नक्कली समाचार बनाएर राख्नेहरुलाई केही भन्नु छैन : मन्त्री पण्डित

 कात्तिक २४, २०७५ शनिबार १६:५५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकास निर्माणका मूल कामहरु अब पूर्ण गतिका साथ अघि बढाउने र जनताले चाहेजस्तो परिणाम पनि आउने विश्वास दिलाउनुभएकाे छ । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले भन्नुभयो, ‘बर्खा सकियो अब विकास निर्माणका कामहरु पूर्ण र द्रुत गतिका साथ अघि बढ्छन् । जनताले चाहेजस्तो परिणाम आउँछ । संघीय सरकारले अघि सारेको बजेट र प्रदेश सरकारहरुले अघि सारेका बजेटहरु पूर्ण गतिका साथ कार्यान्वयनमा जान्छन् । सरकारले परिणाम दिनेगरी धमाधम काम गरिरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनताका गुनासाहरु तत्काल सम्बोधन गर्नुपर्ने भनेर निर्देशन दिएकोले आफूहरु त्यहीअनुसार अघि बढिरहेको उहाँको भनाई छ, ‘काम गरेर नै हामी जनतामा भएका असन्तुष्टिहरु सन्तुष्टिमा परिणत गर्छौं ।’ उहाँले कर्मचारी व्यवस्थापनको काम पनि ऐनसँग जोडिएको बताए । उत्साहित भएर काम गर्नेलाई प्रोत्साहन गर्ने र उनीहरुको वृद्धि विकासको व्यवस्थापन गर्ने पनि उहाँले विश्वास दिलाउनुभयो ।

तर, उत्साहित भएर काम नगर्ने र झारा टार्नेगरी काम गर्नेहरुलाई सरकारले पनि त्यही अनुसारको व्यवहार गर्ने उहाँको चेतावनी थियो । उहाँले भन्नुभयो, ‘तोकिएको ठाउँमा नजाने र दृढ संकल्पित भएर काम नगर्नेलाई हामी सचेत गराउँछौं । सचेत गराउँदा पनि नमाने दण्डित गराउँछौँ । अनि त्यसो गर्दा पनि भएन भने बाईबाई गरेर बिदा गर्छौँ । कसैको अनुहार हेरेर अब देश चल्दैन् । यो देशमा प्रशासन परिणाममुखी बनाउनुपर्छ । त्यो काममा हामी सफलता प्राप्त गर्छौँ ।’

अहिले देखिएका सबै समस्याहरु समाधान गर्ने उहाँले विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘काम गर्दै जाँदा जहाँ गल्ती भएका छन्, ती गल्तीहरुको बारेमा तपाईँ मिडियाका साथीहरुले पनि यहाँ गल्ती भयो भनेर औंल्याइदिनुहोस् ।’ सरकारले पद र आवश्यकत्ताअनुसार कर्मचारी राख्ने तर पदविहीन बनाएर नराख्ने पनि उहाँले स्पष्ट पार्नुभयो । 

प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारीहरुलाई सुरु–सुरुमा हाजिरी गर्न समस्या भए पनि अहिले त्यस्तो कुनै समस्या नरहेको उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै उहाँले संघीय कानुन धमाधम बनिरहेकोले चाँडै आउने पनि जानकारी दिनुभयो, ‘संघीय कानुनहरु कतिपय यही महिनाभित्रै आउँछन् । कतिपय मंसिरको पहिलो हप्ताभित्र आउँछन् ।’ 

फरक प्रसंगमा उहाँले आफूले सरकारले दिएको सुविधाबाहेक थप सुविधा नलिएको स्पष्ट पारे । पण्डितले आफूले थप गाडी नलिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘नक्कली समाचार बनाएर राख्नेहरुलाई मलाई केही भन्नु छैन । तर, मैले सरकारले दिएको सुविधाबाहेक थप सुविधा लिएको छैन् । र, लिने पनि छैन ।’ 

उहाँले आफू पाएको जिम्मेवारीलाई तोकिएकै समयसीमाभित्र सम्पन्न गर्न दृढसंकल्पित रहेको पनि दावी गर्नुभयो, ‘मैले सुरुवातमै यही रिपोर्टर्स क्लब नेपालमा आएर असारभित्र प्रशासनिक संक्रमणको अन्त्य गर्छु भनेर बोलेको थिएँ, त्यसलाई अन्त्य गरेरै देखाएँ । अब पुषभित्र कर्मचारी समायोजन गर्छु भनेर बोल्दैछु । त्यो पनि पूरा गरेर देखाउँछु ।’
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया