छातीको भाग जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाकाे आज शल्यक्रिया हुँदै

 कात्तिक २३, २०७५ शुक्रबार ९:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

भुटानमा शरीरको छातीको भाग जोडिएको अवस्थामा जुम्ल्याहा बच्चा जन्मेका थिए । १५ महिनाका ती जुम्ल्याहा बच्चाको डाक्टरहरुले शुक्रबार शल्यक्रिया गर्दैछन् । उनीहरुको कलेजो एउटै भएको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।

भुटानमा जन्मिएका ती जुम्ल्याहाको अष्ट्रेलियाको मेनबर्न शहरको एक अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुले ती दुवै बच्चालाई छुट्याउने शल्यक्रिया शुक्रबार गरेका छन् ।

तिनीहरुको शरीर छुट्याउने शल्यक्रिया गर्न झण्डै ६ घण्टा लाग्ने डाक्टरहरुले बताएका छन् । डाक्टरहरुका अनुसार हजारौं बच्चाहरुमध्ये केही बच्चाहरुमा मात्रै त्यस्तो समस्या हुने गरेको छ ।

बच्चाहरुको शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले च्यारिटी शो गरेर खर्च जुटाइएको थियो । चिल्ड्रेन फस्ट फाउन्डेसनले च्यारिटी शो गरेर बच्चाहरुको उपचारका लागि खर्च जुटाएको छ । डाक्टरहरुले दुई बच्चलाई छुट्याउने शल्यक्रिया गर्न तीन लाख अमेरिकी डलर भन्दा बढी खर्च हुनसक्ने बताएका थिए ।

निमा र दावा नाम गरेका ती बच्चाको उपचार गराउन आमा भुङ्चु ज्याङ्मो गएको अक्टोबर २ मा अष्ट्रेलियाको मेलबर्न शहरमा पुगेकी थिइन् । डाक्टरहरुले नोभेम्बर ९ मा उनीहरुको शल्यक्रियाको मिति तोकेका थिए । भिक्टोरियामा उनीहरुको शल्यक्रिया गरिँदै छ । मेलबर्नको रोयल चिल्ड्रेन हस्पिटलका डाक्टरहरुले शुक्रबार शल्यक्रिया मिति तोकेअनुसार आज उनीहरुको शल्यक्रिया हुँदैछ ।

शल्यक्रिया १८ जना चिकित्सकको टोलीको सहभागिता हुने छ । अन्य सहयोगीको पनि सहभागिता हुने जनाइएको छ । दुवैजनाको छातीको भाग जोडिएको छ भने टाउको र खुट्टापट्टिको भाग भने ठिक अवस्थामा छ ।

भुटानको सरकारले उनीहरुको उपचार खर्च दिने जनाएको छ । पछिल्लो जानकारी अनुसार उनीहरुको उपचारमा ३ लाख ५० हजार अमेरिकी डलर खर्च हुने डाक्टरहरुले बताएका छन् ।

दुवै बच्चाहरु छोरीहरु हुन् । सन् २००९ मा बंगलादेशका टाउको जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा तृष्णा र कृष्णाको शल्यक्रिया सफल भएको थियो । उनीहरुको ‘ब्रेन टिस्यु’ र ‘ब्लड भेसल’ जोडिएको थियो । उनीहरु अहिले मेलबर्नमा नै बसेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया