‘श्रीमान् विदेशमा छन् भनेर बसी बसी नखाऔँ, जे सकिन्छ काम गरौँ’

 फागुन १७, २०७७ सोमबार १६:५:४५
unn.prixa.net

काठमाण्डौ – श्रीमानले परदेशबाट कमाएर पठाउँथे । पवित्रा विक घर व्यवहार सम्हाल्नुहुन्थ्यो । श्रीमानकै कमाइले घर खर्च चलाउनु हुन्थ्यो । त्यही आफ्नो दैनिकीलाई उहाँ सुख ठान्नु हुन्थ्यो । तर अहिले पवित्राको यो सोच र दैनिकी दुवै फेरिएको छ । जब उहाँ गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बस्नुभयो तब बुझ्नुभयो जीवनको लक्ष्य घरमा बसी बसी भेटिँदैन । अनि आफू पनि पौरख गर्न थाल्नुभयो । 

१० वर्षअघि उहाँका श्रीमान् बिहान बेलुकाको छाक टार्नकै लागि खाडी हानिनुभयो । श्रीमान् परदेश लागेपछि उहाँ पनि उहाँको दैनिकी बालबच्चाको हेरचाह र घर व्यवहार सम्हाल्दैमा बित्न थाल्यो । खेतीपाती पनि छैन पवित्राको घरमा । घर बनाउँदा ऋण लाग्यो । त्यही ऋण र घर व्यवहारको खर्च धान्दै पवित्राका श्रीमानको ओमानमै १० वर्ष बितिसक्यो । 

गाउँमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई नै लक्षित गर्दै वित्तीय साक्षरता कक्षा सञ्चालन भएपछि पवित्राको दैनिकी र सोचमा परिवर्तन आयो । 

कक्षामा बसेपछि उहाँले दैनिक हुने खर्च र आफ्नो आम्दानीको लेखाजोखा गर्नुभयो । तब उहाँलाई लाग्यो श्रीमानको कमाइले मात्र अब सोचेजस्तो भविष्य बन्दैन । 

‘उहाँको कमाइले के मात्र गर्नु छोरो पढाउनु पर्‍यो, घर खर्चदेखि उपचारसम्म, आम्दानीभन्दा बढी त खर्च नै रहेछ,’ पवित्रा भन्नुहुन्छ,‘ जब आम्दानी र खर्चको हरहिसाब हुन थाल्यो तब मेरो घैँटोमा घाम लाग्यो ।’

वित्तीय साक्षरता कक्षामा बसेर आम्दानी हुने बाटोहरू पनि पहिल्याउन सिक्नुभएकी पवित्राले आफूले नै केही गर्ने योजना बनाउनुभयो । परिवारमा सल्लाह गर्नुभयो । अनि घर नजिकै सानो किराना पसल खोल्नुभयो । 

योसँगै उहाँसँग लुगा सिलाउने सीप पनि थियो । त्यही सीपको प्रयोग गर्न एउटा मेशिन पनि किन्नुभयो ।

‘लुगा सिलाउने सीप त पहिले पनि थियो, तर यो कक्षामा नबस्दासम्म म पनि केही गर्छु भन्ने नै लागेन, अहिले यो कक्षामा बसेपछि त मलाई सम्भावना त मेरै हातमा रहेछ भन्ने लाग्यो,’ आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, `श्रीमानको मात्र कमाइमा भर पर्नु मेरै गल्ती रहेछ ।’

अहिले तीन महिना भयो पवित्रा आफैँले काम सुरु गरेको । व्यवसाय राम्रोसँग चलिरहेको छ । घर खर्च चलाउन र छोराको पढाइमा लाग्ने खर्च तीन महिनादेखि आफैँ पुर्‍याइरहनुभएको छ । श्रीमानको कमाइले ऋण तिर्नुहुन्छ भने आफ्नो दैनिक खर्चको हिसाबकिताब राख्नै खर्च कम पनि गर्न थाल्नुभएको छ ।

‘यो ऋण चाहिँ तिरिसक्न पाए पसल पनि ठुलो बनाउने थिएँ भन्ने योजना बनाएको छु,’ पवित्रा आफ्नो योजना सुनाउनुहुन्छ ।

हातमा सिलाइको सीप भएर पनि श्रीमानकै कमाइको भरमा यतिका वर्ष बिताएको पछुतो लाग्छ पवित्रालाई । वित्तीय साक्षरता कक्षाले आफ्नो आँखा खाेलिदिएकोमा खुसी हुनुहुन्छ उहाँ । 

भन्नुहुन्छ,‘सीप सिकेर पनि श्रीमानकै कमाइको भरमा बस्ने म जस्ता धेरै दिदीबहिनीका लागि यो शिक्षा पुर्‍याउनु आवश्यक छ, मैलेजस्तै धेरैले अब आफूसँग भएको सीपको प्रयोग गरेर आत्मनिर्भर हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया