हलेसी, स्वर्गीय आनन्द लिने पर्यटकीय गन्तव्य

 कात्तिक २२, २०७५ बिहिबार ८:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – बिहानको चिसो हावा । टाढा टाढासम्म देखिने पहाडी बस्ती । अनि शंख घण्टको आवाजसँगै सुमधुर ओमकार ध्वनी श्रवणले कसलाई मन्त्रमुग्ध नबनाउला र ?

मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (सिला)को दर्शन गर्न पाउँदा त्यहाँ पुग्न जो कोही पनि स्वर्गमा पुगेको अनुभूति गर्छन् । धार्मिक आस्थाको रुपमा रहेको खोटाङको हलेसी धामको प्राकृतिक भू–बनोटको संरचना  विश्वमै अनौठो मानिन्छ । झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् ।

घना जंगल । जंगलकै मध्यमा रहेको गुफा । ठिक यही पुगेपछि देख्न सकिन्छ, अनौठो दृश्य । गुफाको एकातिर हिन्दु धर्मप्रति आस्था राख्नेहरु पूजा पाठ गरिरहेका देखिन्छन् भने अर्काे छेउतिर बौद्ध धर्मप्रति आस्था राख्नेहरु पूजा पाठ गरिरहेका देख्न सकिन्छ ।

रमाइलो त के भने, हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमिको रुपमा पूजा–आजा गर्छन् ।

हलेसी धाम धार्मिक पर्यटनको लागि कहलिएको गन्तव्य हो । यसलाई पूर्वको पशुपतिनाथ भनेर पनि चिनिन्छ । हलेसी महादेवको दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने र पदन्नोती हुन्छ भन्ने जनविश्वास छ ।

प्रायः दिक्तेल जानेहरु हलेसी महादेवको दर्शन नगरी अगाडि बढ्दैनन् । धार्मिक आस्थाको रुपमा लिइने हलेसी महादेवको दर्शनपछि मात्रै यात्रुहरु पनि अगाडिको यात्रा तय गर्छन ।

पर्यटकीय गन्तव्य

हलेसी महादेव धामलाई सरकारले देशभरिको एक सय घुम्ने ठाउँ मध्ये एक विशेष ठाउँको रुपमा राखेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यको नाममा हलेसी धाम पनि परेको हो ।  नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका एक सय वटा स्थान पहिचान गरिएको मन्त्रालयले जनाएको छ । सकारले यसै आर्थिक वर्षमा सय वटा पर्यटकीय गन्तव्य घोषणा गरेर पूर्वाधार विकास गर्ने उल्लेख गरेअनुसार गन्तव्य तोकिएको हो ।

यहाँ हिन्दु तथा बौद्ध धर्ममा आस्था राख्नेहरु दर्शनका लागि आउने गर्छन । विशेष गरी भुटान, जापान, कोरियाका पर्यटक बढी पुग्ने गरेको मन्दिरको सर्वपक्षीय समितिले जनाएको छ । यहाँ विशेष गरी महाशिवरात्री, रामनवमी र बालाचर्तुदशीमा दर्शनार्थीहरुको ठूलो भिड लाग्ने गर्छ ।

यस्ता पर्वहरुमा विदेशी पर्यटकहरु हेलिकप्टर चार्टर गरेरै हलेसीको दर्शन गर्न पुग्ने स्थानीय चिसाङ शेर्पाले बताउनुभयो । विशेष पर्वहरुमा हेलिकप्टर ल्याण्ड गर्ने ठाउँसम्म नहुने गरेको उहाँ बताउनुहुन्छ ।

कसरी पुग्ने हलेसीसम्म

काठमाडौंबाट हलेसी पुग्न दुई वटा बाटो छन् । एउटा, काठमाडौं–मिर्चैया–कटाहारी हुँदै घुर्मी–हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुगिन्छ । 
अर्को बाटो काडमाडौं–धुलिखेल–नेपालथोक–खुर्कोट–सिन्धुली–घुर्मी–हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुगिन्छ ।

काठमाडौंदेखि हलेसी २ सय ३० किलोमिटरको दूरीमा रहेको छ । काठमाडौँबाट जीपमा बिहान ७ बजे हिँडियो भने झण्डै दिनको २ बजे हलेसी पुगिन्छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया