वैदेशिक रोजगारीमा कमाएको रकम बचत गर्ने राम्रो माध्यम हो वैदेशिक रोजगार बचत पत्र

 जेठ २५, २०७९ बुधबार १४:२९:९ | डा. गुणाकर भट्ट
unn.prixa.net

वैदेशिक रोजगार बचत पत्र आफूले वैदेशिक रोजगारीमा रहेर कमाएको रकम बचत गर्ने एउटा अत्यन्त राम्रो माध्यम हो ।

यस वर्ष जारी भएको बचत पत्रमा अघिल्ला वर्षहरूको तुलनामा ब्याजदर पनि बढी छ र अनलाइनबाट पनि खरिद गर्न सकिन्छ । आफूले वैदेशिक रोजगारीमा रहँदा कमाएको बचतलाई राष्ट्र निर्माणमा तपाईँले पनि बचत पत्रमा लगानी गरेर लगाउन सक्नुहुन्छ । 

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई नै लक्षित गर्दै करिब १० वर्षदेखि राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आइरहेको छ । 

नेपाल सरकारले आफ्नो आन्तरिक ऋण उठाउने क्रम हुन्छ । जसमा विभिन्न प्रकारका ऋणपत्रहरू जारी गर्ने गरिन्छ । त्यो मध्येको एउटा वैदेशिक रोजगार बचतपत्र पनि हो ।

यसको मुख्य उद्देश्य भनेको जो नेपालभन्दा बाहिरका देशमा रोजगारी गरिरहनुभएको छ र त्यहाँ दुःख गरेर बचत गरेको रकमलाई उहाँहरूले जोखिम रहित तरिकाले उच्च प्रतिफलका साथ लगानी गर्न पाउनुहुन्छ र त्यो रकम राष्ट्र निर्माणमा लगानी हुन्छ । 

अहिलेको सन्दर्भमा यसमा अलिक बढी रुचि देखिएको छ । वैदेशिक रोजगार बचत पत्रको बारेमा चासो र जिज्ञासा पनि बढी देखिएको छ । यस वर्ष वैदेशिक रोजगार बचत पत्रको ब्याजदर साढे १२ प्रतिशत छ । यो भनेको बैङ्कहरूले निक्षेपमा दिइरहेको ब्याजभन्दा बढी हो ।

त्यस कारण पनि यसमा वैदेशिक रोजगारीमा रहेकाहरूले लगानी गर्नुभयो भने प्रतिफल राम्रो प्राप्त हुन्छ । अहिलेसम्म आएका बचत पत्रहरूमा भन्दा यस वर्ष निर्धारण गरिएको ब्याजदर उच्च छ । 

अर्को कुरा भने यो बचतपत्र सरकारले निष्कासन गरेको बचतपत्र हो । यो कतै डुब्छ कि, कसैले छली गर्छ कि भन्ने आशङ्का हुँदैन । पाँच वर्षपछि उहाँहरूले सहज ढङ्गले आफूले लगानी गरेको पैसा फिर्ता पाउनुहुन्छ ।  हरेक ६ महिनामा ब्याज पाउनुहुन्छ ।

यसमा गरेको लगानी  देशमा हुँदा होस् या विदेशमा हुँदा पनि यदि आफूलाई आवश्यक प¥यो भने बेच्न पनि सकिन्छ । विभिन्न मार्केट मेकरहरु हुनुहुन्छ उहाँहरूमार्फत बचतपत्र बिक्री गर्न सकिन्छ । अहिले वैदेशिक रोजगार बचत पत्रको बारेमा राम्रो प्रचार प्रसार भएको छ । त्यस हिसाबले पनि अहिले यसप्रति आकर्षण बढेको छ । अहिले त ब्याज पनि बढेको छ ।

सामान्य अवस्थामा १२.०५ प्रतिशत ब्याजदर प्राप्त हुँदैन । यसमा धेरै आवेदन आएको छ भन्ने त होइन । तर अहिले जुन हिसाबले यसको बारेमा चासो र जिज्ञासा आइरहेको यसबाट यस खालको बचत पत्रको प्रवर्द्धन गर्न सक्छौँ भन्ने हो । 

अनलाइनबाटै किन्न सकिन्छ

वैदेशिक रोजगार बचतपत्र खरिदका लागि अहिले अनलाइनबाटै सबै प्रक्रिया गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकको वेबसाइटमा गएपछि त्यसमा मनिटरिङ म्यानेजमेन्ट भन्ने छ । मनिटरिङ म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ भने फारम डाउनलोड गरी आवश्यक विवरण भरी आफूलाई पायक पर्ने बैङ्क तथा वित्तीय संस्थामा पनि बुझाउन सकिन्छ । 

यसरी बचतपत्र खरिदका लागि आवेदन दिँदा आफू रहेको देशको भिसाको कपी, राहदानी, कम्पनीमा काम गरेको हो भन्ने प्रमाणका लागि कम्पनीको म्याद ननाघेको परिचयपत्रको कपी र दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्छ । 

विदेशबाट नेपालमा पैसा पठाएको प्रमाण र नेपालमै हुनुहुन्छ भने पनि विदेशी मुद्रामा खाता छ भने त्यसको प्रमाण पनि साथमा पेस गर्न पर्छ । 

वैदेशिक रोजगार बचतपत्र आफ्नो परिवारको सदस्यको नाममा र आफ्नो नाममा पनि खरिद गर्न सकिन्छ । परिवारको सदस्यको नाममा किन्ने हो भने परिवारका सदस्यको नागरिकता र नाता प्रमाणितको प्रमाणपत्र पनि आवश्यक पर्छ । नाबालकको हकमा हो भने नाबालकको जन्म दर्ता पनि आवश्यक हुन्छ । यसरी आवश्यक कागजात पु¥याएर निवेदन दिन सकिन्छ । 

अहिले नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ५० करोडको वैदेशिक रोजगार बचतपत्र आह्वान गरेको छ । अहिले जुन हिसाबले यसप्रति जिज्ञासा र चासो बढिरहेको छ यसले अब अर्को वर्ष चाहिँ योभन्दा धेरै रकमको बचतपत्र निष्कासन पनि हुनसक्छ । 

जेठ १८ गतेदेखि खुला भएको बचतपत्र यसपालि आउँदो असार ६ गतेसम्म खरिद गर्न सकिन्छ । 

बचतपत्र खरिद गर्न यति रकम भन्ने छैन । तपाईँले चाहेमा ५० करोड नै पनि राख्न पाउनुहुन्छ । सामान्यतया के हो भन्दा वैदेशिक रोजगारीमा गएका मानिसहरूसँग त्यति ठुलो बचत हुँदैन र भएको सानो सानो बचत वैदेशिक रोजगार बचत पत्रको माध्यमबाट परिचालन गर्न सकियोस् भन्ने हो । भोलि ठुलो रकम यसमा माग भइआयो भने आउँदा वर्षमा राष्ट्र बैंकले ठुलो रकमको बचतपत्र निष्कासन  गर्न पनि सक्छ ।

धितो राखेर ऋण लिन सकिने

यो सरकारले निष्कासन गरेको बचतपत्र हो । सरकारले नागरिकबाट ऋण लिएँ भनेको यो एक किसिमको प्रमाण हो । त्यस कारण जसरी हामीले घरजग्गा धितो राखेर ऋण लिन सक्छौँ त्यसरी नै बचतपत्र धितो राखेर पनि ऋण लिन सकिन्छ ।

घरजग्गा धितो राख्दा धितो मूल्याङ्कनको कुरा आउँछ भने यसमा त प्रस्ट छ । यो यतिको हो धितो भन्ने हुन्छ । बैङ्क तथा वित्तीय संस्थाहरूले शतप्रतिशत कर्जासमेत दिन सक्छन् । कतिपयले केही जोखिम देखेमा त्यही अनुसारको मूल्याङ्कन त होला तर बचतपत्र धितो राखेर कर्जा लिनका लागि पनि बढी सहज हुन्छ । 

(प्रवक्ता भट्टसित कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित । )

डा. गुणाकर भट्ट

भट्ट नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशकसँगै प्रवक्ता तथा सूचना अधिकारी हुनुहुन्छ 

तपाईको प्रतिक्रिया