यूएई : आजदेखि निजी संस्थामा कार्यरत महिलाको पारिश्रमिक पनि पुरुष बराबर हुने

 असोज ९, २०७७ शुक्रबार १३:१८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईको निजी क्षेत्रमा काम गर्ने महिलाको पनि अब पुरुषको सरह पारिश्रमिक हुने भएको छ ।

यूएईले ल्याएको नयाँ कानुन लागू भएसँगै यूएईमा आजदेखि निजी संस्थामा कार्यरत महिला कर्मचारीको पारिश्रमिक पनि पुरुष कर्मचारीको बराबर भएको हो। राष्ट्राध्यक्ष शेख खलिफा बिन जायदले जारी गर्नुभएको २०२० को संघीय कानुन नम्बर ६ अन्तर्गत पहिलो धारामा एउटै कम्पनीमा, एकटै ओहोदामा कार्यरत महिला पुरुषको पारिश्रमिक बराबर हुने उल्लेख गरिएको छ ।

नयाँ कानुनले श्रम सम्बन्धमा १९८० मा जारी भएको ८ नम्बर कानुनको ३२ औं धारा परिमार्जन गरेको हो । यस नीतिले महिला सशक्तिकरण गर्दै महिला प्रतिभालाई निजी क्षेत्रमा प्रवेश गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको स्थानीय पत्रिका खलिज टाइमले लेखेको छ ।

पछिल्लो समय यूएईमा महिला अधिकारको पक्षमा विभिन्न कानुनहरु परिमार्जन हुँदै आएका छन् । यूएईले गएका केही वर्षमा कार्यस्थलमा हुने विविधता र लैंगिक समानतालाई समर्थन गर्न ठूलो कदम चालेको छ ।

तपाईको प्रतिक्रिया