एक्कासी आएको हावाहुरीले पाँच वटा प्याराग्लाइडिङ खसे

 जेठ २७, २०७५ आइतबार १८:१८:४४ | उज्यालो सहकर्मी

कास्की – पोखरामा एक्कासी हावाहुरी चल्दा ५ वटा प्याराग्लाडिङ्ग खसेका छन् ।

आइतबार दिउँसो एक्कासी चलेको हावाहुरीका कारण सराङकोटबाट आकाशमा उडिरहेका प्याराग्लाडिङ्गहरु मध्ये २ वटा फेवातालमा र अन्य ३ वटा फरक फरक स्थानमा खसेका हुन् । 

तालमा खसेको प्याराग्लाइडिङलाई तत्कालै सशस्त्र प्रहरीको एपीएफ टोलीले सकुशल उद्धार गरेको थियो । यस्तै पोखराको रातोपैरोबाट पनि एउटा प्याराग्लाइडिङको उद्धार भएको छ भने अन्यको खोजी जारी रहेको कास्की प्रहरीले जनाएको छ । मानवीय क्षतिबारे खुलेको छैन ।  

पोखराको मालेपाटन र मेथलाङको डाँडामा प्याराग्लाइडिङ खसेको जानकारी आएपछि प्याराग्लाइडिङको खोजी भैरहेको कास्की प्रहरी प्रमुख ओम रानाले बताउनुभयो ।

पोखराको आकाशमा आइतबार मात्रै सयभन्दा बढी प्याराग्लाइडिङ उडेका थिए । हावाहुरीका कारण फेवातालमा डुंगाहरु पनि पल्टिएका छन् । डुंगामा मान्छे सवार नभएका कारण मानवीय क्षति भने भएको छैन ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया