महामारीमा परदेशमा अलपत्र झण्डै ७ हजार श्रमिकलाई पीएनसीसीको साथ

 माघ ६, २०७७ मंगलबार १५:३०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीको कारण परदेशमा समस्यामा परेका झण्डै ७ हजार श्रमिकलाई प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सहयोग गरेको छ ।

२० जनालाई हवाई टिकट र २ सय ८३ जनालाई खाद्यान्न सहयोग उपलब्ध गराएको पीएनसीसीले जनाएको छ । मलेसिया र यूएईमा अस्थायी सेल्टर चलाएर कम्पनीबाट जबर्जस्ती निकालिएका नेपाली श्रमिकलाई आवास सुविधा पनि उपलब्ध गराइएको पीएनसीसीले उल्लेख गरेको छ ।

कोरोना महामारी सुरु भएपछिका पाँच महिनामा मात्रै स्वयमसेवक परिचालन गरी श्रमिकका समस्या समाधानका लागि सहजीकरण गर्ने, अलपत्र परेकालाई आवास, खाद्यान्न तथा स्वदेश फिर्तीका लागि निःशुल्क हवाइ टिकटकोसमेत व्यवस्था गरिएको पीएनसीसीले जनाएको छ ।

एनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीका अनुसार यो अवधिमा मात्रै ६ हजार ८ सय २७ जना श्रमिकलाई घर फिर्ती, निःशुल्क हवाई टिकट, अस्थायी सेल्टर तथा खाद्यान्न सहयोग, कानुनी सहयोग, औषधि उपचार लगायतमा सहयोग गरिएको छ ।

खाडीका देश कतार, यूएई र साउदी र मलेसियामा कार्यरत नेपाली श्रमिकले कोरोना महामारीको समयमा भोगेका समस्या समाधानका लागि पीएनसीसीले ३२ जना स्वयमसेवक खटाएको थियो । महामारीको समयमा खटिएका ३२ जना स्वयमसेवकलाई पीएनसीसीले माघ २ गते बिदाई कार्यक्रमसमेत आयोजना गरेको थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको सहयोगमा गएको अगष्टदेखि डिसेम्बरसम्मको ५ महिनाको अवधिमा परिचालित स्वयमसेवकले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सम्बन्धित देशको नेपाली दूतावास, एनआरएनए र अन्य नेपाली संघसंस्थाहरुको सहकार्यमा कोरोनाबाट प्रभावित नेपाली श्रमिकहरुलाई फारम भर्नेदेखि, जेलबाट निकाली स्वदेश फर्काउने, हवाई टिकट उपलब्ध गराउने, तलब सुबिधा उपलब्ध गराउन सहजीकरण तथा समन्वय गर्ने लगायतको काम गरेकोे पीएनसीसीकी परियोजना संयोजक एकता शर्माले जानकारी दिनुभयो ।

संयोजक शर्माका अनुसार यो अवधिमा मलेसियामा २ हजार ३ सय २२, साउदी अरबमा १ हजार ८ सय ४१, कतारमा १ हजार ४ सय ४० र यूएईमा १ हजार २ सय २४ जनालाई प्रत्यक्ष रुपमा सहजीकरण गरिएको छ । जसमध्ये ६ हजार ३ सय ४६ जना पुरुष श्रमिक र ४ सय ८३ जना महिला महिला श्रमिक रहेका छन् ।

स्वदेश फर्काउन र विदेशमै काम दिलाउने प्रयास

पीएनसीसीले कोरोना प्रभावित नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि मात्र होइन गन्तव्य देशमै पनि काम दिलाउन सहजीकरण गरेको जनाएको छ । गन्तव्य देशमै रहेका स्वयमसेवकले ४ देशबाट १ हजार ७ सय ४९ जनालाई नेपाल फर्कन र २ सय ९६ जनालाई सम्बन्धित देशमै नयाँ काम दिलाउन समन्वय तथा सहजीकरण गरेको परियोजना संयोजक शर्माले जानकारी दिनुभयो ।

यस्तै, २ सय २७ जनाको रोकिएको तलब सम्बन्धित कम्पनीबाट उपलब्ध गराउन समन्वय गरिएको छ भने २७ जना श्रमिकको ओभरटाइम काम गरेको रकमसमेत सम्बन्धित कम्पनीबाट उपलब्ध गराउन समन्वय गरेका छन् ।

२० जनालाई निःशुल्क हवाई टिकट

कोरोना भाइरसको कारण विदेशमा अलपत्र २० जना नेपालीहरुलाई पीएनसीसीले निःशुल्क हवाई टिकट उपलब्ध गराएको छ ।

मलेसिया, साउदी अरब, कतार र यूएईमा अति नै समस्यामा परेका कामबिहीन नेपाली श्रमिक, कम्पनीबाट भागेका, कम्पनी बन्द भएका र कागजातबिहीन श्रमिकलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएको पीएनसीसीका अध्यक्ष कार्कीले बताउनुभयो ।

स्वयमसेवकहरुले २८ जना नेपालीहरुलाई सस्तोमा हवाई टिकट उपलब्ध गराउन सहजीकरण गरेका छन् । यस्तै १५६ जना श्रमिकलाई एक्जिट भिसाका लागि पनि सहजीकरण गरिएको छ भने कतिपय श्रमिकलाई निःशुल्क पीसीआर परीक्षणका लागि पनि पीएनसीसीले समन्वय गरिएको जनाएको छ ।

शव व्यवस्थापन र बिरामी श्रमिकको रेखदेख

कोरोना महामारीका कारण जहाजहरू बन्द हुँदा विदेशमा समस्यामा परेका श्रमिकसँगै ज्यान गुमाएका श्रमिकको शवसमेत अड्कियो । यसरी महामारीको समयमा परदेशमै अड्किएका ३३ शव स्वदेश फिर्तीका लागि पनि पीएनसीसीले आफ्ना स्वयमसेवकमार्फत सहजीकरण गरेको छ ।

स्वयमसेवकले कठिन समयमा पनि मृतकको बारेमा जानकारी लिने, दूतावास तथा परिवारलाई खबर गर्ने, कागजात सङ्कलन गर्ने लगायतका काम गरेका थिए । स्वयमसेवककै सहयोग र समन्वयमा ६ जना श्रमिकको गन्तव्य देशमै अन्तिम संस्कारसमेत गरिएको छ ।

यस्तै महामारीको समयमा चार देशमा खटिएका स्वयमसेवकले अन्य रोग वा दुर्घटनामा परी अस्पतालमा उपचाररत ३९ जना नेपालीलाई अस्पतालमै पुगेर खबर लिने र आवश्यक परेको सहयोगसमेत गरेको पीएनसीसीले जनाएको छ ।

महामारीको समयमा जेलमा रहेका नेपालीको अवस्था बुझ्ने र उनीहरुलाई जेलमुक्त गराउनसमेत यसरी खटिएका स्वयमसेवकले सहजीकरण गरेका छन् । जसको फलस्वरुप पाँच महिनाको अवधिमा मात्रै चार देशबाट २९ जना नेपाली जेलमुक्त भएर नेपाल फर्किएका छन् ।

समस्यामा परेर स्वदेश फर्किएका ८३ जना श्रमिकलाई पीएनसीसीले काठमाण्डौदेखि घर जना यातायात खर्च समेत सहयोग गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया