सुरक्षित वैदेशिक रोजगारीमा प्रहरीकाे भूमिकाबारे अन्तरक्रिया कार्यक्रम

 असोज ७, २०७८ बिहिबार १७:११:२
unn.prixa.net

मकवानपुर – सुरक्षित वैदेशिक रोजगारीमा प्रहरीकाे भूमिकाबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

मकवानपुर जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीलाई सुरक्षित, शोषणमुक्त र ठगीमुक्त गराउने उद्देश्यका साथ आज कार्यक्रम सञ्चालन गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । वैदेशिक रोजगारीको अवस्था, संसोधित वैदेशिक रोजगारी ऐनमा प्रमुख जिल्ला अधिकारीको भूमिका  र आप्रवासी स्रोत केन्द्रसँगको सहकार्य विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि  पाण्डेको प्रस्तुतीकरण थियो । त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले वैदेशिक रोजगारी सम्बन्धी न्यूनीकरणमा प्रहरीको भूमिका सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सामी परियोजना हेल्भेटासका कार्यक्रम अधिकृत उमा पौडेलले सामी परियोजनाको बारेमा जानकारी गराउनुभयो । त्यसै गरि कार्यक्रम संयोजक अन्जिता थापा  मगरले आप्रवासी स्रोत केन्द्रले प्रदान गर्दै आएको सेवा, केन्द्रमा आएका समस्या र न्यायको सहजीकरण सम्बन्धी जानकारी गराउनुभयो ।

कार्यक्रममा आप्रवासी श्रोत केन्द्रले वैदेशिक रोजगार सम्बन्धी आएका समस्याहरु सिफारिस समाधानको लागि सहजीकरण र फलोअपलाई निरन्तरता दिने निर्णय भएको छ । यस्तै जिल्ला प्रहरीसँग प्रभावकारी समन्वय गर्ने, जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय तथा न्यायिक समितिमा आएका वैदेशिक रोजगारका समस्याहरु छलफल तथा सहजीकरणको लागि आप्रवासी श्रोत केन्द्रमा सिफारिस गर्ने निर्णय पनि कार्यक्रममा भएको छ । 

मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी श्रोत केन्द्रले सहि सूचना दिने निःशुल्क सीप र न्यायको पहुँचका लागि सहजीकरण गर्ने गर्दै आएको छ । साथै चार वटा स्थानीय तह, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकामा वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारका सदस्यका लागि वित्तीय साक्षरता कक्ष, मनोसामाजिक परामर्श सेवा र रिटर्नी स्वयंसेवक परिचालन मार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

आप्रवासी श्राेत केन्द्र सामी परियाेजना अन्तर्गत सञ्चालित छ । सुरक्षित आप्रवासन परियाेजना सामी नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको दुई पक्षीय परियोजना हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहलमा स्थानीय सरकारहरुको नेतृत्वमा सञ्चालित यस परियोजनालाई स्वीस सरकारकाे तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया र मनहरी गाउँपालिकाको नेतृत्व र आईभिडिएसको व्यवस्थापनमा सञ्चालित छ ।

तपाईको प्रतिक्रिया