गाईपालनले बढाएको आत्मविश्वास : साउदीमा रहेका श्रीमानलाई घर बोलाउँदै टिकाकुमारी

 भदौ ३१, २०७८ बिहिबार १४:४५:२६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – एक वर्ष पहिलेसम्म गोठको काम गर्नुपर्दा दिक्क र झण्झट मान्ने गल्याङ्की टिकाकुमारी रानाको आजभोलि सोच मात्रै होइन जीवनशैली नै फेरिएको छ । उहाँ बिहान ४ बजे अगाडि नै गोठमा रहेका बस्तुभाउको साथी बन्न पुग्नुहुन्छ । छिमेकीले बाहिरको बत्ति बाल्दा उहाँले दुध दुहुने काम समेत पूरा गरिसक्नुहुन्छ ।

३० वर्षको उमेरमा नै पालिकाको नमूना पशुपालक कृषक बन्नुभएकी टिकाकुमारीका श्रीमान् साउदीमा हुनुहुन्छ । एक छोरा र एक छोरी सम्हाल्दै उहाँले गोठको काम गर्ने समय निकाल्नु हुन्छ । 

गोठको काम गर्न उत्साहित हुनुको मुख्य कारण गल्याङ नगरपालिकाले दूधमा दिएको अनुदान पनि हो । पालिकाले प्रतिलिटर १५ रुपैयाँ अनुदान दिने गरेको छ । सानो रकम भए पनि उहाँले छ महिनाको अवधिमा मात्रै दुई लाख ४० हजार आठ सय ५९ रुपैयाँ अनुदान हात पार्नु भयो । ६ गाई र दुई भैंसी पालेर दैनिक  १४० देखि १५० लिटर दुध उहाँले घर निजिकैको सहकारीमा पुर्याउनु हुन्छ । छोरी हर्षिकाको नाममा हर्षिका गाई फर्म नै दर्ता गरिसक्नु भएको छ टिकाले । उहाँको फार्ममा गल्याङ बजारबाट ३० मिनेटमा पुग्न सकिन्छ ।

गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरे बापत ४२ हजार रुपैयाँ अनुदान पाएपछि रानाको बुझाई छ काम गर्छु भन्यो भने सबैतिरबाट सहयोग पाइने रहेछ ।

 ‘श्रीमान्ले विदेशबाट पठाएको पैसा घर खर्चमा नै सकिन थाल्यो त्यसपछि गाँउमा नै केही गर्ने सोच बनाएकी हुँ’, टिका भन्नुहुन्छ, ‘एक वर्ष अगाडि दुई ओटा गाईबाट शुरु भएको व्यवसायमा अहिले सम्म २० लाख रुपैयाँ लगानी भइसकेको छ ।’

 आफ्नै जग्गा भएका कारण उहाँलाई गाईपालन गर्न जमिनमा खर्च गर्नु परेन ।  अहिले अरु खर्च जस्तै गाईभैंसीको लागि आहारलगायत कटाएर मासिक ७० देखि ८० हजार रुपैयाँसम्म बचत गर्ने गरेको उहाँको भनाइ छ । 

‘विदेशबाट श्रीमानलाई बोलाउँछु’

आफूले घर खर्च चलाउन सके विदेशमा श्रीमान्ले कमाएको बचत गर्न सकिन्थ्यो कि भनेर गाईभैँसी पाल्ने सोच्नुभएको थियो टिकाकुमारीले । तर अहिले त्यही व्यवसायले राम्रो आम्दानी हुन थालेपछि श्रीमानलाई परदेशमै राख्न उहाँको मनले मान्दैन ।

आफू बाहेक एक जनालाई रोजगार समेत दिनुभएकी टिकाकुमारीले भन्नुभयो, ‘म यो व्यवसाय र कामप्रति निकै उत्साहित छु, अब विदेशमा रहेका श्रीमान्लाई घरमा नै बोलाउने सोच छ ।’

टिकाकुमारी मात्रै होइन गल्याङ नगरपालिकाका धेरै पशुपालक कृषक अहिले निकै उत्साहित छन् । सेतो शहर गराउने नगरपालिकाले लिएको अभियानलाई यहाँका नागरिकले खुलेर साथ दिएका छन् । पछिल्लो समय दुधको उत्पादन बढेको छ भने नगरपालिकाले नै उत्पादन भएको दुध बेच्नका लागि पोखरा र बुटवलमा व्यवस्था गरिदिएको छ ।  नगरप्रमुख भूपराज अधिकारीले दूधमा दिईएको अनुदानले पशुपालक कृषक उत्साहित भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अनुदान कार्यक्रमबाट एक हजार एक सय ७९ जना किसान लाभान्वित भएका छन् ।’

किसानलाई प्रोत्साहनस्वरुप झण्डै ७९ लाख रुपैयाँ अनुदान

गल्याङ नगरपालिकाले  नगरभित्रका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप झण्डै ७९ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत कृषकलाई नगरपालिकाले प्रतिलिटर १५ का दरले ७८ लाख ९९ हजार नौ सय २० रुपैयाँ अनुदान उपलब्ध गराएको पशु विकास शाखा प्रमुख सुशील अर्यालले बताउनु भयो । 

नगरपालिकाका अनुसार नगरका विभिन्न वडामा आठ सय २१ पुरुष र तीन सय ५८ महिला गरी कूल एक हजार एक सय ७९ जना कृषकलाई अनुदान वितरण गरिएको हो ।

नगरपालिकाले समूह, सहकारी तथा सङ्कलन केन्द्रहरुमा आबद्ध भएका कृषकहरुसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएको छ ।  कृषकहरुले संस्थामार्फत दूध बिक्री गर्ने र बिक्री भएको दूधका आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले कृषकलाई सङ्कलन केन्द्रमार्फत नै एकमुस्ट अनुदान उपलब्ध गराउने गरेको नगरप्रमुख अधिकारीले बताउनु भयो । 

दूध उत्पादक कृषकलाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ बाट उत्पादनमा प्रतिलिटिर १५ रुपैयाँ अनुदान दिन सुरु गरेको हो । दूग्ध विकास संस्थानले निर्धारण गरे बमोजिमको मूल्यमा सङ्कलन केन्द्रमा दूध उपलब्ध गराउने कृषकलाई मात्रै नगरपालिकाले अनुदान दिने गरेको जनाएको छ । 

यहाँ उत्पादन भएको दूध सङ्कलन केन्द्रमार्फत बुटवलस्थित दूग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा र केही गल्याङ तथा स्थानीय बजारमा खपत हुने गरेको शाखाप्रमुख अर्यालले बताउनु भयो ।

नगरपालिकाको सेतो शहर बनाउने योजना

नगरपालिकाले सेतो शहर बनाउने योजना अनुसार दीर्घकालीन नीति नै बनाएको छ । नगरसभाबाट सेतो शहरको अवधारणा तय गर्दै पालिकाले दूध तथा दूधजन्य उत्पादन तयार गर्ने लक्ष्य राखेको छ । अहिले दैनिक १ हजार ५ सय लिटर हिउँदमा र अरु समयमा ३२ देखि ३५ सय लिटर दूध उत्पादन हुने पशु शाखाका प्रमुख अर्यालले बताउनु भयो । 

पशुपालक कृषकका लागि विभिन्न आकर्षक नीति समेत तय गरेको छ । दूधलाई विविधीकरण गर्दै पनिर,बटर लगायतका सामाग्री बनाउने नगरको योजना रहेको छ । त्यस्तै नगरपालिकाले अनुदान, पशुधन बीमा तथा लागत साझेदारीका कार्यक्रमहरु अगाडि बढाएको छ । पालिकाले गत आर्थिक वर्षमा पशु सुरक्षण बीमाका लागि २० लाख रुपैयाँ अनुदान दिएको थियो जसमा एक हजार दुई सय पाँच जना कृषक लाभान्वित भएका थिए । कृषकहरुलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्नका लागि नगरस्थित बैंक तथा सहकारी संस्थाहरुसँग समन्वय गरी कृषि कर्जामा चार प्रतिशत व्याजदरमा अनुदान उपलब्ध गराएको थियो ।

ब्याज अनुदानमा नगरपालिकाले गत आवमा १५ लाख विनियोजन गरेको थियो। उक्त ऋणमा प्रत्यक्ष दुई सय ८१ जना लाभान्वित भएका थिए । गल्याङ नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउँदै कृषकको आर्थिकस्तर उकास्नका लागि पशुपालनमा जोड दिएको नगरप्रमुख भूपराज अधिकारीले बताउनु भयो ।  गल्याङलाई सेतो सहर र दूधको सहरका रुपमा पहिचान दिलाउने गरी गाई तथा भैंसीपालनतर्फ किसानलाई प्रेरित गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । 
 

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • P.P tamu

    Sept. 16, 2021, 7:29 p.m.

    एक्दमै राम्रो कार्य अनि आफुलाइ पनि फाइदा ! मेहेनत गर्न सके, नहुने के छ र ? पाखुरी र मेहेनत चाइयो बस ! ध्व्रै२ शुभकामना र स्याब्बास छ । मैले युके बाट हेर्दै छु र म पनि गाई को दूध खायरै अनि गाई कोबाछी सङै हुर्कियको मेरो जिन्दगी हो । राम्रो छ ।

तपाईको प्रतिक्रिया