यूएईमा कोरोनाको परीक्षण खोप लगाएपछि आत्मविश्वास बढेको छ

 असोज ९, २०७७ शुक्रबार १५:६:४५ | मेरो कथा मेरो भोगाई

भेषराज ढकाल/हाल यूएई ।

अहिले संसारले प्रतिक्षा गरिरहेको एउटै कुरो हो ‘कोरोना विरुद्धको खोप ।’

संसार लागि परेको छ खोप पत्ता लगाउन । केही देशहरुले बनाएर त्यसलाई परीक्षण गरिरहेका छन् । मानिसमा पनि खोपको परीक्षण भइरहेको छ । त्यसमध्येमा एक म पनि हुँ । 

कोरोना चीनबाट फैलिएर संसारका विभिन्न देशमा पुग्दाको त्रास, अनि आफैं सङ्क्रमित हुँदाको क्षण दुवै भोगें । कोरोनालाई जितेपछि खोप परीक्षणमा सहभागी भएर दुई डोज खोप लगाएँ । अहिले भने अलि ढुक्क महसुस भएको छ । 

परदेशी भूमि यूएईमा पाइला परेको १९ वर्ष भएछ । म यूएईको आबुधाबीमा ख्यातीप्राप्त हस्पिटल अल अहलियामा पर्चेज डिपार्टमेन्टमा काम गर्छु ।

१९ वर्षदेखि यूएईको घामपानी सहेर होला मलाई यहाँको परिवेश, वातावरण, रहनसहनका साथै यहाँ कार्यरत नेपालीको हरेक गतिविधिबारे जानकारी छ । म आफैं पनि यहाँ सामाजिक काममा संलग्न हुन्छ । तर यी १९ वर्षमा योपालि जस्तो कहिल्यै अनुभव गरिएन, जुन यो कोरोना महामारी आएपछि भयो । 

कोरोना चीनबाट फैलिएर संसारका विभिन्न देशमा पुग्दाको त्रास, अनि आफैं सङ्क्रमित हुँदाको क्षण दुवै भोगें । कोरोनालाई जितेपछि खोप परीक्षणमा सहभागी भएर दुई डोज खोप लगाएँ ।

मार्च महिनाको मध्यदेखि यूएईमा पनि कोरोनाको प्रभाव पर्न थाल्यो । सुरुसुरुमा डर थियो । के होला भन्ने धेरैमा अत्यास थियो । यसको प्रभाव पनि नसोचेकै भयो । यसको प्रभाव यूएईमा कार्यरत धेरै नेपालीमा पर्‍यो । 

म पनि यस महामारीबाट अछुतो रहन सकिनँ । कोरोना भाइरसको प्रवेश मेरो शरीरमा कहिले, कसरी प्रवेश ग र्‍यो भन्ने मलाई हेक्का छैन । तर गएको अप्रिल १७ मा अचानक मेरो घाँटी दुख्यो । खुट्टा गलेको अनुभुति भयो । खाना खान मन लाग्न छाड्यो । जिब्रोले स्वाद थाहा पाउन छोडयो ।

मलाई जे जे भइरहेको थियो त्यो सबै कोरोनाको लक्षणसँग मिल्ने थिए । त्यसैले कोरोनाको आंशकामा म र मेरो एकजना दाइ अप्रिल २१ मा परीक्षण गराउन गयौं । रिपोर्ट नआउँदासम्म डाक्टरले सेल्फ क्वरेण्टीनमा बस्न भनेका थिए । तीन दिनपछि अप्रिल २४ मा यूएईको स्वास्थ्य विभागबाट फोन आयो । त्यही फोनपछि थाहा भयो मलाई पनि कोरोना पोजेटिभ देखियो । 

शरीरमा अन्य कमजोरी नभएकोले म आत्तिएको त थिइनँ । तर साथीभाइ र  घर परिवारलाई भने यो खबरले चिन्ता प र्‍यो । किनकी त्यो बेला अहिलेजस्तो मानिसमा कोरोनाको डर कम भएको थिएन । सबैको मनमा डरले ठूलै डेरा जमाएको थियो । 

सामाजिक अवहेलना हुने भएकोले कसैले पनि आफू कोरोना सङ्क्रमित हुँ भन्न सक्दैन थिए । तर मलाई भने खै किन हो समाजको डर लागेन । मैले आफू सङ्क्रमित भएको कुरा समाजिक सञ्जालमा राखेँ । 

अरुबाट सहानुभूति लिन खोजेको हैन । समाजले कोरोना सङ्क्रमितलाई जुन हिसाबले हर्छ त्यो भ्रम चिर्न हो । ढिलो चाँडो हो, तर कोरोना सबैलाई लाग्छ भन्ने सन्देश दिन हो । धेरैले मलाई आत्मविश्वास कायम राख्न सुझाव दिनुभयो । त्यसको १० दिनपछि पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । ४ दिनको अस्पताल बसाई, १० दिनको क्वरेण्टीन बसाइ, नियमित व्यायाम, खानपानले मैले कोरोनालाई सजलै जितेँ ।

मैले कोरोना जिते पनि यूएईमै धेरै नेपालीले कोरोनाको कारण ज्यान पनि गुमाएका छन् । अनौपचारिक खबर अनुसार ४० जनाको ज्यान गएको छ । तर यूएईमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म यूएईमा ३७ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । 

कोरोनाको कहरले धेरैको जीवनशैली फेरिएको छ । व्यापार–व्यावसायमा असर परेको छ । जागिर गुमेको छ । कोरोनाले थुप्रै कुरा सिकाएको पनि छ । 

कोरोनालाई जिते पनि यसको प्रभाव र फैलावट अन्त्य नभएकोले पुनः सङ्क्रमित हुने सम्भावना अहिले पनि छ ।  कोरोना विरुद्धको भ्याक्सिन पत्ता लगाउन संसारका शक्तिशाली राष्ट्रहरु लागि परेका छन् ।

चीनले पनि यसमा केही सकारात्मक पहल गरेको छ । यूएईले आफ्नो देशलाई कोरोनामुक्त बनाउन कुनै कसर बाँकी राखेको छैन । कोरोना प्रभावितको उपचार, परीक्षण र सचेतना अभिवृद्धिमा यूएई अग्रपंक्तिमा देखिन्छ । 

यूएईले कोरोना विरुद्धको एक भ्याक्सिनको परीक्षण गरिसकेको छ । मैले पनि गएको अगष्ट १६ मा कोरोनाविरुद्धको भ्याक्सिन लगाएँ । यो खोपको उत्पादन चीनमै भएको भनिएको छ । यूएईका स्वास्थ्यमन्त्रीले पनि यो खोप लगाएको भन्ने जानकारी बाहिर मिडियामा आएको छ । 

यो खोप यहाँका स्थानीय नागरिकदेखि नेपाली लगायत अन्य देशका गरी ३१ हजार जनामा तेस्रो चरणकोे स्वेच्छिक क्लिनिकल ट्रायल गरिएको छ । 

यो खोपको दोस्रो डोज लिएको दोस्रो र चौथौ सातामा रगत परीक्षण गरेर मानब बडीमा एन्टी बडी, इम्युनिटी पावर परीक्षण गरिन्छ र मेरो शरिरमा एन्टी बडी र ईम्युन पावर स्ट्रोङ रहेको रिपोर्ट दिइएको छ । 

यो खोप पहिलो डोज लगाएको २१ दिनको फरकमा दोस्रो डोज दिने रहेछ । मैले यसका दुवै डोज लिइसकेको छु । मलाई यसको कुनै नकारात्मक असर परेको छैन । झन् आत्मविश्वास बढेको छ । यो खोप लाएको ५० दिनसम्म यूएईबाट बाहिर यात्रा नगर्न  निर्देशन जारी भएको छ ।

यो खोपको दोस्रो डोज लिएको दोस्रो र चौथौ सातामा रगत परीक्षण गरेर मानब बडीमा एन्टी बडी, इम्युनिटी पावर परीक्षण गरिन्छ र मेरो शरिरमा एन्टी बडी र ईम्युन पावर स्ट्रोङ रहेको रिपोर्ट दिइएको छ । 

यो खोप लगाउने सबैलाई यूएई सरकारले १ वर्षसम्म स्वास्थ बीमा निःशुल्क गरिदिएको छ । यूएईको सरकारी अस्पताल सेख जायद मेडिकल सेन्टरले एक वर्षसम्म भोल्न्टियरका रूपमा फलोअप गर्दै  स्वास्थ्यमा समस्या आए उपचारमा निःशुल्क गर्नेछ र केही जनचेतना अभिवृद्धि गर्ने काम गराउनेछ । 

अबुधाबीको मुसाफा  रोडमा रहेको एक्जिविसन हलमा खोप सेन्टर स्थापना गरिएको थियो । ३१ हजार जनामा झण्डै ५ सय जति नेपालीले यो खोप निःशुल्क लगाएको मेरो अनुभव छ । उल्लेख्य मात्रामा बिभिन्न क्षेत्रमा काम गर्ने नेपालीहरु खोप सेन्टरमा उपस्थित भएको मैले देखेको छु । 

कोहीमा नकारात्मक असर परेको आजका दिनसम्म सुनिएको छैन । यूएईमा अहिले यो खोप फ्रन्टलाईनमा काम गर्नेलाई निःशुल्क लगाउन यहाँको स्वास्थ्य विभागले निर्देशन दिएको छ । मैले अहिलेसम्म ११ पटक कोरोनाको पीसीआर टेष्ट गरेको छु ।

सुरुका २ रिपोर्ट पोजेटिभ आए पनि बाँकी ९ रिपोर्ट नेगेटिभ नै आएको छ । त्यसैले अहिले म ढुक्क छु, अब कोरोनाले मलाई छुन सक्दैन भन्ने आत्मविश्वास पनि बढेको छ ।

1 Comments

  • Khem Gurung

    Sept. 25, 2020, 7:25 p.m.

    खबर पढ्दा धेरै खुशी लाग्यो , म पनि एकपटक संक्रमितको लिस्टमा थिएँ , अहिले सामान्य छु /

तपाईको प्रतिक्रिया