दुई तेक्वान्दो संघलाई मिलेर जान राखेपकाे सात दिने अल्टिमेटम

 कात्तिक २७, २०७५ मंगलबार १६:३३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रिय खेलकुद परिषद राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुई तेक्वान्दो संघलाई मिलेर जान सात दिने अल्टिमेटम दिएको छ । 

सदस्य सचिव केशवकुमार विष्टले मंगलबार दुवै संघलाई चिठ्ठी पठाएर विवाद समाधानको निर्देशन दिनुभएकाे हाे । नमिलेकाे खण्डमा आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला, प्रदेश र केन्द्रिय छनोट प्रभाविक हुने राखेपको भनाइ छ ।

दुई साताअघि नुवाकोटको ककनीमा बसेको राखेपकाे ११०औं बोर्ड बैठकले दुई तेक्वान्दोलाई आफैं विवाद समाधान गर्न लगाउने निर्णय गरेको थियो । त्यसै निर्णय अनुसार राखेपले मंगलबार पत्र पठाएको हो । 

आठौं राष्ट्रिय खेलकुद आउँदाे माघ २२ देखि आयोजना हुने तय भएको छ । तेक्वान्दोमा देखिएको विवादका कारण छनोटदेखि कुनै पनि आधिकारिक प्रतियोगितामा समावेश गर्न अप्ठेरो भएको राखेपको भनाइ छ ।

विश्व तेक्वान्दो महासंघले सम्बन्धन दिएको प्रकाश शमसेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको विवाद १८औं एशियाली खेलकुदका क्रममा पनि देखिएको थियो । 

तर, त्यतिबेला सदस्य सचिव विष्टले नै नेपाल तेक्वान्दो संघ आधिकारिक भएकाले अन्य संघको खेलाडी पठाउन नसकिने अभिव्यक्ति दिनुभएकाे थियाे । तर, अहिले उहाँले नै दुवै संघलाई आपसमा मिल्न निर्देशनात्मक चिठी काट्नुभएकाे छ ।

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया