वैदेशिक रोजगारी : कमाउने सपनासँगै सीप पनि बोकेर गए परदेशमा दुःख हुँदैन

 फागुन ७, २०७७ शुक्रबार १५:३८:५१ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – भन्छन्, हातमा सीप भए भोकै मर्नु पर्दैन । डोटीका नरेश बोहाेराको भोगाईले पनि यही भन्छ । 

एक पटक वैदेशिक रोजगारीमा गएर फर्किनुभएका नरेशले विदेशमा सीपको महत्व बुझ्नुभयो । सीप नसिकी विदेश जाँदा आफूले पाएको दुःख फेरि पाउनु नपरोस् भनेर अहिले उहाँ स्काफोल्डिङको तालिम लिइरहनुभएको छ ।

कोरोना महामारीको कारण लामो समयसम्म वैदेशिक रोजगारी ठप्प भयो । देशमा भएका मात्र होइन विदेशमा भएकाहरू पनि कोठामै थुनिन पर्‍यो । तर अहिले परिस्थिति केही सहज हुँदै गएको छ । मानिसहरू रोजगारीका लागि विदेश उड्न थालेका छन् । अनि विदेश जाने योजना बनाउनेहरू चाहिँ सीप सिक्न तालिम केन्द्रतिर । त्यसैले त सीप तालिम केन्द्रहरूमा पनि चहलपहल बढ्न थालेको छ ।

सीप सिक्नेहरूको भिडले काठमाण्डौको मनमैजूमा रहेको बीसीटीसी ट्रेनिङ सेन्टर पनि भरिभराउ छ । २५/२६ जनाको समूह । सबैको टाउकोमा हेल्मेट छ । अनुहारमा फेस सिल्ड र मुखमा मास्क लगाएका छन् । हातमा पञ्जा र खुट्टामा सेफ्टी बुट लगाएर फलामका डण्डीमा नटबोल्ट कसिरहेका छन् । सँगै फलामका डण्डीहरु जोडेर खट निर्माण पनि गरिएका छन् । सबै जना स्काफोल्डिङको काम सिक्नमा व्यस्त छन् । सबैको अनुहारमा एक प्रकारको उत्साह देखिन्छ । त्यही सेन्टरमा सीप सिक्नेहरूको भिडमा हुनुहुन्छ डोटीका नरेश बोहोरा पनि ।

‘सीप नसिकी विदेश जाँदा धेरै दुःख पाइँदो रहेछ, त्यसैले सीप सिक्न आएको’, अनुहारमा लगाएको फेस सिल्ड खोल्दै नरेश भन्नुहुन्छ, ‘नेपालमै फ्रीमा सीप सिक्न पाइन्छ भने किन नसिक्ने, किन सीप नसिकी विदेशमा गएर दुःख भोग्ने ?’ 

विदेशमा ठुलठूला भवनहरु निर्माण गर्दा स्काफोल्डिङको ज्ञान हुनुपर्छ । सीप नहुँदा कल्पनै नगरेका दुःख र सङ्घर्ष भोग्नपर्छ । नरेशले पनि त्यो दुःखको अनुभव गर्नुभएको छ । दुई वर्षअघि नरेश निर्माणकै काममा मलेसिया जानुभएको थियो । तर त्यो बेला हातमा सीप थिएन । काम नजान्दा विभिन्न अप्ठेराहरू झेल्न पर्‍यो । 

त्यही बेला उहाँले सीपको महत्त्व बुझ्नुभयो । हातमा सीप नहुँदाको दुःखले नै उहाँ सीप सिकेर फेरि रोजगारीमा जाने अठोट लिएर १४ महिनामै घर फर्कनुभयो । तर कोरोनाले गर्दा चारैतिर बन्द भयो । उहाँ विदेश जान पाउनुभएन । अहिले अवस्था केही सहज भएसँगै उहाँ सीप सिक्नकै लागि डोटीबाट काठमाण्डौ आउनुभएको छ । सीप सिकेर विदेश जाने उहाँको सोच छ ।

‘अब सीप सिकेर यतैबाट विदेश जान्छु, उता पनि यही काम गर्ने हो’, ‘उहाँले आशातित् स्वरमा भन्नुभयो, ‘सीप सिकेर गएपछि पहिलेको जस्तो दुःख नहोला ।’

वैदेशिक रोजगारीमा निर्माणको काममा जाने नेपाली श्रमिकहरू त्यहाँ स–साना घर निर्माण गर्न जाने होइनन् । ठुलठूला अपार्टमेन्ट र व्यापारिक भवन निर्माणमा जाने हुन् । त्यसको लागि स्काफोल्डिङको काम जानेको हुनुपर्छ । उता गर्ने काम यतैबाट सिकेर गएपछि सजिलो हुने र एक काम भनेर अर्को काममा लगाउने जस्ता ठगी भोग्नु पर्दैन । धादिङका अनीश बस्नेतलाई यो कुरा वैदेशिक रोजगारीमा रहेका उनका साथीले बताए । त्यसपछि अनीश पनि सीप तालिम केन्द्र खोज्दै काठमाण्डौ आइपुग्नुभयो ।

‘मेरो साथी पनि यहीँबाट तालिम सिकेर गएको थियो, अहिले राम्रो छ, काम गर्न सजिलो छ भन्छ’, अनीशले भन्नुभयो, ‘विदेश आउनेभए सीप सिकेरै आइज भनेर उसैले भनेको हो, त्यसैले म सीप सिक्न आएको ।’

महिलाहरू गार्मेन्टको सीप सिक्न व्यस्त

पुरुष हुन् या महिला, वैदेशिक रोजगारीमा जाने हो भने केही न केही सीप सिकेरै जानुपर्छ । आफू पारङ्गत भएको क्षेत्रमा काम गर्न जाँदा सजिलो हुन्छ । अनावश्यक दुःख खेप्नु पर्दैन । कमाइ पनि राम्रै हुन्छ । निर्माण लगायत ‘फिजिकल इफोर्ट’ बढी लाग्ने क्षेत्रमा पुरुषहरू बढी जाने गरे पनि गार्मेन्ट, ब्युटी पार्लर, हाउस किपिङ, गार्डेनिङ लगायतका क्षेत्रमा महिलाहरुको आकर्षण बढी देखिन्छ ।

सिन्धुपाल्चोककी सरिता भुजेल गार्मेन्ट सिकेर वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ । यही सोच लिएर उहाँ ललितपुरमा रहको एफ स्किल ट्रेनिङ सेन्टरमा पुग्नुभएको छ ।

सेन्टरमा सरिता लगायत २५/२६ जनाको समूह छ । एउटा हलमा सबै जना सिलाई मेसिनमा धागो दौडाइरहेका छन् । कोही कपडा सिलाउँदैछन्, कोही कपडामा नयाँ बुट्टा भर्दैछन् । तालिम लिन नयाँ आएकाहरु कागजमा सिलाइ सिकेर मेसिनको बानी पार्दैछन् ।

त्यही हलको अगाडिको बेन्चमा बसेर पाइन्टको खल्ती बनाउन सिक्दै हुनुहुन्छ, सरिता । आफूले वैदेशिक रोजगारीमा जाने नै भन्ने सोचेपछि केही न केही सीप सिकेरै जानुपर्छ भनेर उहाँ काठमाण्डौ आउनुभयो । यहाँ आएपछि सीप केन्द्र खोज्दै जाँदा उहाँकै साथीको सल्लाहमा एफ स्किलमा पुगेको उहाँ बताउनुहुन्छ । सरिताले गार्मेन्टको तालिम लिन थाल्नुभएको १५ दिन भयो । अहिले उहाँले धेरै कुरा सिकिसक्नुभयो । यति सिकेर विदेश जाँदा काम गर्न सजिलो हुनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

‘यहाँ सिक्ने वातावरण एकदमै राम्रो छ, सजिलै सिक्न सकिन्छ’, उहाँले खुसी हुँदै भन्नुभयो, ‘यति सिकेर विदेश गएपछि गार्मेन्ट क्षेत्रमा जस्तो काम पनि पाइहालिन्छ नि ।’ 

सरिता जस्तै ज्योति रोकायालाई पनि सीप सिक्ने रहरले दौडाएर बुटवलबाट ललितपुरसम्म पुर्‍यायो । अहिले उहाँ पनि एफ स्किलमै गार्मेन्टको काम सिक्दै हुनुहुन्छ । १२ कक्षा पढ्दै गर्नुभएकी ज्योति विदेश जाने सोचमा हुनुहुन्छ । ट्रेनिङ सेन्टरले नै खान बस्न देखि सीप सिकाएर निःशुल्क विदेश पठाउने भन्ने थाहा पाएपछि उहाँ यतै आइपुग्नुभएको हो ।

‘आफूसँग सीप नभएपछि एउटा काम भनेर अर्कोमा पठाइदिन्छन्, यहाँबाट सीप सिकेर गएपछि त ढुक्कै भयो नि’, उहाँले उत्साहित हुँदै भन्नुभयो । एफ स्किल सेन्टरबाट गार्मेन्ट सिकेका महिलालाई वैदेशिक रोजगारीको लागि निःशुल्क जोर्डन पठाइन्छ । श्रमिकले एक रुपैयाँ पनि लगानी गर्नुपर्दैन । 

सामीको साथ

गार्मेन्ट र स्काफोल्डिङबाहेक नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले डकर्मी, पलम्बिङ, सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन लगायतका क्षेत्रमा निःशुल्क तालिम दिने गर्छ । 

१९ देखि ३५ वर्ष उमेर समूहका पुरुष र १९ देखि ३० वर्ष उमेर समूहका महिला तालिममा सहभागी हुन सक्छन् । यस्तै सामान्य लेखपढ गर्न जान्ने देखि १० कक्षासम्मको शैक्षिक योग्यता तोकिएको छ । काठमाण्डौ धनुषा र झापाका विभिन्न ठाउँमा तालिम सञ्चालन गरिन्छन् । 

वैदेशिक रोजगारीमा जानेहरूलाई त्यहाँ दुःख नहोस् र श्रमिकमा पनि सीप सिकेर विदेश जाने बानीको विकास होस् भनेर सामीले सीपमूलक तालिम दिँदै आएको हो । आर्थिक वर्ष २०७०/७१ देखि अहिलेसम्म ७ हजार भन्दा बढीलाई तालिम दिइएको र त्यसमध्ये ७५ प्रतिशत वैदेशिक रोजगारीमा गएको सामीले जनाएको छ । 

सीप तालिमले गन्तव्य देशमा रोजगारीको लागि क्षमता अभिवृद्धि गर्नु र कार्यस्थल सुरक्षामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ, सामीको इन्फर्मेशन एण्ड नलेज म्यानेजमेन्ट अफिसर सङ्गीता रिजाल ।

‘धेरै नेपाली श्रमिकले आफू जान लागेको क्षेत्रको सामान्य ज्ञान पनि नहुँदा विदेशमा दुःख भोग्ने गरेका छन्, त्यस्तो नहोस् भनेर नै हामीले सीप तालिमहरू सञ्चालनमा ल्याएका हौँ’, सङ्गीता रिजालले भन्नुभयो, ‘सीप सिकेर गएकाहरू समस्यामा परेको तथा दुःख पाएको भन्ने सुनिँदैन । हामीले उहाँलाई सीपसँगै विदेशमा गरिने व्यवहारका कुराहरू पनि सिकाउँछौँ ।’

 

सामीले प्रदान गर्ने निःशुल्क सीप सिक्नका लागि ९८४०२४८०३४ नम्बरमा फोन गरेर बुझ्न सकिन्छ । 

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया