएको थियो । नेपाली खेलाडीकै लागि पनि नयाँ पिचमा प्रतियोगिताअघि सबै टोलीका कप्तानले चिन्ता जाहेर गरेका थिए । सुरुवाति खेलमा सबै टोलीका लागि पहिलो प्रयोग थियो । 

प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीमा चितवन राहिनोजका करण केसी रहे । उनले ७ खेलमा १२ विकेट लिए । उनले हरेक खेलमा विकेट लिए । लिग चरणमा पोखरा पल्टन र काठमाडौं रोयल्सविरुद्ध उनले ३–३ विकेट लिएका थिए । करणले ७ इनिङमा २६.३ ओभर बलिङ गरी १२ विकेट लिए ।

१० विकेट लिएका चितवनका सन्नी पटेल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । उनीसँगै विराटनगरका कप्तान सन्दीप लामिछाने तथा पोखरा पल्टनका ललित राजवंशीले पनि १०–१० विकेट लिएका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया