सरकार हामी परदेशी ढुक्कले स्वदेश फर्कने दिन कहिले आउला ?

 साउन २४, २०७८ आइतबार १७:२३:२६ | नारायण कोइराला
unn.prixa.net

संसारलाई अहिले कोरोनाले थिलथिलो बनाएको छ । कोरोनालाई परास्त पार्न सबै देशहरूले विभिन्न उपायहरू अवलम्बन गरिरहेका छन् । तर हाम्रो देशमा भने कोरोनाको कहर र राजनीतिक लहर एकै पटक आयो । अनि विदेशमा हामी परदेशीहरूलाई बिचल्ली नै पार्‍यो ।

आज पनि समस्या घट्ला भन्दा झन् बढिरहेको छ । देशको राजनीतिक परिवेश बदलिए पनि समस्या जस्ताको तस्तै छ । हामी परदेशीहरू अब त देशमा केही होला, अब त देश फर्किने दिन आउला भनेर कुर्दै छौँ । तर देशमा नेता फेरिए, नियति फेरिएन । 

देशमा केही गरौँ भन्ने अवस्था छैन । गर्छु भन्ने अठोट लिएर देश फर्किएकाहरू पनि फेरि विदेश आउने भिसा कुर्दै छन् रे । देश दुःखमा पर्दा हामी परदेशीले अक्सिजन पठायौँ तर आज हामी परदेशीलाई त सरकारले दुःखमाथि दुःख मात्र दिएको छ । 

गन्तव्य देशले खोप लगाएर आऊ भन्छ । खोप लगाउन लाइन । पौठाजोरी खेलेर खोप त लगाइयो । फेरि विदेशमा मान्यता दिने प्रमाणपत्र लिन अर्को सास्ती । कोरोना सङ्क्रमणको बेवास्ता गर्दै रात दिन खोप प्रमाणीकरण पत्र लिनका लागि दाजुभाइ लाइन बसेको देख्दा देशभक्त म परदेशीको मन कटक्क खान्छ । तर सरकारको त किन खान्थ्यो र ।

न सरकार चलाउनेका आफन्त खाडीमा छन् । न त छोराछोरी । आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया, बेलायत पठाएकाहरूलाई हामी खाडी आउनेका दुःखले कहाँ दुख्छ होला र खै । 

 मन मनै अनेक प्रश्न र आवेग मडारिन्छ । यो अवस्था हाम्रै देशमा किन आउँछ ? किन कुनै तयारी किन गरिँदैन ? दुनियाँ देशले गरेका छन् नेपालमा मात्र गर्न नसकिने पनि त पक्कै हैन । तर बाध्यताले परदेशीएकाको मन पोलेर के पो हुन्छ र । 

गर्ने हो र आफ्ना नागरिकका लागि केही गरौँ भन्ने सच्चा मन भएको एक हुने हो भने पनि यहाँ अनेक हुन सक्छ ।

 एक छिन परदेशको कुरा गरौँ । सबै देशको कुरा गर्न त सकिँदैन । तर म कार्यरत यूएईको कुरा गर्छ । 

यूएईमा कोरोना कहर सुरु हुँदाको र अहिलेको अवस्था देख्दा यस्तो पनि हुँदो रहेछ त गर्ने हो भने भन्ने लाग्छ । 

सुरु सुरुमा केही समस्या आयो होला । त्यो आफ्नो ठाउँमा छ । अहिलेको अवस्था हेर्दा कुनै मजदुर खोप नपाएर खोज्दै हिँड्नु पर्ने अवस्था छैन । खोप लगाउन मारामार गरेर लाइन बस्न परेको छैन । कोरोना परीक्षणको लागि कुनै समस्या छैन । के आफ्नो नागरिक के विदेशी नागरिक यहाँ कुनै भिन्नता गरिएको छैन ।

विदेशको मात्र किन एउटा मानिसले चाहँदा हुन्छ भन्ने उदाहरण त देशलाई लोडसेडिङ मुक्त बनाएर कुलमान घिसिङले पनि प्रमाणित गरिसकेका छन् । असम्भव यहाँ केही छैन । तर ठाउँमा असम्भवलाई पनि सम्भव बनाउन सक्ने एक सच्चा व्यक्तिको खाँचो छ । 

हामी विदेशमा बसेकाहरू कहिले ढुक्क भएर आफ्नो देश फर्कन पाउने ? मेरो देशको प्रधानमन्त्री या अरू कोही नेता यस्तो भनेर कहिले गर्व गर्न पाउने ? विदेशमा भएकालाई स्वदेश फर्किने वातावरण बनाएको देख्न र सुन्न  कहिले पाउने ?​

यो सरकारले त बिदेसिन लागेका युवालाई रोक्दै छ भन्ने खबर कहिले सुन्न पाउने ? यो परदेशी यस्तै एउटा सुखद खबरको प्रतीक्षामा छ ।

तपाईको प्रतिक्रिया