वैदेशिक रोजगारबाट फर्केर बाख्रापालन, स्वदेशमै मनग्य आम्दानी

 कात्तिक २७, २०७५ मंगलबार ११:४५:५६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु आधुनिक तरिकाले व्यावसायिक बाख्रापालनमा लागेका छन् ।

साउदी अरबमा १२ वर्ष काम गरेर फर्केका सुनिल स्मृती गाउँपालिका–४ मिझिङका नेत्रबहादुर महरा अहिले व्यावसायिक बाख्रापालनमा लाग्नु भएको छ । देशमै केही गरौं भनेर दुई वर्षअघि आफूले २५ वटाबाट सुरु गरेकोमा अहिले ५४ वटा बाख्रा रहेको महराले बताउनुभयो । ‘विदेशमा पसिना बगाउनु भन्दा आफ्नै गाउँमा व्यवसाय गर्न आनन्द आएको छ ।’ महराले भन्नुभयो ‘विदेशमा कामदार बनेर काम गर्नुपर्थ्याे अहिले यता मालिक बनेको छु ।’

महरा मात्र होइन वैदेशिक रोजगारबाट फर्किएका गंगादेव गाउँपालिका–५ जिनाबाङका जीतबहादुर वली पनि अहिले झण्डै एकसय बाख्राको मालिक हुनुभएको छ । आधुनिक खोर बनाएर उन्नत जातका बाख्रापालन गरेकोले व्यवसायबाट मनग्य आम्दानी हुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।

पहाडी जिल्ला भएकोले घाँस पातको लागि पनि प्रशस्तै जङ्गल छ । पहाडी भूभागमा  ५० देखि एक सय भन्दा धेरै बाख्रा पाल्न त्यस्तो समस्या नहुने उनीहरुको भनाइ छ । मासु उत्पादनमा सहयोग पुर्‍याउन व्यावसायिक बाख्रापालनमा लाग्ने कृषकहरुलाई सरकारले सञ्चालन गरेको किसानका लागि उन्नत बीउविजन कार्यक्रम (केयुबिके)ले पनि अनुदान दिँदै आएको छ ।

रोल्पा जिल्लामा यो कार्यक्रमले किसानहरुलाई तालिम दिनुका साथै आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकहरुलाई बाख्रापालनमा पनि संभावना रहेछ भन्ने विश्वास बढेको केयुबिकेका बाख्रा विकास विशेषज्ञ डा. विजय घिमिरेले बताउनुभयो । ‘कार्यक्रम लागु हुनुभन्दा पहिले यहाँका कृषकहरुले बाख्रापालन पनि एक व्यवसाय हो जस्तो नै मान्दैन थिए’ घिमिरेले भन्नुभयो। ‘तर अहिले धेरैले एक सय भन्दा धेरै बाख्रापालेर व्यवसाय ढुक्कसँग चलाएका छन् ।’

जिल्लामा उन्नत जातका बोयरलगायतका छोटो समयमा धेरै वजन लिने जातका बोकाहरुसमेत भित्र्याइएको उहाँले जानकारी दिनुभायो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया