महामारीको समयमा भिजिट भिसामा विदेश नआउनु नै बेस

 भदौ १४, २०७८ सोमबार १६:२४:२५ | नारायण कोइराला
unn.prixa.net

कोरोना महामारीले अहिले संसारलाई पिरोलेको छ । यसको रोकथामका लागि विभिन्न उपायहरू देश अनुसार लागू गरिएका छन् ।

अहिलेको अवस्था विदेश आउनको लागि उपयुक्त समय मान्न सकिन्न । यहाँको अवस्थाले यो कुरा स्पट वर्णन पनि गरी रहेको छ । विदेशबाट घर गएकाहरु सहज रूपमा रोजगारीमा फर्कन नसकिरहेको अवस्था छ । 

हो देशमा रोजगारी छैन । कोरोना महामारीले झन अर्को समस्या थपेको छ । तर बेरोजगार भइयो भन्दैमा महामारीको समयमा एजेन्टको भरमा कोही पनि श्रम स्वीकृति नलिई भिजिट भिसामा कमाउनका लागि भनेर विदेश नहिँड्नुहोस् । यदि यो समयमा भिजिट भिसामा गएर पैसा कमाउँछु भनेर घर, देश छाड्नु भनेको ठुलो मुखर्ता हुनेछ ।

काम लगाइ दिन्छौ भनेर बिचल्ली पर्ने एजेण्टहरुको कमी त छैन । यस्ता मानिस जहाँ पनि जति बेलामा पनि भेटिन्छ । तर भिजिट भिसामा गन्तव्य देशमा पुगेपछि काम पाउन त्यति सजिलो छैन । अहिले महामारीको समयमा कति कम्पनीहरू टाट पल्टिएको अवस्थामा काम पाइहालिन्छ नि भनेर हेलचेक्रयाइँ गर्नुहुन्न । 

जस्तो दुःख भए पनि ऋण, पिर जे भए पनि परिवारको साथमा भएजस्तो देश छाडेर परदेश आएपछि हुँदैन । त्यसैले सही समयको प्रतीक्षा गर्नुपर्छ ।

देश छाडेर आइसकेपछि पछुताउनुको कुनै अर्थ हुँदैन । घर छाड्नुअघि नै राम्रो सँग सोचेर, बुझेर मात्र कदम चालियो भने निकै राम्रो हुन्छ । 

जहाजले नेपालको भुईँ छोड्नासाथ मिठो बोल्ने एजेन्टको बोली नमिठो हुन थाल्छ । यूएईले पनि भिजिट भिसा दिन थालेको छ । तर घुम्ने प्रयोजनको भिसामा आएर काम गर्छु भन्नु निकै चुनौतीपूर्ण कुरा हो ।

घुम्न भनेर एक महिना वा तीन महिनाको भिजिट भिसा लगाएर आएको हुन्छ । भिजिट भिसामा आएर काम खोज्दा खोज्दै भिसा सकिन थाल्छ ।  अझ कतिपय त एजेण्ट नै सम्पर्क विहीन हुन्छन् । ल्याउने एजेण्ट नै नभएपछि त त्यसै बिचल्ली हुन्छ । के खाने, कहाँ बस्ने, रोडको बास हुनसक्छ ।

कतिपयले अन्तिम समयमा आएपछि जस्तो भए पनि काम गर्न बाध्य पार्छन् । घर फर्किऊँ ऋणको भारी हुन्छ । त्यसैले पनि काम गर्नु पर्ने बाध्यता हुन्छ । तर न सुविधा हुन्छ, न त राम्रो तलब । अझ कतिले त महिना भरी काम लगाउने तर तलब नदिने, महिना मरेपछि बोली फेर्ने अवस्था छ । खाडीको गर्मीमा पसिना बगाउनुको कुनै अर्थ नरहन पनि सक्छ ।

ज्यान पाल्नै मुस्किल हुन्छ । उता ऋण र पिरले परिवारको बिचल्ली हुन्छ ।

भिजिट भिसाकै कारण कतिपयको त घर बास नै उजाड भएको अवस्था पनि छ । काम नहुँदा, कोठामा थुनिएर बस्नुपर्दा यहाँ भएका कतिपय तनाव र चिन्तामा छन् । यति मात्र कहाँ हो र कतिपय साथीभाइले आत्महत्या नै गरेको समाचार पनि सुन्नुपर्छ । 

त्यसैले यो समयमा भिजिट भिसामा विदेश जान पाइला उचाल्नुअघि धेरै सोच्नुपर्छ । त्यसको परिणाम भोलि जे पनि हुन सक्छ । समस्यामा परेमा उद्धार होला न होला भन्न सकिन्न । त्यस कारण महामारीको समयमा भिजिट भिसामा परदेश लाग्नुअघि सोच्नुहोस् भन्न चाहन्छु म ।

तपाईको प्रतिक्रिया