निस्ट लिटिल फ्लावर प्रिमियर लिग : सिद्धार्थ शिशु सदन र क्यास्पियन एकेडेमीको विजयी सुरुवात

 कात्तिक २७, २०७५ मंगलबार १९:५५:३ | उज्यालो सहकर्मी

कैलाली – देशकै सर्वाधिक धनराशीको विद्यालयस्तरीय निस्ट लिटिल फ्लावर प्रिमियर लिग आजदेखि धनगढीमा सुरु भएको छ । 

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा लिगको तेस्रो संस्करण सुरु भएको हो । मंसिर ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आज भएका खेलमा साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पियन एकेडेमीको विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा सिद्धार्थले निस्ट भक्तपुरलाई हराएको हो भने दोस्रो खेलमा क्यास्पियन एकेडेमीले शारदा माविलाई हराएको हो । 

टी–२० फरम्याटको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदनले निस्ट भक्तपुरमाथि ४ रनको रोमाञ्चक जित दर्ता हासिल गरेको हो ।  समूह ए को उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै सिद्धार्थ शिशु सदनले समय अभावले १० ओभरमा घटाइएको खेलमा निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ६३ रन बनायो । सिद्धार्थका लागि गजेन्द्र बोहोराले १८, सुरेन्द्र साउदले अविजित १५ र खडक बोहोराले १४ रन बनाए । निस्ट भक्तपुरका लागि कप्तान सोहन यादवले २ विकेट लिए । 

६४ रनको विजयी लक्ष्य पछ्याएको निस्ट भक्तपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रन मात्रै जोड्न सक्यो । निस्टका लागि शिशिर केसीले १९ र कप्तान सोहन यादवले १४ रन जोडे पनि आफ्नो टिमलाई जिताउन सकेनन् । सिद्धार्थलाई जिताउन प्रकाश थापाले २ ओभरमा ६ रन खर्चँदै २ विकेट लिए । खेलको म्यान अफ् द म्याच हुँदै उनले नगद एक हजारसहित ट्रफी पाए । 

आज नै भएको दोस्रो खेलमा धनगढीकै अर्को  टिम क्यास्पियन एकेडेमीले शारदा माविलाई १४ रनले किनारा लगायो । टस जितेर पहिले ब्याटिङ गरेको क्यास्पियनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय एक रन बनायो । उसका लागि दिनेश अधिकारीले ३०, प्रकाश पाठक २० र निशान बोगटीले १८ रन बनाए । 

एक सय २ रनको विजय लक्ष्यसहित मैदान उत्रिएको शारदा १६ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । शारदाका लागि दिपक टमाटाले ३४ र जीवन मगरले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । 

क्यास्पियनलाई जिताउन रोशन अधिकारीले ६ विकेट लिए । निराजन रावलले २ विकेट लिए । ६ विकेट लिएका रोशन म्यान अफ् द म्याच भए । उनले नगद एक हजारसहित ट्रफी पाए । 

प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा कैलाली मोडेल र विज्डम एकेडेमी तथा दोस्रो खेलमा मोदाक्षा काठमाडौं र एबीसी स्कुल नेपालगञ्जबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको यसअघि धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाइनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।  

प्रतियोगिता संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निस्ट कलेज लैनचौरको मुख्य प्रायोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा देशभरिका १२ टिमले सहभागिता जनाएका छन् । 

फोटोः महेन्द्र बम

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया