सुरक्षाका उपाय अपनाउँदै मलेसियामा काम गरिरहेको छु

 साउन २५, २०७७ आइतबार १२:५९:११ | मेरो कथा मेरो भोगाई

हरि थापा, दोलखा/हाल,मलेसिया ।

म मलेसियाको एक म्यानुफ्याक्चरिङ् कम्पनीमा काम गर्छु । अहिले त यहाँ सामान्य रुपमा नै काम चलिरहेको छ । सामान्य रुपमा काम चल्न थालेपछि दैनिकी पनि सामान्य हुन थालेको छ । नत्र त साह्रै गाह्रो भयो । केही समय त डरायौं ।

यतिको अवस्था सामान्य होला भन्ने नै लागेको थिएन । सुरुमा चीनमा कोरोना आयो रे भन्ने खबर सुनियो । के होला र, यहाँ त आउँदैन होला भन्ने लाग्यो ।

तर एक कान, दुई कान मैदान भनेझैं चीन हुँदै मलेसियासहित संसारका देशमा कोरोना फैलियो । दुई चारवटा केश देखिएपछि मलेसिया सरकारले यहाँ बन्द गर्ने निर्णय गर्‍यो ।

हतार हतार त्यही दिन बेलुका गएर एक हप्तालाई पुग्ने सामान किनियो । तर होस्टलभित्रै सामान किन्न पाइने भएकाले त्यति चिन्ता भएन । कतिपय साथीहरुले प्रहरी रिपोर्ट बनाएर बजार गएर सामान किनेर पनि ल्याए । ४२ दिनसम्म कोठामै थुनिन पर्‍यो ।

काम गर्दाभन्दा परदेशमा काम नगरी बस्न औधी गाह्रो भयो । डिप्रेसन नै पो हुन्छ कि झैं भयो । दिमागमा अनेक कुरा खेल्यो । अब त घर जानै पाइन्न कि झैं लाग्यो ।

तर होस्टलभित्रैको ४२ दिनपछि भने यहाँ अलि सामान्य हुन थाल्यो । काम खुल्यो । कम्पनीले एक हप्ता काम दिने, एक हप्ता नदिने गरेर ड्युटी मिलाइदियो ।

महामारीको बेलामा, संसार हायलकायल भइरहेका बेला काममा जान पाउँदा खुशी लाग्यो । तर डर पनि लाग्ने रहेछ । हामी अहिले यहाँ सुरक्षित नै छौं ।

कोरोनाबाट बच्न अपनाउनुपर्ने सुरक्षाका उपायहरु अपनाएका छौं । बाहिर जान पाइँदैन । अति आवश्यक काम परे मात्र जान्छौं । कम्पनीले कार्ड बनाइदिएको छ, त्यही कार्ड लिएर मात्र जान पाइन्छ बाहिर पनि ।

बाहिर जाँदा पनि उत्तिकै साबधानी अपनाउँछु । काममा जाँदा पनि त्यसैगरी सावधानी अपनाउँछु ।

मास्क, सेनिटाइजर त साथी नै भइसक्यो । बेलाबेलामा हात धुने र अन्य सावधानी पनि अपनाएको छु । तर यहाँका स्थानीय नागरिक चाहिँ त्यति सावधान हुँदैनन् । उनीहरुको आनीबानीले चाहिँ डर लाग्छ । अहिले ठिक छ । काम चल्यो । परदेशको ठाउँमा महामारीको बेलामा पनि काम गर्न पाएका छौं ।

यहाँ अनिवार्य मास्क लगाउन पर्छ । नलगाएमा जरिवाना तिर्नै पर्छ । कतिपय साथीहरुलाई त नियम उल्ङ्घन गरेकै आरोपमा जेलसमेत पठाएको छ । त्यसैले यहाँ सबै कुरा नियम अनुसार नै चल्छ । कतिपय कम्पनीहरु त बन्द पनि भइरहेका छन् । ठूला ठूला कम्पनीहरु चलि नै रहेका छन् । मेरो त इन्टरनेशनल कम्पनी हो ।

त्यही भएर पनि खासै समस्या छैन । कतिपय कम्पनी बन्द भयो । साथीहरु समस्यामा पर्नुभयो । हामी आफैंले पनि नेपालीको नाताले टिकट काटेर घर पठायौं । यहाँ भिसा सकिएकालाई चाहिँ समस्या हुन् थालेको छ । कहिले घर जान पाइएला भनेर कुरिरहनुभएको छ ।

तर मेरो त एक वर्षको भिसा छ । एक वर्षलाई ढुक्क छ । काम भइरहेको छ । काम चलिरहेकै छ । कोरोनाबाट बच्न अपनाउनुपर्ने जति सुरक्षा सतर्कता अपनाएकै छु । यति गर्दा पनि कोरोना लाग्यो भने चिन्ता छैन । कोरोनासँग लड्न म तयार छु ।

तपाईको प्रतिक्रिया