गोविन्द गौतमको ज्यान गएको पूनर्वास क्षेत्रको सीमास्तम्भ एसएसबीको कब्जामा

 बैशाख २४, २०७५ सोमबार ९:४४:१९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर, वैशाख २३ – कञ्चनपुर पूनर्वासमा रहेको सीमा स्तम्भ भारतीय सुरक्षाकर्मीले कब्जा गरेका छन् ।

पटकपटक विवादीत रहँदै आएको पुनर्वास नगरपालिका ९ बिचफाँटामा पर्ने १९५ नम्बर सीमास्तम्भलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको हो । 
त्यही क्षेत्रमा सीमा क्षेत्रकै विवादका क्रममा गएको वर्ष एसएसबीले हानेको गोली लागि गोविन्द गौतमको ज्यान गएको थियो । 

नगरपालिकाका मेयर जीवन थापाले सीमास्तम्भ भारतीय सुरक्षाकर्मीले कब्जा गरेको पुष्टि गर्नुभयो । उज्यालोसंग कुरा गर्दै उहाँले पहिलेदेखि विवादित रहेको क्षेत्र भएकाले यो समस्या स्थानीय तहबाट समाधान हुन नसक्ने बताउनुभयो । ‘हामीले यसबारे केन्द्रमा खबर गरिसकेका छौं, उहाँले भन्नु भयो, अब केन्द्रबाटै समाधानका लागि पहल होला ।’

नेपाली नागरिक तथा सुरक्षाकर्मीलाई सीमा स्तम्भको आसपास जान पनि एसएसबीले रोक लगाएको स्थानीय पत्रकार हेमन्त न्यौपानेले जानकारी दिनुभयो । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले यस क्षेत्रको सीमा सुरक्षामा चासो नदिएको मेयर थापाले आरोप लगाउनुभयो ।  

स्थानीयबासीले पटकपटक सशस्त्र प्रहरीको गण माग गरेपनि सरकारले अहिलेसम्म सुनुवाई नगरेको स्थानीयबासीले गुनासो गरेका छन् । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको क्याम्प त्यो क्षेत्रबाट ७ किलोमिटर उत्तर पश्चिम बेलौरीमा छ ।

यसैबीच, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा सरकारले सीमा अतिक्रमणबारे जवाफ माग्नुपर्ने बताउनुभएको छ ।

कञ्चनपुर जिल्ला पूनर्वास नगरपालिका वार्ड नं. ९ बिचफाँटामा भारतीय सुरक्षाकर्मीले हाम्रो महत्वपूर्ण प्राकृतिक सम्पदा प्यारा ताल समेतको नेपाली भूभाग माथि जबरजस्ती कब्जा गर्ने काम गरेका छन्,’ उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेजीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा यो अशोभनीय घटना भएको छ । ’ 

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया