अर्घाखाँचीमा नरभक्षी चितुवालाई यसरी पासोमा पारियो

 कात्तिक २४, २०७५ शनिबार १६:२६:५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नरभक्षी चितुवाको आक्रमणले आतंकित बनेका अर्घाखाँचीका स्थानीयहरु चितुवा पासोमा परेपछि खुसी भएका छन । 

चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोटलगायतका स्थानीयहरु अत्यन्तै हर्षित भएका छन् । पासोमा परेको चितुवा हेर्न सयौँ मानिसहरुको भिड लागेको थियो ।

गएको शनिबार साँझ  नरभक्षी चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा  ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो । स्थानीयहरुले चितुवा पासोमा पार्न पियाले खोलामा बाघ खोर (पासो) थापेका थिए । त्यही पासोमा चितुवा परेको हो । 

पासोमा परेको चितुवा उद्धारको क्रममा मरेको छ । उद्धारको क्रममा मरेको पोथी चितुवा अन्दाजी ३५ केजी, लम्बाइ एक सय २४ सेन्टी मिटर, उचाइ ६० सेन्टीमिटर र कम्मरको गोलाइ ५४ सेन्ट मिटर रहेको जिल्ला वन कार्यलयकी सहायक वन अधिकृत शीला पोख्रेलले बताउनुभयो । 

चितुवा नभेटिएपछि तीन ठाउँमा फलामे खोर बनाएर राखिएको थियो । त्यही खोरमा शनिबार दिउँसो  चितुवा परेपछि स्थानीय खुसी भएका छन् । खोरमा परेकोे चितुवा नरभक्षी चितुवा हो, होइन भन्ने परीक्षणका लागि जिल्ला डिभिजन वन कार्यालयमा ल्याइएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न  स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा  आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न सशस्त्र प्रहरी र नेपाल प्रहरी र वनका सुरक्षकर्मीसहित ४५  जना सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो ।  

नरभक्षी चितुवाले पछिल्लो पाँच वर्षमा अर्घाखाँचीमा दुई दर्जन बालबालिकालाई आक्रमण गरेको छ । जस्का कारण १८ जनाको ज्यान गएको छ । ६ जना घाइते उपचार पछि निको भएका छन ।   

चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दा त्रसित भएका छन् 

अन्तिम अपडेट: बैशाख ५, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया