वैदेशिक रोजगारीबाट फर्केकाले दशैँ मनाउँदा यी कुरामा ध्यान पुर्‍याउँ

 असोज २४, २०७८ आइतबार १५:३३:३३ | डा. श्यामराज उप्रेती
unn.prixa.net

दशैँ सुरु भइसक्यो । वैदेशिक रोजगारीमा गएकाहरु दशैँको मौकामा घर फर्किने क्रम जारी छ । हुन त कुनै पनि नेपाली विदेशबाट नेपाल पर्किँदा उसलाई कोरोना छ कि छैन भनेर उनै परीक्षण गरिएको हुन्छ । पीसीआर नेगेटिभ भएपछि मात्रै त्यहाँबाट आउन पाइन्छ । तर नेपाल आइसकेपछि कोरोनाबाट बच्नको लागि उहाँहरुलाई कोरोना सुरक्षाको बारेमा सिकाउने र त्यसबारे जानकारी दिनुपर्ने आवस्यकता देखिन्छ ।

भीडभाड बढेमा फेरि कोरोनाको संक्रमण देखिन सक्छ । हुन त अहिले कोरोना संक्रमण कम भएको छ, त्यो खुसीको कुरा हो । तर पनि महामारी सिकिएको छैन । त्यसैले हामीले अबको चाडवाडमा जथाभावी भीड गर्ने काम कम गर्नुपर्छ । त्यसको पालना गर्नेबारे विदेशबाट आउनेहरुलाई पनि सचेत गराउनुपर्छ । त्यसको पालना गर्नमा हामीले पनि ध्यान दिनुपर्छ ।

विदेशबाट नेपाल आइसकेपछि नेपाल सरकारले कोरोना विरुद्धको दुवै खोप लगाएको र पीसीआर रिपोर्ट नेगेटिभ छ भने होटल क्वरेण्टिनमा नराखी सिधै घर जान दिएको छ । तर पनि यस्तो छ भन्दैमा हामीले लापरबाही गर्नुहुँदैन । खोप लाएको मानिसलाई कोरोना संक्रमणको जोखिम कम हुने, कोरोना भइहाले पनि सिकिस्त बिरामी हुनबाट बचिने, अस्पताल भर्ना हुनु नपर्ने र मृत्युदर कम हुने मात्र हो । कोरोना लाग्दै नलाग्ने भन्ने होइन । त्यसैले यो कुरा सबैले बुझ्नुपर्छ । खोप लगाइसकेपछि पनि कुनै कारणले कोरोना संक्रमण हुनसक्छ र त्यसको लक्षण नदेखिइकन अरुलाई सार्न सक्छ । खोप लगाएको व्यक्तिलाई त धेरै असर नगर्ला तर खोप नलगाएकालाई बढी असर गर्छ ।

त्यसैले जनस्वास्थ्यका मापदण्डको पालना गर्नैपर्ने हुन्छ । मास्क लगाउने, हात धुने, स्यानिटाइजरको प्रयोग गर्नैपर्छ । यस्तो गरेन भने अरुलाई रोग सर्ने वा आफै पनि संक्रमित हुने जोखिम उच्च हुन्छ । त्यसैले खोप लगाएर आएका र पीसीआर नेगेटिभ रिपोर्ट भएकाहरुले पनि स्वास्थ्य मापदण्डको पालना गर्नैपर्छ । सकेसम्म सुरुमा एक हप्ता होम क्वरेण्टिनमा बसेकै राम्रो । यस्तै आफ्नो दैनिकीमा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्ने हुन्छ ।

कसरी सुरक्षित रहने ?

जुनसुकै चाडवाड आए पनि कोरोनालाई हल्का रुपमा लिनुहुँदैन । स्वास्थ्यका मापदण्डमा ध्यान दिनुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । चाडवाड मनाउने हो, तर सतर्कताका साथ । पहिलेको जस्तौ भीडभाड गरेर मनाउनै पर्छ भन्ने छैन । भौतिक दुरी कायम गरेरै पनि मनाउन सकिन्छ ।

यस्तै विदेशबाट आउनेहरुले विभिन्न उपहारहरु लिएर आएका होलान्, आफन्तलाई भेट्न जालान् । यस्तोमा पनि जनस्वास्थ्यको मापदण्डलाई अपनाउनैपर्छ । भौतिक दुरी अपनाइएको छ भने त मास्क लगाउनैपर्छ भन्ने पनि नहोला तर दुरी अपनाइएको छैन भने मास्क लगाउनैपर्छ । मास्कले कोरोनामात्र होइन धुलोधुवाँ लगायत अरु रोगहरु सर्नबाट पनि जोगाउँछ । किनकी स्वासप्रस्वासबाट सर्ने रोगहरु धेरै छन् । 

पहिले त बाहिरबाट आउनेहरुले कोरोना लिएर आयो भन्ने किसिमको त्रास थियो । अहिले त्यस्तो छैन । कोरोनाको त्रास कम हुँदै गएको छ । तर बाहिरबाट आउनेले कोरोना ल्याइहाल्यो भन्ने पनि होइन र ल्याउँदै ल्याउँदैन भन्ने पनि होइन । त्यसैले विदेशबाट आउने जोकसैलाई पनि केही दिन क्वरेण्टिनमा बस्न लगाउने हो । विभेद गर्ने होइन । 

यस्तै अष्टमीकै दिन वा टीकाकै दिन पनि विदेशबाट घर आउनेहरु हुन सक्छन् । यस्तोमा बाक्लो लसपसमा नबस्ने । टीका लगाउँदा पनि मास्क लगाएर सकभर अलि टाढा बसेर लगाउने । सकभर हातमा पैसा नदिने । मिल्छ भने दक्षिणा पनि ईबैंकिङबाट वा केही दिनपछि दिने । त्यसैले जसरी हुन्छ, स्वस्थ ढंगले चाडपर्व मनाउनुपर्छ । अनावस्यक भोजभतेरमा गएर आफ्नो स्वास्थ्य नै बिग्रिने हिसाबले रमाइलो गर्नु पनि त राम्रो होइन नि ।

(डा. श्यामराज उप्रेतीसँग गरेको कुराकानीमा आधारित ।)
 

डा. श्यामराज उप्रेती

डा. श्यामराज उप्रेती जन-स्वास्थ्यविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया