इराक पुगेकी दोर्जेकी बहिनी हराइन्

 कात्तिक २९, २०७५ बिहिबार १७:४५:५७ | उज्यालो सहकर्मी

रीना श्रेष्ठ/सिन्धुपाल्चोक । 

सिन्धुपाल्चोक – ‘मेरो बहिनी इराकमा हराइन्, खोजी दिनु पर्‍यो,’ कुर्सीमा बस्न नभ्याउँदै दोर्जे लामाले अनुरोध गर्नुभयो ।  सूचना केन्द्रमा समस्या लिएर आउने अरुको जस्तै उहाँको अनुहार पनि मलिन देखिन्थ्यो । 

‘दाइ विदेश जानु पर्‍यो भनेकी थिइन् बहिनीले, मैले त राम्रो ठाउँ बुझेर जाउ भनेको थिएँ, दलालले फकाएर लगिहालेछन्, कहाँ पुर्‍याइदिए खै सम्पर्क छैन’ सिन्धुपाल्चोकका दोर्जेले खुइय सुस्केरा हाल्नुभयो । 

२०७२ चैतको अन्तिमतिर घरबाट हिँडेकी बहिनी मिङमारसँग दोर्जेले २०७३ जेठमा फेसबुकको म्यासेन्जरमा एकपटक कुरा गर्नुभयो । ‘फेसबुकमा बोलेकी थिइन्, मलाई ठीकै छ, इराक आइपुगें भन्थिन्, त्यसपछि कुरा भएको छैन, अहिले त त्यो फेसबुकमा पनि भेटिंदैन,’ दोर्जेले बहिनीसँग भएको अन्तिम कुराकानी सम्झनुभयो । त्यसपछि बहिनीका बारेमा उहाँलाई कुनै खबर आएको छैन ।

२०७२ को भूकम्पले घर ढाल्यो । ढलेको घरले दोर्जेकी आमालाई पनि पुर्‍यो । ‘भूकम्पमा आमा पनि बितेपछि म नुवाकोटतिर गाडी चलाउन गएँ, बहिनीले विदेश जाने रहर गरेकी थिइन्, दलालले बुवा र बहिनीलाई फकाएर मलाई थाहै नदिइ लगेछ हजुर,’ दोर्जेले व्यथा पोख्नुभयो । 

भूकम्पमा ढलेको घर उठाउन र आमा गुमाउनुको पीडा पुर्न विदेश जाने योजना थियो मिङमारको । तर राम्रो काम हुने देशमा मात्र जानुपर्छ भनेर सम्झाउनुभएको थियो दोर्जेको । तर दोर्जेले बहिनी हिँडेको खबर पनि झण्डै एक महिनापछि मात्रै पाउनुभयो । 

‘म गाडी चलाउन नुवाकोट गएको थिएँ, घरमा फोन पनि त्यतिस भएको थिएन, बहिनीलाई त दलालले फकाएर लगेछ,’ दोर्जे सुनाउनुहुन्छ । 

गाउँबाट अरु पनि गएका छन् इराक

मिङमारका गाउँबाट अरु पनि गएका छन् इराक । दोर्जेसँग बहिनीले अरु गएको ठाउँमा आफू जान के हुन्छ र भन्ने ढिपी गर्थिन् । मिङमारकी जेठी दिदी पनि लेबनान र युएईमा काम गरेर फर्किनुभएको हो । तर उहाँलाई गाउँकै दलालले पठाएका थिए ।

‘जेठीलाई त गाउँकै दलालले पठाए, भनेकै काम मिल्यो, राम्रै पनि भयो, तर माइलीलाई त खै कहाँको दलालले फकायो खै’ दोर्जे भन्नुहन्छ । 

त्यसो त दोर्जे पनि म्यानपावरमै काम गर्नुहुन्थ्यो । २०६४ सालतिर उहाँले गाउँबाट विदेश जान्छु भन्नेलाई म्यानपावरको सम्पर्कमा पुर्‍याइदिनुहुन्थ्यो ।  तर दोर्जेले आफ्नी बहिनीलाई अरु नै दलालले इराक पुर्‍याएको पत्तो पाउनुभएन । 

‘धरानतिरको दलाल रे, काठमाडौंमा आरुबारीमा म्यानपावर थियो रे भन्छन्, तर को हो केही थाहा छैन्,’ दोर्जेले भन्नुभयो ।

‘बहिनीकै चिन्ता छ, कहाँ होला, कस्तो होला, त्यो पनि इराकमा,’ दोर्जे भुईंतिर हेर्दै भन्नुभयो, ‘कुन दलालसँग, कुन म्यानपावरबाट बहिनी गयो भन्ने पनि थाहा छैन के गर्ने होला ?’

मिङमारले घर छाडेको पनि तीन वर्ष भइसक्यो । ‘बुवाले पनि पठाउने दलाल त सम्झिँदैनन्, यही विषयमा घर झगडा पनि परिरहन्छ,’ दोर्जेले भन्नुभयो । 
सबैले किन नखोजेको भन्छन्, तर कहाँ खोज्ने ?

दोर्जे आफैं पनि अरुलाई विदेश पठाउन सहयोग गर्ने भएकाले गाउँ समाजले बहिनी नखोजेको भन्दै शंका गर्न थालेका छन् । 

‘गाउँलेले मलाई किन बहिनी नखोजको भन्छन्, तर मैले कहाँ खोज्ने होला, बुवाले दलालको जिम्मा लगाएको हो, बुवालाई नै दलालको बारेमा थाहा छैन,’ बहिनी हराउँदाको आपत सुनाउनुहुन्छ दोर्जे ।

इराक पठाएको भन्नेबाहेक दोर्जेलाई पनि केही थाहा छैन । पठाउने दलाल र म्यानपावरको बारेमा दोर्जेका बुवालाई पनि थाहा छैन । ‘समाजले त हामीले नै बहिनी बेचेको जस्तो सोच्न थालिसके,’ दोर्जे नमिठो मान्दै सुनाउनुहुन्छ । 

२० वर्षको हुनुहुन्थ्यो, मिङमार विदेश जाँदा । चार दिदीबहिनी र तीन दाजुभाइ हुन्, मिङमारका । दुई बहिनी र एक भाइ पढिरहेका छन् ।

दलालको कुनै पत्तो नभएपछि दोर्जे बहिनी खोज्न अनुरोध गर्र्दै सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत सिन्धुपाल्चोक चौतारामा रहेको सूचना केन्द्रमा पुग्नुभएको हो । 

दोर्जेले दिएको निवेदनको आधारमा सूचना केन्द्रले मिङमारको खोजीका लागि कन्सुलर सेवा विभागको अनलाइन फारम भरेको छ । 

सरकारले प्रतिबन्ध लगाएको देश इराक पुगेकी मिङमारको खोजीका लागि विभागले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी पठाएको बताएको छ । तर त्यसबाहेक सोधिखोजी अघि बढेको छैन । सूचना केन्द्रका अनुसार इराक पठाउने दलाल र म्यानपावरको बारेमा जानकारी नहुँदा खोजीमा समस्या भइरहेको छ । 


 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया