साउदीस्थित नेपाली दूतावासको सेल्टरबाट हराए एक नेपाली

 बैशाख २८, २०७९ बुधबार १६:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासको सेल्टरबाट एक नेपाली हराएका छन् ।

सन्तोष साह कानु नाम गरेका व्यक्ति दूतावासको सेल्टरबाटै रातीको समयमा निस्किएर हिँडेको भन्दै दूतावासले देख्ने र भेट्नेहरूले सम्पर्क गरिदिन आग्रह गर्दै सूचना जारी गरेको छ । १९ अप्रिल अर्थात् वैशाख ५ गते राती करिब साढे ९ बजेतिर अरू सुतेको मौका पारी रियादको बथा भन्ने ठाउँबाट बाहिर निस्किएको दूतावासले दाबी गरेको छ । 

दूतावासका अनुसार डिप्रेसनको सिकार भएको र कसैसँग पनि नबोल्ने सन्तोषलाई दूतावासले सेल्टरमा राखी नेपाल पठाउने प्रक्रिया सुरु गरेको थियो । अहिले उहाँको स्वदेश फर्कनका लागि एक्जिट भिसासमेत आइसकेको छ । 

सन्तोषको खोजीको लागि दूतावासले सम्बन्धित प्रहरी कार्यालयलाई अनुरोध गरेको छ भने कसैले देखे वा भेटेमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा दूतावासको ०५०००७६७९४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया