दुबई प्रहरीको जागिर छाडेर पशुपालन, वार्षिक डेढ करोड आम्दानी

 कात्तिक १, २०७६ शुक्रबार १७:३१:२४ | रासस

अञ्जली थापा/रासस ।

मकवानपुर – केही गर्ने आँट र जाँगर हुने हो भने असम्भव के छ र । यो कुरा प्रमाणीत गर्नुभएको छ, मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले । अनिता विदेशबाट फर्किएर आफ्नै ठाउँमा कृषि कर्म गरेर वर्षको झण्डै एक करोड ५० लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । 

एक करोडको लगानीमा शुरु गरेको कृषि फारमबाट उहाँले वार्षिक दुई करोड रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राख्नुभएको छ ।

उहाँले एक वर्ष अगाडि अनु एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा, माछा, बङ्गुर र खसीबोका पाल्नुभएको छ । फार्मले आम्दानी दिन शुरु गरिसकेको छ । फार्ममा अहिले झण्डै दुई हजार पाँच सय लोकल कुखुरा, बङ्गुर, माछा र खसीबोका छन् । 

अनिताले पाल्नुभएका २८ पोथी बंगरले जन्माएका एक हजार पाँच सय बंगुरका बच्चा बिक्रीबाट झण्डै ९० लाख आम्दानी भएको उहाँले बताउनुभयो । एउटा पोथी बंगुरले एक वर्षमा लगभग ५० बच्चा जन्माउने र एउटा बच्चा आठ हजार रुपैयाँसम्म बिक्री भइरहेको उहाँ बताउनुहुन्छ । 

कुखुराबाट पनि आम्दानी हुन थालेको अनिता बताउनुहुन्छ । माछा बजार लैजान तयारी अबस्थामा रहेका उहाँले बताउनुभयो । पोखरीमा ३५ हजार माछा रहेकामा कम्तीमा ३० हजार किलो माछा बेच्न सकिने लक्ष्य उहाँको छ । माछाबाट झण्डै १० लाख रुपैयाँ आम्दानी हुने उहाँको अनुमान छ । प्रत्येक छ महीनामा माछा झिक्न सकिने उहाँ बताउनुहुन्छ । 

खसीबोकाका लागि भने अझ केही समय लाग्ने उहाँको तयारी छ । तिहार लगत्तै माछा बजारमा लैजाने तयारी रहेको र माछाबाट झण्डै १५ लाख रुपैयाँ आम्दानी हुने उहाँले बताउनुभयो । सबै गरेर एक वर्षको आम्दानी झण्डै डेढ करोड रुपैयाँ हुने उहाँ बताउनुहुन्छ । 

एक्लो प्रयास

दाजुभाइ अलग बसेका छन् । दिदीबहिनीको बिहे भइसक्यो । बाबुआमा र परिवारको जिम्मेवारी सम्हालेर परिवारकोसमेत सहयोगबिना अनिताले मिहिनेत गरिरहनुभएको छ ।

रोजगारीका लागि उहाँ परदेश पनि जानुभएको थियो । विदेशमा काम र कमाइ गज्जब थियो । तर उहाँले विदेशको महिनाको डेढ लाख कमाइ हुने जागिर छाडेर उहाँ स्वदेशमै कृषिमा रमाइरहनुभएको छ । 

सानै उमेरमा नै घर त्यागेर तत्कालीन माओवादी सेनामा लाग्नुभएकी २६ वर्षीया उहाँ शान्ति सम्झौता र सेना समायोजन पश्चात उहाँले यूएई प्रहरीमा पाँच वर्ष  काम गर्नुभयो । यूएईमा कमाएको एक करोड रुपैयाँ कृषिमा लगानी गर्ने सोचले एक वर्ष अघि उहाँ नेपाल फर्कनुभएको हो ।

अनिता भन्नुहुन्छ, ‘त्यहाँ लगानी जम्मा नहुञ्जेलसम्म काम गरेँ, आफूसँग गाँउमा नै काम गर्न लगानी भएपछि कृषि गर्छु भनेर फर्केकी हुँ, कृषिमा लगानी गरेमा लगानी उठ्नेमात्र होइन, मनग्य आम्दानी हुने रहेछ ।’ यसो भनिरहँदा अनिताको अनुहार उज्यालो भयो ।

उहाँले १० कट्ठा आफ्नै तथा १० कट्ठा लिजमा लिएर एक बिघा जमीनमा एक वर्षअघि कृषि फार्म शुरु गर्नुभएको हो ।

उहाँको फार्ममा एक व्यवस्थापकसहित तीन कर्मचारी छन् । व्यवस्थापनका लागि समय मिलेसम्म आफैँ खटिने गरेको र कर्मचारीबाहेक समय समयमा अन्य व्यक्तिबाट पनि काम लिने गरेको उहाँकोे भनाइ छ ।

नजिकै सुकुम्वासी बस्ती रहेका कारण कामदारको अभाव नहुने उहाँ बताउनुहुन्छ । अहिले व्यवसायले सन्तुष्टि दिइरहेको र अझै बढाएर यही पेशालाई निरन्तरता दिने उहाँको योजना छ ।
 

1 Comments

  • manisha paudel

    Oct. 20, 2019, 11:26 p.m.

    गरे के हुदैन नेपालमा गरेको सङ्धर्ष र मेहेनत कहिले पनि खेर जादैन...

तपाईको प्रतिक्रिया