प्रलोभन देखाएर क्रिश्चियन धर्ममा प्रवेश गराउने एक विदेशीसहित पाँच जना पक्राउ

 कात्तिक २६, २०७५ सोमबार १८:२६:१९ | भावुक योगी

बर्दिया – क्रिश्चियन धर्ममा प्रवेश गराउने अभियानमा लागेको अभियोगमा बर्दिया प्रहरीले सोमबार दिउँसो एक जना विदेशी नागरिक र चारजना नेपालीसहित पाँच जनालाई पक्राउ गरेको छ । 

बर्दियाका विभिन्न गाउँमा स्थानीय नागरिकलाई आर्कषित पार्न क्रिश्चियन धर्मबारे प्रचारप्रसार गर्दै हिँडेका एकजना अष्ट्रेलियन नागरिक हित नेपाली नागरिक श्वेता मानन्धर, सृजनकुमार मानन्धर, दलबहादुर तिरुवा र तेजबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो

बर्दियाका विभिन्न ठाउँमा क्रिश्चियन धर्ममा प्रवेश गराउने उदेश्यले प्रचारप्रसार गरिरहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो । 

उनीहरुले विभिन्न प्रलोभन देखाएर धर्म परवर्तन गर्न आग्रह गर्दै हिँडेका तिए ।  क्रिश्चियन धर्म परिवर्तनको प्रचारप्रसार सामग्रीसमेत फेला परेपछि उनस्हरुलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ । 

पक्राउ परेका चार जनामाथि धर्म परिवर्तन गर्नमा प्रेरित गरेको कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको बर्दियाका प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो । 

अष्ट्रेलियन महिलालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो ।

धर्म परिवर्तन गराउने काम अपराध रहेको र यस्तो काममा संलग्नलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

संहिता ऐनको परिच्छेद ९ अन्तर्गत १५८ मा ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनु हुँदैन । दोषी प्रमाण भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यदि पीडक वा दोषी विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने ऐनमा प्रावधान छ ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया