७ हजार प्रतिष्ठान र ९० हजार श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत, यस्ता छन् फाइदा

 असोज ३०, २०७६ बिहिबार १५:४०:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय बिहीबारदेखि सकिंदैछ । बिहीबार दिउँसोसम्ममा सात हजार एकसय रोजगारदाता र ९० हजार दुईसय श्रमिक कोषमा सूचीकृत भएका समाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिनुभयो ।

पछिल्लो पटक कोषमा सूचीकृत हुन दिइएको समय आज बिहीबारदेखि सकिने भएकाले कोषमा सूचीकृत नभएका रोजगारदाताको हकमा के गर्ने भनेर छिट्टै निणर्य गर्ने पनि उहाँले बताउनुभयो । 

‘अहिले नै हतार गरेर हुँदैन, कोषमा नआउनुको कारण बुझेर त्यही अनुरुप भावी योजना बनाउनेछौँ’झ ज्ञवालीले उज्यालोसँग भन्नुभयो, ‘ढिलोचाँडोको कुरा हो सबै प्रतिष्ठानलाई कोषमा ल्याएरै छाड्नेछौँ ।’

ठूला संस्थाहरु कोषमा सूचीकृत हुने क्रम बढीरहेकोले आफूहरुले यसलाई निकै सकारात्मक रुपमा लिएको निर्देशक ज्ञवालीको भनाइ छ । 

अहिलेसम्म चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर, जीफोरएससहित १ सय १७ वटा ‘आउटसोर्सिङ’ कम्पनीहरु, नोबल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल र आम्दा नेपाल सूचीकृत भएका छन् ।

तथ्यांक विभागका अनुसार ९ लाख भन्दा धेरै नीजि कम्पनी र त्यसमा आवद्ध ३० लाखभन्दा बढी श्रमिक रहेका छन् ।

सूचीकृत हुँदाको फाइदा

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने श्रमिकले चार योजना अन्र्तगत कोषबाट फाइदा लिन सक्छन् ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सम्बन्धी योजना

यो योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा कम्तीमा तीन महिना योगदान गर्ने योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सम्बन्धी सुविधा पाउनेछन् । यस्तो सुविधा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको तीन महिनाको अवधिसम्म लागू हुने छ ।

यो सुविधा प्राप्त गर्ने योगदानकर्ताले सरकार वा अन्य विमा योजना बमोजिम कुनै स्वास्थ्य सुविधा लिन पाउने भएमा त्यस्तो सुविधा लिन यस कार्यविधिमा लेखिएको कुनै कुराले बाधा नहुने व्यवस्था गरिएको छ । 

दुर्घटना तथा अशक्तता सुरक्षा योजना 

सामाजिक सुरक्षा कोषमा सूचीकरण भै कोषले योगदान लिन सुरु गरेको मितिदेखि यो व्यवस्था लागू हुने व्यवस्था छ । योगदान गर्न छाडेपछि भने यो सुविधा पाइने छैन ।

यस्तै व्यवसायजन्य रोगको उपचार तथा यससँग सम्बन्धित अन्य सुविधा कम्तीमा दुई वर्ष योगदान गरेपछि मात्र पाउने र यस्तो सुविधा योगदान गर्न छाडेको दुई वर्षको अवधिसम्म लागू रहने व्यवस्था गरिएको छ । यही योजनामा रोजगारीजन्य बाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले सात लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यहोर्नेछ ।

सामाजिक सुरक्षा कोषमा सूचीकरण भै कोषले योगदान लिन सुरु गरेको मितिदेखि भने यस योजनामा सहभागी भएको मानिनेछ र योगदान गर्न छाडेपछि यो सुविधा प्रदान गरिने छैन । यसमा असक्षमता प्रतिशतको आधारमा प्रदान गरिने निवृत्तिभरण रकममा विमाङ्कीको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्र स्फीफीति समायोजन गरिने व्यवस्था छ ।

आश्रित परिवार सुरक्षा योजना

यो योजना अन्तर्गत जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको साठी प्रतिशतको दरले निजले जीवनभर निवृत्तिभरण पाउने व्यवस्था मिलाइएको छ  ।

तर योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा पाइने छैन । तर त्यस्तो व्यक्तिको रोजगारी समाप्त भई वृद्धावस्था अन्तर्गतको निवृत्तिभरण प्राप्त गर्ने अवस्था नरहेमा कोषमा निवेदन दिई यस परिच्छेद बमोजिमको निवृत्तिभरण सुविधा माग गर्न सकिनेछ ।

यस परिच्छेद बमोजिम प्रदान गरिने निवृत्तिभरण रकममा बिमाङ्कीको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्रास्फीति समायोजन गरिनेछ । यस्तै योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पूरा नभएको सन्ततिले शैक्षिकवृत्ति वापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा पाउनेछ ।

तर एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ । यदि कुनै सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एक्काईस वर्षको उमेर पूरा नभएसम्म प्रदान गर्न सकिनेछ ।

तर उसको विवाह भएमा वा अध्ययन पूरा भएमा त्यस्तो सुविधा प्रदान गरिने छैन । तर कुनै सन्तति शारीरिक वा मानसिक रुपमा काम गर्न असक्षम भएमा त्यस्तो सन्ततिको हकमा उमेरको हद लागूहुने छैन ।

यस्तै योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर निजसँग आश्रित बाबु आमा रहेछन् भने निजहरुलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम निजहरुको जीवनकालभर मासिक रुपमा प्रदान गरिने व्यवस्था गरिएको छ । तर बाबु आमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ ।

तर उनीहरुको वैकल्पिक रोजगार रहेको वा निजले अन्यत्रबाट यसमा लेखिएको भन्दा बढी सुविधा पाउने रहेछ भने यो सुविधा पाउने छैन । यही योजना अन्तर्गत जुनसुकै कारणले योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी, अस्थाई असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई पच्चीस हजार रुपैयाँ एकमुष्ठ उपलब्ध हुन्छ ।

वृद्ध अवस्था सुरक्षा योजना

सामाजिक सुरक्षा कोषमा सूचीकृत भै कोषले योगदान लिन सुरु गरेको मितिदेखि यो योजनामा सहभागी भएको मानिने व्यवस्था छ । योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउनेकूल योगदान रकम एकमुष्ठ रुपमा पाउने छन । निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्नेछ ।

तर कुनै योगदानकर्ताले १८० महिनाको योगदान नगर्दै साठी वर्ष उमेर पुरा भएको रहेछ भने त्यस्तो योगदानकर्ताले निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ रुपमा लिन वा कुल रकमलाई १८० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण लिने मध्ये कुनै एउटा विकल्पको छनोट गर्न सक्नेछ । 

अवकाश सुविधा लिनको लागि निवृत्तभरण योजना लागूहुनु अगावै रोजगारीमा रहेका योगदानकर्ताले निवृत्तभरणको लागि निवेदन नदिएमा दफा १९ को उपदफा ९१० बमोजिम कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदान वापतको योगदान रकम, रोजगारदाताको तर्फबाट गरेको योगदान र सोमा कोषले गरेको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम अवकाश हुँदा एकमुष्ठ भुक्तानी पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

साथै निवृत्तभरण पाउने उमेर नपुगेको कुनै श्रमिकको सेवा समाप्त भएको वा एउटा सेवा समाप्त भई अर्को सेवा शुरु नभएको अवस्थामा पनि उसले सामाजिक सुरक्षा योजनामा निरन्तरता दिन चाहेमा योगदानको सम्पूर्ण रकम स्वयंले व्यहोरी योजनामा निरन्तरता दिन सक्नेछ । यसरी योगदान गर्दा योगदानको रकम कोषले तोकेको खातामा जम्मा गर्नु पर्नेछ ।
 

तपाईको प्रतिक्रिया