कतारमा कोरोना सङ्क्रमित घटे, प्रतिबन्ध खुकुलो हुँदै

 असोज १४, २०७८ बिहिबार १५:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारले कोरोना सङ्क्रमण रोकथामका लागि लगाएको विभिन्न प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको छ ।

कोरोना सङ्क्रमण दर घटेको भन्दै कतारले अनिवार्य मास्क, भौतिक दूरी लगायतको व्यवस्थामा खुकुलो बनाउँदै लगेको अल्जाजीरालेखबर लेखेको छ ।

बुधबार बसेको कतारको मन्त्रीपरिषद् बैठकले आउँदो अक्टोबर ३ देखि बाहिरी काममा मास्क अनिवार्यको व्यवस्था हटाउने निर्णय गरेको छ । तर सार्वजनिक कार्यक्रम, बजार र प्रर्दशनीहरुमा भने मास्क अनिवार्य नै छ । 

यसका साथै बजार र मलहरू पनि पूर्ण रूपमा सञ्चालन हुन पाउनेछन् । यी स्थानमा अधिकतम ग्राहकहरू जान पाउनेछन् । 

संग्रहालय र सार्वजनिक पुस्तकालय पनि पूर्ण रूपमा सञ्चालन गर्ने कतारले जनाएको छ । सरकारी र निजी क्षेत्रका कार्यालयलाई पनि पूर्णरुपमा काम सञ्चालनको लागि अनुमति दिइएको छ ।

तर मस्जिद, विद्यालय, अस्पताललगायतका स्थानमा जाँदा भने मास्क अझै पनि अनिवार्य नै गरेको छ । 

भित्री रेस्टुरेन्ट र क्याफेहरू पनि ७५ प्रतिशत क्षमताका साथ खुल्न पाउने छन् । तर बन्द ढोकाभित्र हुने कार्यक्रममा भने मास्क अनिवार्य गरेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले बुधबार ५१ नयाँ कोरोना सङ्क्रमित भेटिएको जनाएको छ । जसमध्ये २५ जना भने बाहिरबाट आएका मानिसमा कोरोना सङ्क्रमण देखिएको कतारले जनाएको छ ।

बुधबारसम्म कतारमा दुई लाख ३६ हजार ५५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६०५ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कतारले अहिलेसम्म ४७ लाख डोज कोरोना खोप मानिसहरूलाई दिइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया