आजदेखि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट मात्र पाइने

 जेठ ६, २०७९ शुक्रबार १०:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था लागू भएको छ । यसअघि भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्था लागू भएको हो ।

योसँगै अब श्रम स्वीकृतिको सबै काम पूर्ण रूपमा अनलाइन प्रणालीबाट मात्र हुनेछ । २०७८ माघ २ गते देखि पुनः श्रम स्वीकृति र गएको वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र सुरु भइसकेको छ । 

वैधानिकीकरण मार्फत दिने गरिएको श्रम स्वीकृतिलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा जाने श्रमिक सरह श्रम स्वीकृति प्रदान गर्ने कार्यालयले जनाएको छ ।

नयाँ व्यक्तिगत श्रम स्वीकृति लिनको लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सिप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन बिमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण लगायत आवश्यक पर्छ । 

श्रम स्वीकृति नलिएका घरेलु कामदारको हकमा भने विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावासको सिफारिस पत्र पनि अपलोड गर्नुपर्छ ।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका, २०६९ को प्रक्रिया बमोजिम सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण गरी ल्याउने देश साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स रहेकोमा गएको वैशाखदेखि सरकारले क्रोयसिया, पोल्याण्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्वानिया र स्लोभाकियालाई थप गरेको छ ।

प्रमाणीकरणका लागि नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौता पत्रको प्रतिलिपि लगायतका विवरण पेस गर्न पर्छ । 

यी कागजात सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा दूतावासले पठाउनु पर्नेछ । सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात आफैले प्रिन्ट गरी अनलाइनमा अपलोड गर्नुपर्छ । 

कार्यालयले रोजगारीको लागि विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । कतिपयले श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएको भन्दै कार्यालयले यस्तो आग्रह गरेको हो ।

श्रम स्वीकृतिको लागि अनलाइनमा आवेदन सकभर आफैले वा आफन्त मार्फत भर्न र घरमा नभई अन्यत्र अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी नठगिन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

गएको वर्ष वैदेशिक रोजगारीको लागि १ लाख ६७ हजार जनाको श्रम स्वीकृति भएकोमा चालु आर्थिक वर्षको १० महिनामा ५ लाखभन्दा बढीको श्रम स्वीकृति भएको श्रम कार्यालय ताहाचलले जनाएको छ । 

तपाईको प्रतिक्रिया