वैदेशिक रोजगारीमा जानेहरुलाई म्यानपावरको आधिकारिक बैंक खातामा मात्रै पैसा जम्मा गर्न विभागको आग्रह

 पुस २३, २०७७ बिहिबार ११:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै जम्मा गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । 

पछि आवश्क पर्दा आफूले कति रकम बुझाएँ भन्ने प्रमाण नहुँदा श्रमिक स्वयमलाई समस्या हुने गरेको भन्दै आधिकारिक खातामा मात्र पैसा जम्मा गर्न र पैसा बुझाएको भौचर वा रसिद आफैसँग राख्न विभागले आग्रह गरेको हो ।

यस्तै विभागले वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई अन्तर्वार्ता छनौट भएपछि मात्र म्यानपावर कम्पनीलाई आफ्नो सक्कली राहदानी बुझाउन पनि आग्रह गरेको छ । अन्तर्वार्तामा छनोट नभइ आफ्नो सक्कली राहदानी लगायत कागजात नबुझाउन र चाहिएकै खण्डमा प्रतिलिपी बुझाउन विभागले आग्रह गरेको हो ।

इजाजतप्राप्त म्यानपावर कम्पनीलाई पनि श्रमिकहरुबाट लिने रकम संस्थाको बैंक खातामार्फत गराउन निर्देशन दिएको छ । यस्तै छनौट भएका श्रमिकबाहेक अरुको सक्कल राहदानी तथा कागजातको सक्कल प्रतिलिपि राख्ने काम नगर्न विभागलाई सूचीत गरेको छ ।

वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आफू कुन देश जान लागेको र के काम हो भन्ने कुराको राम्रोसँग जानकारी लिएर तथा कसैको प्रलोभनमा नपरेर जान विभागले आग्रह गरेको छ ।  
 

तपाईको प्रतिक्रिया