कतार प्रवेश : खोप लगाएकाले २ र नलगाएकाले ७ दिन होटल क्वरेण्टिनमा बस्नुपर्ने

 असोज १८, २०७८ सोमबार १७:१६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीको सिलसिलामा कतार जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने त्यहाँ जानुभन्दा पहिले कतार सरकारले जारी गरेका अद्यावधिक मापदण्डहरुको पालना गरेर जानुहोला । कतार सरकारले दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायत अन्य केही देशहरुले कतार प्रवेश गर्नुभन्दा पहिले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतार जानको लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्छ । नयाँ मापदण्डअनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने यात्रुहरुले https://www.ehteraz.gov.qa वेबसाइटमा गइ पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य सान्दर्भिक कागजातहरु अपलोड गरि प्रि-रजिष्ट्रेशन गर्नुपर्ने हुन्छ ।

यस्तै सबै यात्रुहरुले आफ्नो मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गरेर राखेको हुनुपर्छ । यसको लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने बताइएको छ ।

कतार प्रवेश गर्नुअघि सबै यात्रुहरुले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइट वा सम्बन्धित एअरलाइन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रतिबद्धता पत्रमा आफ्नो विवरण भरेर हस्ताक्षर गरि यात्राको अवधिमा साथमा बोक्नुपर्ने हुन्छ । फारम योे लिंकमा क्लिक गरेर पनि पाउन सकिन्छ । 

खोप सम्बन्धी प्रावधान

कतार सरकारले फाइजर, सिनोभ्याक, सिनोफर्म, मोडेर्ना, अस्ट्राजेनेका र स्पुत्निक भी र जोनसन एण्ड जोनसनलाई मान्यता दिएको छ । जोनसन एण्ड जोनसन बाहेक अरु खोप दुवै डोज लगाएको हुनुपर्ने जनाइएको छ ।

यस्तै खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेपछि मात्र यात्रा गर्न सकिनेछ । सशर्त स्वीकृत गरिएका खोप (सिनोभ्याक, सिनोफर्म र स्पुत्निक भी)को मात्रा पूरा गरेका यात्रुको सेरोलोजी एण्टिबडी रिजल्टको पोजेटिभ रिपोर्ट अनिवार्य चाहिने बताइएको छ ।

कतार सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा लगाएको भए पनि दुई दिन होटल क्वरेण्टिनमा बस्नुपर्नेछ । यस्तै कतार सरकारले जनाएअनुसार खोप लगाउँदै नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएकाहरुले भने सात दिनसम्म होटल क्वरेण्टिनमा बस्नुपर्ने हुन्छ ।

स्वीकृत गरिएका खोप नलगाएका नयाँ यात्रुलाई भने कतार प्रवेश गर्न नदिइने त्यहाँको सरकारको निर्णयलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया