‘साउदीले मलाई ड्राइभिङको नियममा बाँधिन सिकायो, जेब्रा क्रसमा मान्छे नभए पनि स्पीड घटिहाल्छ’

 बैशाख २३, २०७९ शुक्रबार १८:१०:४७ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

कुमार लामा/दोलखा ।

गाडीसँगको मेरो साइनो पुरानो हो । सानैदेखि गाडीमा काम गर्दै हुर्किएँ । अलि ठूलो भएपछि लाइसेन्स लिएँ । ट्याक्सी चलाएँ । तर यहाँ जति मेहनत गरे पनि पैसा वचत गर्न सकिएन । त्यसैले म सन् २००९ मा यही ड्राइभिङकै काममा साउदी गएँ । म साउदी जाँदा २९ वर्षको थिएँ । हातमा सीप भएकाले मैले त्यहाँ भनेजस्तै काम पाएँ ।

आर्थिक अवस्था सुध्रिन्छ कि भन्ने लागेर नै मैले वैदेशिक रोजगारीको बाटो अँगालेको थिएँ । विदेशमा पैसा कमाएर नेपालमा केही गर्न सकिन्छ कि भन्ने सपना थियो । यही सपना बोकेर म पाँच वर्ष साउदी बसेँ । त्यहाँ मैले कम्पनीमा ड्राइभिङको काम गरेँ । काम, कमाइ पनि चित्तबुझ्दो नै थियो । त्यसैबीच म सन् २०१४ मा छु्टटीमा नेपाल फर्किएँ ।

यो पाँच वर्षमा मेरो ड्राइभिङमा निकै फरकपना आइसकेको थियो । साउदी जानुभन्दा पहिले, दायाँबायाँ हेरेर मान्छे नदेखेपछि हुँइकिहाल्ने मेरो बानी साउदी गएर बदलियो । सडक चिन्हहरुको पालना गर्ने, जेब्रा क्रसिङमा मान्छे नभए पनि स्पीड कम गर्ने ट्राफिक बत्तीको पालना गर्ने लगायतका नियममा बाँधिन मलाई साउदीले नै सिकायो । सबैलाई थाहा भएकै कुरा हो साउदीमा ट्राफिक नियम कडा छ । त्यसैको झन् बढी प्रभाव पर्यो म मा । ड्राइभरका स साना लापरबाहीले ठूलो दुर्घटना निम्त्याउँछ । यो कुरालाई हामी ड्राइभरहरुले बुझ्नैपर्छ । यो कुरा पनि मैले साउदीमै सिकेँ । 

जे होस्, म सन् २०१४ मा छुट्टीमा घर आएको थिएँ । छुट्टी सकेर फेरि साउदीमै जानु थियो । तर मेरो मनले ‘अब यहीँ केही गर्’ भन्यो । मलाई पनि परिवार, श्रीमतीबाट सधैँ टाढा बसेर धेरै कमाउनु भन्दा उनीहरुसँगै रहेर थोरै कमाउनु नै ठिक हो जस्तो लाग्यो । मैले साउदी नफर्किने निर्णय गरेँ । पहिले पनि नेपाल र साउदीमा ड्राइभिङ गरेको मसँग अनुभव थियो । हातमा सीप भएपछि के देश, के विदेश । कामको माग आइहाल्छ । मैले नेपालमै बस्ने निधो गरेपछि कामको अभाव भएन । कामको लागि ‘अफर’ आइरहे ।

त्यसपछि दोलखामै सेभ द चिल्ड्रेन संस्थाको गाडी चलाएँ । तीन महिनामा राम्रै कमाइ भयो । त्यस लगत्तै फेरि काठमाण्डौमा युरोपियन युनियनको गाडी चलाउन पाएँ । छोटोछोटो समयमा अन्तर्राष्ट्रिय संस्थाहरुका गाडी चलाउँदा राम्रै कमाइ भयो । मैले विदेशमा गाडी चलाएको अनुभवले गर्दा पनि राम्रो संस्थाहरुमा ड्राइभिङको काम पाएको हुनसक्छ । त्यसपछि काठमाण्डौमा सुनौलो यातायातमा दुई वर्ष जति ड्राइभिङ गरेँ । महिनाको चालिस हजार रुपैयाँ थियो तलब । त्यो गर्दै गर्दा फेरि काठमाण्डौमै गुड अटोमोबाइल प्रालीको महेन्द्रा सर्भिस सेन्टरमा काम गर्न थालेँ । अहिले पनि यसमै छु । काम राम्रै चलिरहेको छ । समयमै तलब पाइन्छ । बाहिर हिँडेको भत्ता पाइन्छ । 

मलाई गाउँघरमा भाइहरुले ड्राइभिङमा विदेश जाँदा कस्तो हुन्छ भनेर सोध्छन् । म उनीहरुलाई जाने बुझेको सम्झाउँछु । ड्राइभिङ होस् या अरु कुनै काम । आफूमा सीप छ भने गाह्रो हुँदैन । काम जति पनि पाइन्छ । यस्तै, विदेश जानेहरुले सोच पुर्याएर कम्पनी के कस्तो छ भनेर बुझेर मात्र जान पनि म आग्रह गर्छु । सीप सिकेको छ भने धेरै फाइदा हुने रहेछ । सीप सिकेर नजाँदा गाह्रो नै हुन्छ । 

तपाईको प्रतिक्रिया