कोरोनाका  कारण  नेपाल बाहिर  २ सय ४४  नेपालीको ज्यान गयो, विश्वभर १ लाख बढी नेपाली सङ्क्रमित

 असोज ८, २०७७ बिहिबार १८:२०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाका कारण विश्वका विभिन्न देशमा रहेका दुई सय ४४ नेपालीको ज्यान गएको छ । कोरोना  सङ्क्रमणबाट यो हप्ता अमेरिकामा थप एक जनाको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

यो सँगै गएको शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताउनुभयो । स्वास्थ्य समितिका अनुसार यो हप्ता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ सङ्क्रमण देखा परेको छ । 

समितिका अनुसार अहिलेसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यस्तै अमेरिका, बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् । 

एनआरएनएको तथ्यांकअनुसार  विश्वभर १ लाख ८ सय ३१ जना नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् ।  

६९ हजार २ सय ८९ जनाको उद्धार

कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरेको जनाएको छ ।

अहिलेसम्म  एनआरएनएले कोरोना महामारीका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीयलाई स्वास्थ्य समाग्रीदेखि खाद्यान्नसम्म   सहयोग गरेको छ ।  संघका कोसाध्यक्ष महेश श्रेष्ठका अनुसार कोरोनाबाट बिभिन्न देशमा प्रभावित नेपालीहरुलाई राहत वितरणको कार्य निरन्तर भइरहेको छ ।

गएको हप्ता   कुवेत र यूएईमा  रहेका गर्भवती र बालबालिकाहरुलाई  राहत वितरण गरेको संघले जनाएको छ ।  त्यस्तै संघले कतार च्यारिटी र कतार रेडक्रसको सहकार्यमा  करिब ७ हजार २ सय फुड प्याकेजहरु बाँडिएको श्रेष्ठले बताउनुभयो  । एनआरएनएले यसअघि नेपाल सरकारलाई पनि करिब २ करोड २० लाखको स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
 

तपाईको प्रतिक्रिया