प्रचण्ड र गृहमन्त्रीलाई म्याग्दीका उद्योगीले भने : लगानीमैत्री वातावरण बनाइदिनुहोस्

 कात्तिक २८, २०७५ बुधबार १९:५५:२८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीका उद्योगी, व्यवसायीहरुले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न माग गरेका छन् । 

म्याग्दी उद्योग वाणिज्य संघले बुधबार बेनीमा आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापालाई व्यवसायीले लगानीमैत्री वातावरण बनाउन आग्रह गरेका हुन् । 

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले राज्यले व्यवसायीलाई हतोत्साही बनाउन नहुने बताउँदै प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहले चर्को करको व्यवस्था गरेको आरोप लगाउँदै करको समायोजन गरेर कर तिर्ने बानीको विकास गर्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष कर्माचार्यले २०२० सालमा नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा त्यसअघि नै देशका पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधारको विकास र लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगरका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले वाणिज्य विभागमा दर्ता भएका उद्योगहरु म्याद नाघेपछि नवीकरण नहुने समस्या रहेकाले क्याबिनेटमा रहेको ऐन तुरुन्तै पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्नुभएको थियो । उहाँले उत्तर–दक्षिण जोड्ने बहुचर्चित कोरला नाका खोल्न आग्रह गर्दै कोरला नाका सञ्चालनमा आएको खण्डमा पर्यटन प्रवद्र्धन हुनुका साथै व्यापार व्यवसाय बढ्ने बताउनुभयो । हाल निर्माणाधीन अवस्थामा रहेको बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नति छिटोछरितो बनाउन पर्याप्त बजेटको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । 

उद्योगी व्यवसायीले उठाएको मागलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य र व्यवसायीका बीचमा मित्रवत व्यवहार हुनुपर्ने बताउनुभयो । उहाँले राज्य र व्यवसायी एकले अर्कालाई मित्र देख्नुपर्ने बताउँदै मित्रको व्यवहार नगरेसम्म देश विकासले गति लिन नसक्ने बताउनुभएको छ । उद्योग व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने र उत्पादन गर्नेलाई प्रोत्साहन नगर्ने र मित्र नदेखेसम्म समृद्धिको सपना बाँड्नु मात्रै हुने बताउँदै अहिले सरकार ऐन संशोधन गर्नेतर्फ लागेको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले अहिले भैरहेका पुराना ऐनको संशोधन गर्न आवश्यक रहेको बताउँदै उद्योगी व्यवसायीलाई लगानीमैत्री वातावरण निर्माणका पहल थालिने बताउनुभएको थियो । उहाँले देशलाई समृद्ध बनाउन र सुखी नेपालीका लागि उत्पादन गर्नुको विकल्प नभएको भन्दै विदेसिने युवालाई स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले म्याग्दी जिल्ला कृषि, पर्यटन, जडिबुटी, फलफुल, जलविद्युतको पर्याप्त सम्भावनायुक्त भएको भन्दै व्यवसायीहरुलाई लगानी गर्न आग्रह गर्नुभएको छ । 

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले सङ्घीयताको कार्यान्वयन गर्न विकास र समृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण तथा ऐनका लागि प्रक्रिया पूरा गरिएको बताउँदै आवश्यक निर्णय तथा कदमहरु अगाडि बढाइएको बताउनुभयो । उहाँले लगानीका लागि अनुकुल वातावरण बनाउन सुशासन र शान्तिलाई सुदृढ गर्ने नीति लिएकाले त्यसका लागि दृढतापूर्वक लागिएको बताउनुभयो । उहाँले राजश्व छल्ने, तस्करी गर्ने जस्ता कार्यलाई नियन्त्रणमा लिइने बताउँदै ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया