विदेशबाट भन्दा पनि काठमाण्डौबाट गाउँ भित्रिनेसँग बढी सचेत छन् गाउँले, छैन विभेद

 कात्तिक ९, २०७७ आइतबार १५:३४:३ | सुजता सुनुवार

इलाम – चाडबाडको समय छ । तर यस वर्षको चाडबाडको भने त्यति रौनक छैन । गाउँ सुनसान छ । फाट्टफुट्ट मानिसहरु भेटिन्छन् । उनीहरु पनि दशैँको योजनाबारे भन्दा पनि कोरोनाको जोखिमबारे गफ गरिरहेका हुन्छन् । 

‘विदेशबाट आउनेसँग भन्दा पनि काठमाण्डौबाट आउनेसँग सचेत हुने समय भयो’, स्थानीय अनिल तामाङ्ले भन्नुभयो, ‘विदेशमा पो कम छ, काठमाण्डौमा त झन् धेरै फैलिसक्यो कोरोना ।’

विदेशबाट आएकासँग कोरोना परीक्षणको रिपोर्ट हातमा हुन्छ । स्थानीय तहको क्वरेण्टीनमा बसेर प्रक्रिया पुरा गरेर आउँछन् । तर काठमाण्डौबाट गाउँ प्रवेश गर्नेसँग न रिपोर्ट हातमा छ । न त क्वरेण्टीनको बसाइ नै । यस कारण पनि जोखिम बढेर गएको गाउँलेहरु तर्क गर्छन् । 

अध्ययन र कामका लागि लामो समयसम्म घर बाहिर रहेकाहरु गाउँ भित्रिने क्रम जारी छ । इलामको रोङ्ग गाउँपालिकाको वडा नम्बर ६ मा मात्रै हप्तामा पाँच जनासम्म भारतबाट नेपाल आउनेहरु भेटिन्छन् । यात्रा सहज नभए पनि परिवारसँग छुट्टिएर चाडबाड मनाउने मन कसैलाई हुँदैन । काठमाण्डौबाट घर आउँदा मनभरि डर छ । गाउँकाले के भन्लान् भन्ने ? तर परिवारसँग टाढा रहने मन नभएपछि कर्मचारी, विद्यार्थी आ–आफ्ना घर आइरहेका छन् । 

पहिलेको जस्तो विभेद छैन गाउँमा

विदेशबाट तथा बाहिर जिल्लाबाट गाउँ आउनेहरुलाई कोरोना महामारीको सुरुताका गाउँमा हेर्ने दृष्टिकोण नै फरक थियो । कोरोना लिएर आयो भन्दै विभेदको नजरले हेर्थे । तर अहिले गाउँमा यो विषयमा निकै परिवर्तन आएको छ । गाउँमा अहिले जनचेतना बढेको छ । कोरोना महामारी सुरु हुँदै गर्दा जस्तो भेट्नै हुँदैन, विभेद नै गर्नुपर्छ भन्नेहरु अहिले बुझ्ने भएका छन् । 

‘सचेत बने कोरोनाबाट बच्न सकिन्छ, सचेत हुँदाहुँदै सङ्क्रमण भइहाले पनि बाँच्न सकिन्छ भन्ने ज्ञान सबैमा छ’, रोङ्ग गाउँपालिकाका प्रवक्ता तथा वडानम्बर ६ का वडाध्यक्ष सुवास तामाङ् भन्नुहुन्छ, ‘यसले गर्दा अहिले गाउँ फर्किनेहरुलाई कसैले विभेद गर्दैनन्, नागरिक सचेत बन्न थालेका छन् ।’

उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौमा बस्दै आउनुभएकी माया राई दशैँमा घर फर्किनुभएको छ । उहाँ सङ्क्रमण क्षेत्रबाट आएको भनेर कतै गाउँमा प्रवेश गर्न समस्या हुने पो हो कि भनेर चिन्तित हुनुहुन्थ्यो तर त्यस्तो भएन । 
‘गाउँमा विभेद भएन, हामी आफै होम क्वरेण्टीनमा बस्यौँ’, उहाँले भन्नुभयो । चाडबाडमा गाउँ प्रवेश गर्नेलाई पहिलेजस्तो  विभेद नभएको बताउनुहुन्छ, समाजसेवी हेमन सुनुवार ।

‘संक्रमण फैलन नदिनको लागि सर्तकता भने अपनाइएको छ, तर छिछी र दूरदूर छैन’, उहाँले भन्नुभयो । 

यस्तै कोरोना सुरु हुँदै गर्दा मलेसियाबाट नेपाल फर्किनुभएका इन्द्रमणि निरौलालाई पनि अहिले गरिने व्यवहारमा फरक आएको अनुभव छ । 

‘सुरुमा गाउँमा रहन त्यति सजिलो थिएन, तर अहिले गाउँ आउनेहरुलाई निकै सहज भएको छ’, उहाँले भन्नुभयो ।

यस पटकको दशैँमा विगत झै विदेशबाट आएको भन्नसाथ के ल्यायो भनेर झुम्मिने चलन हटेको छ । फोनसम्पर्कको माध्यमबाट शुभकामना आदान प्रदान हुने क्रम बढेर गएको छ । 

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया