नेपाली मूलका नागरिक ह्यारी भण्डारी अमेरिकाको मेरिल्याण्डबाट प्रतिनिधिसभाको चुनावमा विजयी

 कात्तिक २१, २०७५ बुधबार ११:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधिसभा सदस्यमा नेपाली मूलका उम्मेदवार ह्यारी भण्डारी विजयी भएका छन् ।

भण्डारी नेपाली मूलबाट अमेरिकामा राष्ट्रिय राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा विजय हुने पहिलो उम्मेदवार हुन् । गएको जुन २६, २०१८ मा भएको प्रथम चरणको चुनावमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थानमा विजयी भएका थिए । बुधबार सम्पन्न भएको मध्यावधि चुनावमा उनी दोश्रो स्थानमा विजयी भएका छन् ।

गएको जुन महिनामा सम्पन्न प्रथम चरणको चुनावमा चारजना प्रतिस्पर्धी एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रा र कार्लज्याक्स तेश्रो स्थानमा विजयी भएका छन् । गएको प्राथमिक चरणको चुनावमा २० हजार ७ सय २६ खसेको मत मध्ये भण्डारीले २८।१ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए ।

त्यस चुनाव क्षेत्रको जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिकक उम्मेदवारको तुलनामा प्राथमिक चुनावमा कम मत पाएको आँकडाले देखाएको थियो । सम्भवत यसरी देश बाहिर गएर मुलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका नागरिक हुन् ।

यस्तै गरी न्यूह्याम्पशायरबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्र्याटिक दलकी उम्मेदवार मदलसा गुरुङ पनि उपविजेता बनेकी छिन् । उनी पनि नेपाली मूलकी नागरिक हुन् । उनले २ हजार २ सय ९२ मत प्राप्त गरेकी थिइन् ।

भण्डारी सन् २०१४ मा पनि चुनाव लडेका थिए । त्यतिबेला उनी चौथो स्थानमा परेपछि प्राथमिक चरणमै बाहिरिएका थिए । उनी जुन स्थानमा सन् २०१४ मा उप–विजेता बनेका थिए, सोही क्षेत्रबाट यस पटक पनि उम्मेदवार भएका थिए । उनी सन् २०१४ मा डेमोक्र्याटिक दलको तर्फबाट आधिकारिक उम्मेद्वार थिएनन तर यस पटक डेमोक्र्याटिक दलको तर्फबाट उनी आधिकारिक उम्मेदवार रहेका थिए ।

भण्डारी अमेरिकी राज्य संसद भवन छिर्न सफल भएका छन् । निर्वाचन क्षेत्र संख्या ८ मा ह्यारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटिक पार्टीका तर्फबाट भिडेका थिए । ह्यारी लगायतले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग चुनाव लडेका थिए ।

मेरिल्याण्ड राज्य अन्तर्गत रिपब्लिकन दलका गभर्नरका लागि सशक्त उम्मेदवार ल्यारी होगनलाई मत हाल्नेले रिपब्लिकन दललाई मत खसालेता पनि डेमोक्र्याटिक दलका उम्मेद्वार ह्यारीको जित भएको छ ।

भण्डारीले झण्डै १५ हजार घर दैलो अभियानमा सरिक भएका थिए । भण्डारीको पुख्र्यौली घर पर्वत जिल्ला हो । उनी सन् २००५ मा अमेरिका गएका हुन् । भण्डारी नेपालमा अंग्रेजी भाषाका प्रध्यापक थिए भने अमेरिका गएपछि पनि भण्डारी शिक्षण पेशामै संलग्न रहेका थिए ।

मध्यावधी चुनावमा हाउस अफ रिप्रिजेन्टेटीभ (प्रतिनिधिसभा सदस्य)  को सबै ४ सय ३५ स्थान, सिनेटको १ सय स्थान मध्ये ३५ स्थान तथा अन्य ५० मध्ये ३९ राज्यका गर्भनरहरुको चुनाव भएको हो । यसको साथै राज्यदेखि स्थानीय स्तरका विभिन्न पदको लागि चुनाव भएको थियो ।

भण्डारीलाई २०१८ को चुनावमा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले ठूलो आर्थिक सहयोग गरेका थिए । आफ्नो चुनावी क्षेत्रमा अत्यन्तै व्यस्त रहेता पनि भण्डारी अमेरिकाका नेपाली समुदायले विभिन्न राज्य तथा शहरहरुमा आयोजना गरेको भेलामा सहभागी हुने गरेका थिए ।

अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ मा चुनाव हुने गर्दछ । दुई वर्ष पहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपतिको चुनाव भएको थियो । अहिले केन्द्रीय प्रतिनिधिसभाको ४ सय ३५ सिट, केन्द्रीय सीनेटको एक सय मध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र राज्य डेलिगेटस (विधायकसभा) का साथै स्थानीय तहको चुनाव भएको हो । त्यसै मध्ये ह्यारीले बाल्टिमोर काउन्टीको डिष्ट्रिक ८ बाट राज्य डेलिगेटस (विधायकसभा) मा जित हासिल गरेका हुन् ।

मेरिल्याण्ड राज्य डेलिगेटससभामा ४७ जिल्लाबाट एक सय ४१ जना सदस्य रहन्छन् । भण्डारी उम्मेदवार रहेको जिल्ला नम्बर आठबाट तीन जना निर्वाचित हुन्छन् । जनसंख्याको आधारमा जिल्लाबाट निर्वाचित हुने सिट संख्या फरक हुन्छ । जिल्ला ८ मा तीन सिटमा ६ जना उम्मेदवार थिए । ३ जना डेमोक्र्याट र ३ जना रिपब्लिकन । त्यसमा ह्यारी विजयी हुन सफल भएका हुन् ।

ह्यारीको नेपाली नाम हिराबहादुर भण्डारी हो । उनी ४१ वर्ष अगाडि नेपालको पर्वत जिल्लामा जन्मिएका थिए । अमेरिका आएसँगै एचबी भण्डारी हुँदै अहिले ह्रयारी भण्डारी नामले चर्चित छन् ।

केही महिना अगाडिको प्रारम्भिक चरणको चुनावमा ह्यारी डेमोक्र्याटबाट यो प्रतिस्पर्धाका लागि चुनिएका थिए । उनको पार्टीबाट तीनजना चाहिनेमा चारजना इच्छुक भएकोले पार्टीभित्र नै चुनाव भएको थियो ।

अमेरिकी चुनावमा विपक्षी पार्टीको उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु अगाडि आफ्नै पार्टीभित्र हुने चुनाव जित्नुपर्ने प्रावधान छ, जसलाई प्रारम्भिक चरणको चुनाव भनिन्छ ।

प्रथम चरणमा भण्डारी चार उम्मेदवार मध्ये दोस्रो भएका थिए । ठिक चार वर्ष अगाडि पनि भण्डारी यो यात्रामा होमिएका थिए । तर, प्रारम्भिक चरणमै आफ्नै साथीहरुबाट पराजित भएका थिए ।

यस्तै उनी डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रीय सदस्यमा पनि हुन् । लामो चुनावी रसाकस्सीले थाकेका भण्डारी र भण्डारीको चुनावी टिम नतिजापछि अहिले विजयोत्सवमा रमाइरहेको छ ।

यो विजयले ‘नेप्लिज डायस्पोरा’मा नयाँ आयाम थपिएको ह्यारी भण्डारीको चुनावलाई नजिकबाट हेरेका पत्रकार नारायण श्रेष्ठले बताए ।

नेप्लिज डायस्पोरा र इनेप्लिज डट कमको सहयोगमा

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया