विदेशमा रहेका नेपालीले ई– पासपोर्टका लागि निवेदन दिन दुई महिना कुर्न पर्ने

 मंसिर ७, २०७८ मंगलबार १६:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा रहेका नेपालीले विद्युतीय राहदानी(ई–पासपोर्ट) लागि निवेदन दिन अझैँ दुई महिना कुर्न पर्ने भएको छ ।

अहिले काठमाण्डौमा रहेको राहदानी विभागबाट जारी भइरहेको ई–पासपोर्टको लागि विदेशमा रहेका नेपालीले  नेपाली नियोगबाट झण्डै दुई महिनापछि मात्र निवेदन दिन सक्ने राहदानी विभागले जनाएको छ । 

३४ पृष्ठको विद्युतीय साधारण राहदानीको लागि अहिले राहदानी विभागमा मात्र निवेदन दिन सकिन्छ । केही हप्तापछि क्रमिक रूपमा जिल्ला प्रशासन कार्यालयबाट तथा तोकिएको इलाका प्रशासन कार्यालयहरूबाट निवेदन दिन सकिन्छ ।

१६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हो । तर विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । 

राष्ट्रिय परिचयपत्र बनाउन जुनसुकै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिन सकिन्छ । कार्ड बनेर आउन केही समय लागे पनि राष्ट्रिय परिचयपत्र नम्बर तुरुन्त पाउन सकिन्छ  । नम्बरका आधारमा राहदानी बनाउन सकिने विभागले जनाएको छ ।

अहिले राहदानी विभागले वेबसाइटमार्फत विद्युतीय राहदानीको लागि बुकिङ खुला गरेको छ । यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फारम भ¥यो उसैको पालो छिटो आउँछ । यो पासपोर्ट लिन सोर्सफोर्स भनसुन केही पनि नचल्ने विभागले जनाएको छ ।

विद्युतीय राहदानीको लागि बुकिङको समय लिन नसकेमा र तत्काल विदेश जान परेमा कारण र प्रमाण सहित आउनेलाई विभागले एमआरपी पासपोर्ट पनि जारी गर्नेछ ।

विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ ।

राहदानी विभागका अनुसार पहिले पहिले पासपोर्ट १ दिनमा २ दिनमा र ३ दिन भित्र सेवा लिन सकिन्थ्यो । तर अहिले संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दुर्त सेवा कायम गरिएको छ । १२ हजार रुपैयाँ दस्तुर लाग्छ ।

जिल्ला प्रशासन कार्यालयबाट निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि पहिलेजस्तै ५ हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । 

विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिँदा बिस हजार राजस्व लाग्छ । विदेशस्थित कूटनीतिक नियोगहरूमा छुट्टै दस्तुर तोकिएको छ । 

अहिले एमआरपी पासपोर्टको म्याद भएकाहरूले भने म्याद नसकिँदासम्म विद्युतीय राहदानी बनाउन पर्दैन । म्याद सकिएपछि भने विद्युतीय राहदानीका लागि निवेदन दिन सकिन्छ । एमआरपीको नवीकरण गर्नेभन्दा पनि विद्युतीय राहदानी नयाँ नै बनाउन पर्छ । तर अहिलेसम्म आइकाओले मेशिन रिडेबल पासपोर्ट नचल्ने भनेर भनेको छैन ।

आवेदन दिने तरिका

राहदानी विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिची प्रिइन्रोलमेन्ट पोर्टलमार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ । 

आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगमा जानु पर्दछ । 

मिति र समय बुक नगरी गएमा विभागले निवेदन लिँदैन । फाराम भर्दा जन्म मिति, नाम आदि विवरण दोहोराई तेहेराई हेरेर कुनै गल्ती नगर्नु विभागले अनुरोध गरेको छ । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुनः बनाउँदा दस्तुर पुनः लाग्ने छ ।

विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुन्छ । तर यो आँखाले सहजै देख्न सकिदैन ।  चिपमा औठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू पनि हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैनन् । ICAO PKD मार्फत सूचनाहरू रुजु हुने हुँदा विभिन्न देशका अध्यागमन कार्यालयहरूमा सहज र छिटो हुनेछ । विद्युतीय गेटहरू भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

विभागका अनुसार यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुन्छ । 

तपाईको प्रतिक्रिया