दाङको हापुरेमा प्रशासन र स्थानीयवासीबीच तनाव, स्थानीयले गाउँपालिका घेरे

 कात्तिक २५, २०७५ आइतबार १४:३६:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – शनिबारको दुर्घटनाको विषयलाई लिएर दाङको पश्चिम क्षेत्र हापुरेका स्थानीयले नाराबाजी गर्दै आइतबार  दिउँसोदेखि  बबई गाउँपालिका घेराउ गरेका छन् ।

सयौंको संख्यामा रहेका स्थानीयले, ‘स्थानीय सरकार होसियार, हत्यारालाई कार्वाही गर, पीडितलाई उचित क्षतिपूर्ति दे’ भनेर नाराबाजी गर्दै हापुरेमा रहेको गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।

जिल्लाका निमित्त प्रहरी प्रमुख समेत त्यहाँ पुगेका छन् । बसको ठक्करबाट स्थानीय एकजना युवाको ज्यान गएपछि पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सवालमा मिलेमतो भएको भन्दै स्थानीयले नाराबाजी गर्दै गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।

यसअघि स्थानीयले आइतबर बिहानैदेखि तुलसीपुर–सुर्खेत सडकखण्ड अवरुद्ध गर्दै आएका छन् । शनिबार बेलुका ५ बजेतिर बसको ठक्करबाट बबई गाउँपालिका वडा नम्बर ५ का २३ वर्षका मानसिंह वलीको घटनास्थलमै ज्यान गएको थियो ।

राप्ती यातायात सेवा प्रालिकाे ना २ ख ९६३५ नम्बरको बसले ब्याक गर्ने क्रममा वलीलाई ठक्कर दिँदा वलीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा छन् ।

पीडित पक्षले वलीको शव उठाउन अझैं मानेका छैनन् । चालकले रक्सी खाएर बस चलाएको हुँदा ब्याक गर्ने क्रममा सावधानी नपनाउँदा दुर्घटना भएको स्थानीयको आरोप छ । दोषीलाई कडा कार्वाही नभएसम्म शव जिम्मा नलिने स्थानीयले बताएका छन् ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया