विवाह गरेको १७ वर्षपछि नागरिकता

 कात्तिक २९, २०७५ बिहिबार १६:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – जलजला गाउँपालिका –७, धाइरिङकी ३४ वर्षीया सेती परियारले विवाह गरेको १७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । 

सेती परियारका श्रीमान गोविन्द दमाईबाट पालनपोषण र रेखदेखमा सहयोग नगरी घरेलु हिंसा खेप्दै आएकी परियारले कात्तिक २९ गते बिहीबार जिल्ला प्रशासन कार्यालय पर्वतबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । 

नेपाली नागरिकता प्रमाणपत्र नहुँदा विभिन्न अवसरबाट बञ्चित भएकी सेती परियारलाई उहाँका ससुरा (श्रीमानका बाबु) ठूले परियारले सनाखत गर्दै नागरिकता प्रमाणपत्र दिलाउन सहयोग गर्नुभएको हो । 

सेती परियारले आफू श्रीमानबाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै २०७५ कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन पेस गर्नुभएको थियो । उहाँको निवेदनको आधारमा जलजला गाउँपालिका–७, धाइरिङका वडा अध्यक्ष टुङगनाथ शर्मा समक्ष सिफारिस दिलाउन पहल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटक–पटक नागरिकता दिलाउन आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतले सेती परियारलाई कार्तिक २९ गतेको मितिमा नेपाली नागरिकता प्रमाणपत्र जारी गरी प्रमाणपत्र प्रदान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले उक्त नागरिकता प्रदान गर्दै सेती परियारले नागरिकता पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले परियारका ससुरा ठूले परियारलाई पनि धन्यवाद दिनुभयो । नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका खुलेको भन्दै खुशी व्यक्त गर्नुभयो । 

जलजला गाउँपालिका वडा नं. ७ साविकको धाइरिङ गाविस ३ माइतघर भई त्यही ठाउँमा घर भएका ३२ वर्षीय गोविन्द दमाईसँग २०५८ साल मंसिर २२ गते सामाजिक परम्परा अनुसार विवाह गर्नुभएको थियो । उहाँका १३ वर्षीय छोरा रुद्र र ३ वर्षीय छोरा सुरज परियार छन् । 

मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरु एक वर्षअघि दोश्रो विवाह गरेर श्रीमानले दोश्रो श्रीमती घरमा ल्याएपछि उहाँ घरेलु हिंसाको सिकार बन्दै आउनुभएको थियो ।

श्रीमान गोविन्द परियारले बुधबार नै वडा कार्यालय धाइरिङमा पुगेर श्रीमतीलाई पालनपोषण र रेखदेखमा कुनै विभेद नगर्ने भन्दै लिखित रुपमा प्रतिबद्धतासमेत जनाउनुभएको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया