कतारमा विदेशी श्रमिकमाथि भएको शोषण र दुर्व्यवहारको क्षतिपूर्तिका लागि फिफाले रकम छुट्टाउन पर्छ : एम्नेस्टी

 जेठ ५, २०७९ बिहिबार १४:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एम्नेस्टी इन्टरनेसनलले विश्वकपको तयारीका क्रममा कतारमा मानवअधिकार दुर्व्यवहार भोगेका श्रमिकले पाउनु पर्ने क्षतिपूर्तिका लागि फिफाले विश्वकप पुरस्कारका लागि छुट्टाएको ४४ करोड रूपैयाँ बराबर रकम छुट्टाउन पर्ने बताएको छ ।

विश्वकप प्रतियोगिता सुरु हुनुभन्दा ६ महिना अघि बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमार्फत एम्नेस्टी इन्टरनेसनलले यस्तो बताएको हो । 

प्रतिवेदनसँगै सार्वजनिक गरिएको एउटा खुल्ला पत्रमा एम्नेस्टी इन्टरनेसनल र मानवअधिकार संस्थाहरूको सञ्जाल तथा फुटबलका प्रशंसक समूहहरूले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई एउटा विस्तृत क्षतिपूर्ति कार्यक्रम स्थापना गर्न कतारसँग सहकार्य गर्न आग्रह समेत गरेको छ ।

कतारमा आयोजना हुने प्रतियोगितासँग सम्बन्धित सबै श्रम दुर्व्यवहारका लागि क्षतिपूर्ति प्रदान गर्ने तथा भविष्यमा आयोजना हुने प्रतियोगिताहरूमा त्यस्ता दुर्व्यवहारहरू नदोहोरिने कुरालाई कतार र फिफा दुवैले सुनिश्चित गर्न पनि पत्रमा उल्लेख गरिएको छ ।

श्रम सुरक्षाका लागि गर्नुपर्ने कुनै पनि आवश्यक सुधारका सर्तबिना नै फिफाले कतारलाई विश्वकप आयोजना गर्ने जिम्मेवारी दिएपछि श्रमिकमाथि भएको दुर्व्यवहारको क्षतिपूर्तिका लागि  फिफाले कम्तीमा विश्वकप खेलमा पुरस्कार स्वरूप प्रदान गर्नका लागि छुट्ट्याइएको ४४ करोड अमेरिकी डलर बराबरको रकम विनियोजन गर्न एम्नेस्टी इन्टरनेसनल र मानवअधिकार संस्थाहरूको सञ्जाल तथा फुटबलका प्रशंसक समूहहरूले आह्वान गरेका छन् ।

श्रम सुरक्षासँग सम्बन्धित कुनै सर्तहरू नराखेको देख्दा देख्दै पनि फिफाले हुने सक्ने जोखिम रोक्न वा न्यूनीकरण गर्न अत्यन्तै न्यून प्रयास गरेको एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार्डले बताउनुभएको छ । 

उहाँले भन्नुभयो ‘श्रमिकहरू माथिको स्पष्ट रूपमा देखिने जोखिमहरूका बारेमा फिफालाई थाहा थियो वा फिफालाई यो कुराबारे थाहा हुनुपर्ने थियो, यति हुँदाहुँदै, कतारी बोलपत्रको मूल्याङ्कनमा श्रमिक वा मानवअधिकारका बारेमा केही पनि उल्लेख गरिएन र श्रम सुरक्षासँग सम्बन्धित कुनै सर्तहरू राखिएनन् ।’

क्षतिपूर्ति प्रदान गर्न र भविष्यमा श्रमिकहरूको अधिकारको संरक्षणको लागि गरिने पहलहरूका लागि ४४ करोड अमेरिकी डलर न्यूनतम आवश्यक हुने एम्नेस्टी इन्टरनेसनलको आकलन छ ।  

भुक्तानी गर्न बाँकी रहेको पारिश्रमिक, लाखौँ श्रमिकले तिरेको चर्को भर्ना शुल्क र घाइते तथा मृत्यु भएकाहरूलाई दिनुपर्ने क्षतिपूर्तिको लागि चाहिने जम्मा रकम भने अझ बढी हुन सक्ने एम्नेस्टीले बताएको छ । 

विगतका दुर्व्यवहारको पीडा मेट्न धेरै ढिला भए पनि फिफा र कतारले क्षतिपूर्ति प्रदान गर्न र भविष्यमा यस्ता दुर्व्यवहार हुनबाट रोक्न सक्ने भन्दै एम्नेष्टिले प्रतियोगिताका लागि काम गरेका श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्ने तथा त्यस्ता दुर्व्यवहारहरू फेरि नहोस् भनेर सुनिश्चित गर्नका लागि आवश्यक कदमहरू चाल्नु पर्ने जनाएको छ ।

सन् २०१० देखि विश्वकप २०२२ आयोजना गर्न आवश्यक रङ्गशाला, होटल, यातायात र अन्य पूर्वाधारहरू निर्माण कार्यमा संलग्न लाखौँ आप्रवासी श्रमिकहरूले मानवअधिकार दुर्व्यवहारको सामना गर्दै आएको भन्दै एम्नेष्टि ईन्टरनेशनल, ह्युमन राइट्स वाच लगायतका संस्थाहरूले निरन्तर आवाज उठाउँदै आएका छन् ।

अधिकांश आप्रवासी श्रमिकहरूले कतारमा आफ्नो रोजगारी सुनिश्चित गर्नका लागि प्रति श्रमिक औसत १ हजार ३ सय अमेरिकी डलरभन्दा बढी गैर कानुनी भर्ना शुल्क तिर्ने गरेको एम्नेष्टीको दाबी छ ।

तपाईको प्रतिक्रिया