आफू मरेर गए पनि टेकबहादुरले यसरी जोगाए दुई जनाको ज्यान

 कात्तिक २०, २०७५ मंगलबार १८:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गौला दुई बिरामीलाई सफल प्रत्यारोपण गरिएको छ । 

केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका सर्लाहीका ७२ वर्षीय टेकबहादुर योञ्जनको दानबाट प्राप्त दुईवटा मिर्गौला वीर अस्पताल र केन्द्रमा उपचारत दुई जना बिरामीमा सफल प्रत्यारोपण गरिएको बताउनुभयो । 

केन्द्रले पोखरा घर भई वीर अस्पतालमा मिर्गौलाको उपचार गराइरहनु भएका  ५६ वर्षका एक पुरुषलाई र स्याङ्जा घर भई पोखरा मनिपाल टिचिङ्ग अस्पताल हुँदै भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहनु भएका ३० वर्षीय अर्का पुरुषलाई सफल प्रत्यारोपण गरिएको हो । 

पत्रकार सम्मेलनमा मिर्गौला प्रत्यारोपण गरिएका दुवै बिरामीले डेढ वर्षदेखि मस्तिष्क मृत्यु भएका व्यक्तिको दानबाट पाइने मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्न पर्खाईमा बसेको बताउँदै यस वर्ष भने आफूहरुले नयाँ जीवन पाएको बताउनुभयो । 

पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डा. श्रेष्ठले मस्तिष्क मृत्यू भएकाहरुले गरेको मिर्गौला दानबाट प्रत्यारोपण गर्न ५०० जना मिर्गौलाका बिरामी फाराम भरेर प्रतिक्षामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा हरेक वर्ष एक हजार जनाको मृत्यु मस्तिष्क मृत्युका कारण हुने गरेको छ, ती बिरामीबाट नेपालको कानुनअनुसार आठ वटा अंग दान लिन मिल्छ, त्यस्ता बिरामीले गर्ने अंगदानबाट ८ हजार बिरामीको ज्यान बचाउन सकिन्छ ।’

उहाँका अनुसार मस्तिष्क मृत्यु भएका एकजना बिरामीबाट दुई मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानोआन्द्रा, आमाशयलगायतका अंग दान लिन मिल्छ । यसले एक वर्षमा हजारौँको ज्यान बचाउन सकिन्छ । 

यसअघि २०७४ वैशाख २८ गते दुर्घटनामा परि मस्तिष्क मृत्यु भएका सिन्धुलीका २४ वर्षीय गोविन्द भुजेलको मिर्गौला दानबाट नेपालमै पहिलो पटक मस्तिष्क मृत्यु भएकाको अंगदानबाट दुई बिरामीलाई सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो भने अहिले दोश्रो पटक सफल रुपमा मिर्गौला प्रत्यारोपण गरिएको छ । 

गएको १२ गते राति ललितपुरको गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरमा टेकबहादुर योञ्जनको मस्तिष्कघातका कारण मष्तिस्क मृत्यु भएको न्यूरोलोजिष्ट डा. प्रविण श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट चिकित्सक डा. आरती राई र डा. निरज हिराचनले जानकारी गराउनु भएको थियो । 

अस्पतालका चिकित्सक डा. हिराचनले बिरामीका परिवारलाई मस्तिष्क मृत्यु भएको व्यक्ति आपूm मरेर गए तापनि अरु व्यक्तिलाई बचाउन सक्ने कुरा बुझाएपछि परिवारले अङ्ग दान गर्न मञ्जुरी दिएपछि त्यही रात प्रतिक्षामा रहेका दुई विरामीलाई मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरका प्रमुख कार्यकारी निर्देशक मिलन गुरुङ्ग, पोष्टमार्टम विज्ञ डा. हरिहर अवस्थी, केन्द्रका शाखा अधिकृत हरिहर पोख्रेल, ट्रान्सपलान्ट कोर्डिनेटर सनिषा कार्की र अधिवक्ता सुशील श्रेष्ठद्वारा कानुनी प्रक्रिया पूरा गरी अंग झिकिएको थियो । 

केन्द्रका चिकित्सक डा. कल्पना श्रेष्ठ, प्रा.डा. राकेश कुमार बर्मा, डा. मोहन देवभण्डारी, डा. विजय कटुवाल, डा. दिपेश श्रेष्ठ, डा. निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा. किरण जङ्ग कुँवर, डा. शोभित थापा, नर्सिङ्ग निर्देशक दुर्गा श्रेष्ठ, डा.मेघा जोशी, डा.अमृत के.सी, डा. लक्ष्मीप्रसाद त्वयाना, ओटी इन्चार्ज सिजन गुरुङलगायतका प्राविधिकसहितको टोलीले सोही रात मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिइएको छ । 

पत्रकार सम्मेलनमा अंग दाता योञ्जनका कान्छा छोरा निर्मल भन्ने मकर योञ्जनले आफ्नो बुवाको दुई मिर्गौला दान गरेर अरु दुई जनाको ज्यान बचाउन पाउँदा परिवार खुसी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विदेशमा सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले अंग दान गर्छन्, तर हाम्रो देशमा अझै पनि अंग दान गर्न हिच्किचाउने प्रचलन छ, अंग दान गर्नुपर्छ भन्ने सन्देश दिनका लागि हाम्रो परिवारले सहजै अंग दान गर्न स्वीकारेका हाैँ, अरुलाई पनि अंगदान गर्न म आग्रह गर्छु ।’ कार्यक्रममा अंगदाता योञ्जनका परिवारलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । 

यसवर्ष केन्द्रलाई २० जनाको मस्तिष्क मृत्यु भएको जानकारी आए पनि १८ जना परिवारले अंग दान गर्न नमानेको जानकारी गराइएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया