‘जसरी चरी लडेर मर्दैन, सीप सिकेपछि मान्छे भोको मर्दैन’

 फागुन १५, २०७७ शनिबार १२:५१:४७ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – शिक्षण पेशा छाडेर कुनैबेला वैदेशिक रोजगारीमा जानुभएका प्रकाशबहादुर बोगटी अहिले पनि शिक्षक नै हुनुहुन्छ, तर विद्यालयमा भने होइन ।

काठमाण्डौको मनमैजूमा बीसीटीसी ट्रेनिङ सेन्टर छ । वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई त्यहाँ स्काफोल्डिङको सीप सिकाइन्छ । त्यही सेन्टरमा ट्रेनर अर्थात शिक्षक हुनुहुन्छ, बझाङको छान्नाका प्रकाश ।
समयले मान्छेलाई अनेकन यात्रा तय गर्न बाध्य बनाउँछ । प्रकाश पनि यस्तै यात्रा गर्दै यहाँसम्म आइपुग्नु भएको हो ।

दुई दशक पहिले, सन् १९९९ मा गाउँमा रोजगारीका केही अवसर नभएपछि प्रकाश धन कमाउन भारत जानुभयो । भारतमा दुई वर्ष काम गर्नुभयो । त्यहाँ काम गर्दा उहाँले पैसा त कमाउनुभयो तर आत्मसम्मान मिलेन । भारतीयले आफूलाई ‘नेपाली बादुर’ भनेर अपहेलित शैलीमा बोलाएको उहाँलाई राम्रो लागेन । त्यसपछि उहाँ काम गर्नको लागि भारत कहिल्यै नजाने भनेर गाउँ फर्किनुभयो ।

१२ कक्षासम्मको पढाइ गर्नुभएका प्रकाशले त्यहाँबाट फर्केर गाउँकै निजी विद्यालयमा शिक्षण पेशा अँगाल्नुभयो । निजी स्रोतबाट चलेको विद्यालय लामो समय टिकेन । त्योसँगै उहाँको जागिर पनि गुम्यो । तर न भारत जाने मन छ, न त गाउँघरमै रोजगारीको कुनै अवसर ।

गाउँघरमा कमै उमेरमा बिहे गरिदिने चलन छ । त्यतिबेला प्रकाश तीन छोराछोरीको बुवा बनिसक्नुभएको थियो । बढ्दै गएको घर परिवारप्रतिको  जिम्मेवारी । आफ्नै जिन्दगीको सुर समात्नुपर्ने बेला रोजगारीको लागि भौंतारिरहनुभएका प्रकाशलाई उहाँका दाइले वैदेशिक रोजगारीमा जान सल्लाह दिनुभयो ।

आजभन्दा १५ वर्ष पहिले सुदूरपश्चिम, त्यसैमा पनि बझाङबाट वैदेशिक रोजगारीमा जाने निकै कम हुन्थे । सबैको रोजाइ भारत नै हुने गर्थ्याे । तर भारतदेखि मन मारिसक्नुभएका प्रकाशलाई भने त्यतिबेला अबको विकल्प तेस्रो देश नै हो भन्ने लाग्यो । वैदेशिक रोजगारीको बारेमा खासै केही थाहा नभएका प्रकाश, दाइको सल्लाह पाउनेबित्तिकै काठमाण्डौ आउनुभयो । उहाँका दाइ-भाउजू पनि काठमाण्डौमै बस्नुहुन्थ्यो ।

‘मलाई वैदेशिक रोजगारी भन्ने केही थाहा थिएन, दाइले राम्रो कमाइ हुन्छ भन्नु भएपछि म झोला बोकेर सिधै काठमाण्डौ आएको थिएँ’, उहाँले १४ वर्ष पहिलेको त्यो क्षण सम्झिदै भन्नुभयो ।

सीप सिकेरै विदेश

वैदेशिक रोजगारी भनेपछि प्रकाशको मनमा अनेक कुरा खेल्दै थिए । आफ्नो गाउँघरका कोही पनि गएका छैनन् । त्यहाँ के काम गर्नुपर्छ, कस्तो हुन्छ ? प्रकाशसँग न आफ्नो अनुभव थियो, न त वैदेशिक रोजगारीको अनुभव बटुलेका कोही साथीभाइ नै थिए । वैदेशिक रोजगारीमा जाने कुरा एकदमै नयाँ थियो ।

तर जसरी पनि पैसा कमाउनु थियो प्रकाशलाई । देशमा रोजगारी नपाए विदेशमै भए पनि गरिन्छ भन्ने अठोट लिएर काठमाण्डौ आइसक्नुभएको थियो । काठमाण्डौ आएर उहाँले सुरुमा पासपोर्ट बनाउनेदेखि म्यानपावरमा गएर रोजगारीबारे बुझ्ने काम गर्नुभयो । 

त्यही क्रममा उहाँ त्रिपुरा म्यानपावर पुग्नुभयो । म्यानपावरले कतारमा निर्माण क्षेत्रको लागि श्रमिक चाहिएको र सीप सिकाएर मात्रै विदेश पठाउने कुरा गर्यो । त्यसपछि उहाँले काठमाण्डौको बाँसबारीमा रहेको ट्रेनिङ सेन्टरमा स्काफोल्डिङको तालिम लिनुभयो ।

‘अहिलेको जस्तो फ्रीमा सीप सिकाउने कहाँ हुन्थे र त्योबेला, हामीले त पैसा दिएर सिकेको’, उहाँले गर्वका साथ भन्नुभयो, ‘९ हजार रुपैयाँ तिरेर ४५ दिने तालिम लिएको थिएँ ।’

तालिम लिएपछि प्रकाशमा पनि आत्मविश्वास बढ्यो । यति भए त विदेशमा दुःख नपाइएला भन्ने लाग्यो । त्यसपछि म्यानपावरलाई ५२ हजार रुपैयाँ दिएर २००७ को जुनमा उहाँ कतार जानुभयो ।

सीप सिकेर जाँदा सजिलो

कतारको गर्मी । त्यसैमाथि जुन जुलाईको महिना । पहाडको हावापानीमा हुर्केका प्रकाशलाई कतारको गर्मीले सुरुसुरुमा त निकै सतायो । तर विस्तारै बानी पर्दै गयो । कतारको कतार अलकिया इन्टरनेशनल ग्रुप क्यूएआईजीमा निर्माणको क्षेत्रमा जानुभएका प्रकाश दुई वर्षमै बढुवा भएर ग्रुप लिडर बन्नुभयो । आफूले सीप सिकेर गएका कारण कम समयमा प्रगति गर्न सकेको उहाँ बताउनुहुन्छ । बढुवा भएसँगै उहाँको तलब एकजार ५० कतारी रियालबाट १५ सय रियाल भयो ।

‘ग्रुप लिडर बनेपछि चार जनालाई आफूले चलाउनुपर्ने हुन्छ । फोरम्यान सुपरभाइजरले देखाएको काम सबै हामीले नै गर्ने हो’, प्रकाशले भन्नुभयो, ‘बढुवा हुनु भनेको पैसा धेरै नभए पनि समूहमा रेस्पेक्ट हुन्छ, धेरै खट्नु पर्दैन, आराम बढी हुन्छ ।’

यसरी प्रकाशका १० वर्ष बिते । दश वर्षसम्म उहाँले स्काफोल्डिङ बनाउने काम गर्नुभयो । योबीचमा चार पटक घर आउनुभयो । 

‘सुरुमा विदेश जाँदा चार/पाँच लाख रुपैयाँ कमाएर दुईचार वर्षमै नेपाल फर्किन्छु भन्ने सोच थियो, तर त्यहाँ एकै वर्षमा त्यति कमाएपछि दुई/चार वर्ष अझै गरौँ न भन्ने हुँदो रहेछ’, प्रकाशले भन्नुभयो, ‘यही कारण कतारमा लामो समय बसियो ।’

यसरी उहाँ २०१६ को अक्टोबरमा क्यान्सिल नै हानेर कतार नजाने गरी नेपाल फर्किनुभयो । प्रकाशले कतारमा गएर आफूले सोचेभन्दा बढी कमाउनु पनि भयो । अत्तरियामा जग्गा किन्नुभयो । घर बनाउनुभयो । तीनै छोराछोरीलाई काठमाण्डौका महंगा विद्यालयमा पढाउनुभयो । सीप सिकेर गएकै कारण विदेशको रोजगारी सोचेभन्दा निकै राम्रो भएको उहाँ बताउनुहुन्छ ।

‘मान्छे देख्नमा जति हेन्सम् भए नि सीप नभएपछि उसको कुनै महत्व हुँदैन’ प्रकाश भन्नुहुन्छ, ‘जसरी चरी लडेर मर्दैन, सीप सिकेपछि मान्छे भोको मर्दैन ।’

अहिले आफै ‘ट्रेनर’

कतारबाट फर्केपछि प्रकाशका दुई वर्ष घर–व्यवहार व्यवस्थापनमै बिते । यही समयमा घर बनाउनुभयो । दश वर्षपछि घर फर्किनुभएका उहाँलाई दुई वर्ष बितेको पत्तै भएन । तर सधैँभरि यसरी केही नगरी बस्न सकिंदैन । एकपटक कमाएको पैसा सधैँभरि कहाँ रहिरहन्छ र ? प्रकाशलाई नि अब फेरि केही काम गर्नुपर्छ भन्ने लाग्यो । 

कतारमा निर्माण क्षेत्रमा दश वर्ष काम गरेको अनुभव थियो । केही न केही काम त कसो नपाइएला भन्दै उहाँ काठमाण्डौ आउनुभयो । कतारमा सँगै काम गरेका एकजना साथीले उहाँलाई स्काफोल्डिङको सीप परीक्षण गरिदिन आग्रह गर्नुभयो ।

त्यसपछि उहाँ काठमाण्डौमा रहेका विभिन्न ट्रेनिङ सेन्टरमा स्काफोल्डिङ सिकिरहेकाहरुको जाँच लिने तथा विदेशबाट स्काफोल्डिङको अनुभव बटुलेर आएकाहरुको ‘स्कील टेस्ट’ गर्ने काम गर्न थाल्नुभयो । एक वर्ष जति यसरी नै बित्यो । गएको दुई वर्षदेखि प्रकाश बीसीटीसी ट्रेनिङ सेन्टरमा ट्रेनरको रुपमा काम गर्दैआउनुभएको छ । २६ जनाको टिमलाई उहाँले सीप सिकाइरहनुभएको छ ।

आफू पनि पहिले स्काफोल्डिङ सिकेर कतार गएको र अहिले आएर विदेश जानेहरुलाई सिकाउन पाउँदा निकै खुसी लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

‘मैले ट्रेनिङ दिएर विदेश जानुभएका भाइहरुसँग कहिलेकाहीँ फेसबुकमा कुरा हुन्छ, सीप सिकेर आउँदा सजिलो भएको भन्छन्, कतिले त तलब बढेको कुरा पनि गर्छन्’, यति भनिरहँदा उहाँ निकै भावुक बन्नुहुन्छ, ‘आफू शिक्षकजस्तो भएर यसरी सिकाउन पाउँदा, आफूले सिकाएर पठाएकाहरुको खुसी देख्दा आफूलाई नि निकै गर्व लाग्दो रहेछ ।’

सीप सिकेरै जान आग्रह

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले स्काफोल्डिङ, डकर्मी, पलम्बिङ, सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन लगायतका क्षेत्रमा निःशुल्क तालिम दिने गर्छ । त्यही अन्तर्गत सञ्चालित तालिम केन्द्र बीसीटीसीमा ट्रेनरको रुपमा काम गर्नुहुन्छ प्रकाश । 

स्काफोल्डिङको सीप निर्माणका क्षेत्रमा आवश्यक हुन्छ । नेपालबाट धेरै युवाहरु निर्माणकै क्षेत्रमा जाने हुन् । यसबारे सामान्य ज्ञान पनि नहुँदा र सुरक्षाका उपाय अपनाउन नजान्दा कार्यस्थलमै दुर्घटना भएर अङ्गभङ्ग भएका, ज्यान गुमाएका धेरै छन् । त्यसैले यसबारे सम्पूर्ण काम सिकेरै जान आग्रह गर्नुहुन्छ प्रकाश ।

‘वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरु त्यहाँ ससाना घर निर्माण गर्न जाने होइनन् । ठूला ठूला अपार्टमेन्ट र व्यापारिक भवन निर्माणमा जाने हुन्’, उहाँ भन्नुहुन्छ, ‘त्यसको लागि स्काफोल्डिङको काम जानेको हुनुपर्छ, सीप सिकेर गएमा अनावश्यक जोखिम मोल्नु पर्दैन, दुर्घटना हुनबाट बचिन्छ ।’
 

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया