गएको साता भारतमा मात्रै कोरोनाको कारण २५ नेपालीको ज्यान गयो

 साउन १८, २०७७ आइतबार १०:२१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको साता भारतमा मात्रै कोरोनाका कारण २५ जना नेपालीको ज्यान गएको छ ।

भारतमा पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढ्दै जाँदा ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको र एक सातामा भारतमा मात्रै २५ नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार पछिल्लो समय भारतमा सङ्क्रमण बढ्दै जाँदा त्यहाँ रहेका नेपाली पनि प्रभावित हुने क्रम बढेको छ । सबैभन्दा धेरै भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् । यस्तै गएको साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको कोरोनाबाट ज्यान गएको छ ।

यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट विभिन्न देशमा रहेका १ सय ८९ जना नेपालीको ज्यान गएको छ । स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने सङ्क्रमण बढिरहेकै छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ ।

समितिले स्पेन, बेल्जियम, युके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको सङ्क्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाईसमेत सचेत रहन आग्रह गरेको छ ।

समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुन सक्ने सम्भावना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया