यूएईमा ५ महिनामा १ सय १० जना नेपालीले ज्यान गुमाए, १४ हजार स्वदेश फर्किए

 साउन २९, २०७७ बिहिबार १०:१:१९ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)मा लकडाउन अवधिभर १ सय १० जना नेपालीको ज्यान गएको छ । गएको मार्च ११ देखि अगस्ट ११ सम्म पाँच महिनाको अवधिमा यूएईमा १ सय १० जना नेपालीको ज्यान गएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाउनेमध्ये ५ जना महिला र बाँकी १ सय ५ जना पुरुष छन् ।

यस्तै एकजना महिलासमेत गरी ३६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको दूतावासले जनाएको छ ।  दूतावासका अनुसार कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका बाहेक अधिकांशको प्राकृतिक कारण र केहीको मात्र आत्महत्या, दुर्घटना वा हत्या रहेको छ ।

६९ जनाको अन्त्येष्टि यूएईमै

​ज्यान गुमाएका ६९ जनाको अन्त्येष्टि यूएईमै गरिएको छ ।  बाँकी २६ जनाको शव नेपाल पठाइएको दूतावासले जनाएको छ । परिवारको सहमतिमा ६९ जनाको शव यूएईमै अन्त्येष्टिका लागि दूतावासले अनुमति दिएको हो । गएको जुन १९ बाट उद्धार उडान शुरु भए लगत्तै १ महिलासहित २६ जना नेपालीको शव नेपाल पठाइसकिएको छ । बाँकी ४ जनाको शव नेपाल पठाउने तयारीमा रहेको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी भुवन ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी शव अझै पनि विभिन्न अस्पतालको शवगृह (मर्चरी)मा राखिएका छन् ।  

उद्धार उडान मार्फत सकेसम्म अड्किएका शवै शव नेपाल पठाउने प्रयास अनुरुप दूतावासले कम्पनी, पालिका तथा परिवारसँग समन्वय गरेर काम गरिरहेको पनि दूतावासले जनाएको छ ।  

झण्डै १४ हजार फर्किए

कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, रोजगारदाता भागेर अलपत्र परेका, अध्ययन तथा घुम्न आएका गरी झण्डै ४७ हजार जनाले नेपाल फर्किन चाहेको नेपाली दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

दूतावासले गएको अप्रिल २८ बाट नेपाल फर्किन चाहनेका लागि अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको थियो । नेपाल फर्किने चाहाना व्यक्त गर्दै यूएईमा रहेका ४२ हजार नेपालीले अनलाइनमार्फत फारम भरेका थिए भने बाँकीले फेसबुक तथा दूतावासमै आएर पनि फारम भरेका थिए । 

दूतावासले बुधबार एक सूचना जारी गर्दै फारम भरेकामध्ये अहिलेसम्म ८२ वटा उडानबाट १३ हजार ७ सय ८५  जना नेपाल फर्किएको जनाएको छ ।

तर पछिल्लो समय यूएईको अवस्था सामान्य हुँदै गएको र नेपालमा कोरोनाको सङ्क्रमण बढेकाले पहिले घर फर्किन चाहनेहरु पनि अहिले नफर्किने निर्णयमा पुगेको दूतावासको भनाइ छ ।


 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया