स्वदेश फिर्तीसँगै खाडी र मलेसियाबाट १५१ नेपालीको शव ल्याइयो, १४६ जनाको विदेशमै अन्त्येष्टि

 असार २६, २०७७ शुक्रबार १९:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बितेको २७ दिनमा खाडी र मलेसियाबाट १५१ नेपालीको शव ल्याइएको छ । गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि ल्याउन थालिएको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी सुरु भएयता विदेशमा ज्यान गुमाएका ४०६ नेपालीमध्ये १५१ नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ३९१ पुरुष गरी ४०६ जना नेपालीको विभिन्न कारणले ज्यान गएको थियो । 

अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै सदगतका लागि अनुमति दिएका छन् । आफन्तको सहमतिमै १४६ जना नेपालीको भने गन्तव्य देशमै सदगत गरिएको बोर्डले जनाएको छ । अब खाडी र मलेसियासहित विभिन्न देशमा १०९ नेपालीको शव बाँकी छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोकेपछि विशेषगरी धेरै नेपाली कार्यरत खाडीका देश र मलेसियामा नेपालीको शव पनि रोकिएको हो । गएको जेठ ३२ गतेदेखि सरकारले लकडाउनकै बीचमा विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानहरु पठाउन थालेपछि भने त्यही जहाजमा नेपालीका शव पनि ल्याउने गरिएको हो । 

कुन देशबाट कति शव आए, कति बाँकी ?

यो अवधिमा सबैभन्दा धेरै साउदीमा नेपालीको ज्यान गएको छ । साउदीमा मात्रै यो अवधिमा १४३ जना नेपालीले ज्यान गुमाएका छन् । यसमध्ये ५३ जना नेपालीको शव ल्याइएको छ । लामो समयसम्म आफन्तको शव कुर्नपर्दा ३० जना मृतकका आफन्तले भने साउदीमै सदगतका लागि अनुमति दिएकाले उतै अन्त्येष्टि गरिएको छ । साउदीमा मात्रै अझै ६० जना नेपालीको शव स्वदेश ल्याउन बाँकी छ । 

यस अवधिमा साउदीपछि सबैभन्दा धेरै यूएईमा नेपालीहरुले ज्यान गुमाएका छन । यूएईमा ज्यान गुमाएका ७९ नेपालीमध्ये ५८ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएपछि ८ जना नेपालीको शव मात्रै यूएईबाट नेपाल ल्याइएको छ ।  अब १३ नेपालीको शव यूएईमा रहेको बोर्डले जनाएको छ । बाँकीको उतै अन्त्येष्टि गरिएको छ ।

यूएईपछि ज्यान गुमाउने नेपालीको सङ्ख्या धेरै कतारमा रहेको छ । कतारमा यो अवधिमा ६४ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३८ नेपालीको शव स्वदेश ल्याइएको छ भने २२ जनाको कतारमै अन्त्येष्टि गरिएको छ । कतारमा अब ४ जना नेपालीको शव बाँकी छ । कतारमा शवको सङ्ख्या बढ्दै जाँदा कतार सरकार आफैंले नेपालीको शव एकैपटक २० वटा पठाएको छ । कतार एअरवेजको चार्टर्ड उडानमार्फत कतारले २० नेपालीको शव रोजगारदाताको समन्वयमा पठाएको थियो । त्यसपछि विभिन्न समयमा नेपाली लिन गएका चार्टर्ड जहाजले शव पनि ल्याएको हो ।

 कतारपछि ज्यान गुमाउने नेपालीको सङ्ख्या मलेसियामा धेरै रहेको छ । मलेसियामा यो अवधिमा ६३ जना पुरुषको ज्यान गएको छ । उनीहरुमध्ये ३८ जनाको शव स्वदेश ल्याइएको छ भने ८ जनाको उतै अन्त्येष्टि गरिएको छ । मलेसियाबाट विभिन्न समयमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले समस्यामा परेका नेपाली लिन जाँदा शव पनि ल्याएका थिए । मलेसियामा अब १७ जना नेपालीको शव बाँकी रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

मलेसियापछि खाडीको अर्को देश कुवेतमा १७ नेपालीले यो अवधिमा ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये ८ नेपालीको शव स्वदेश ल्याइएको छ भने ५ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । कुवेतमा अब ४ नेपालीको शव बाँकी रहेको छ ।

खाडीकै अर्को देश बहराइनमा यस अवधिमा ९ नेपालीको विभिन्न कारणले ज्यान गएको छ । यसमध्ये विभिन्न चार्टर्ड उडानले पाँच शव स्वदेश ल्याएका छन् भने तीन जनाको बहराइनमै अन्त्येष्टि गरिएको छ । बहराइनमा अब १ जना नेपालीको मात्र शव बाँकी रहेको छ । 

ओमानमा भने यो अवधिमा दुई जनाले ज्यान गुमाएका छन् । दुईमध्ये १ जनाको ओमानमै अन्त्येष्टि गरिएको छ भने एक नेपालीको शव स्वदेश ल्याइएको छ ।

यसैगरी नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियामा यो अवधिमा ६ नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ५ जनाको कोरियामै अन्त्येष्टि गरिएको छ भने एक जनाको शव त्यहाँ बाँकी रहेको बार्डले जनाएको छ ।

 रोजगारीका लागि अरु देशमा पुगेका २३ नेपालीले पनि यस अवधिमा ज्यान गुमाएका र उनीहरुमध्ये १४ जनाको सम्बन्धित देशमै अन्त्येष्टि गरिएको छ भने ९ जनाको शव बाँकी रहेको बोर्डले जनाएको छ । खाडीका ६ देश मलेसिया र अन्य विभिन्न देशमा गरी अब १०९ जना नेपालीको शव बाँकी रहेको छ । यी नेपालीको शव पनि नेपाली लिन गएका जहाजले क्रमशः ल्याउने बोर्डले जनाएको छ । 

शव ल्याउन ढिलो हुँदा आफन्तले सम्बन्धित देशमै अन्त्येष्टिको लागि अनुमति दिने क्रम पनि भैरहेको बोर्डले जनाएको छ । आफन्तको शव कुरिरहेकाको हकमा भने मिलेसम्म सक्दो छिटो शव स्वदेश ल्याउनका लागि बोर्ड र सम्बन्धित देशमा रहेका नेपाली नियोगबीच समन्वय भैरहेको छ । 

नेपालसम्म आएका शव बोर्डले निःशुल्क घरसम्म पुर्‍याइदिने गरेको छ । आफन्त शव बुझ्न काठमाण्डौसम्म आउन नसकेको अवस्थामा बोर्डले नै विमानस्थलमा शव बुझेर घरसम्म पुर्‍याइदिने गरेको हो । 
 

तपाईको प्रतिक्रिया