कोरियन भाषा परीक्षामा कृषितर्फ कोरियाको मागभन्दा कम परीक्षार्थी उत्तीर्ण

 असार १४, २०७९ मंगलबार १२:५९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा कोरियाको मागभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् । 

कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको भए पनि भाषा परीक्षामा जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् । 

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार गएको जेठ १९ गतेदेखि असार ३ गतेसम्म भएको कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा दिएका ६ हजार १०६ मध्ये जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।

कृषि तथा पशुपालन क्षेत्रमा पहिलो चरणको कोरियन भाषा परीक्षामा जम्मा ६ हजार ५ सय ९७ जनाले आवेदन दिएकोमा ६ हजार १०६ जनाले परीक्षा दिएका थिए । 

कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको थियो ।

 तर कोरियाको मागभन्दा ९ सय ३२ जना कम परीक्षार्थी मात्रै भाषा परीक्षणमा उत्तीर्ण भएका छन् ।  सन् २०२२/२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भनेको छ ।

सीप परीक्षणको दोस्रो चरणको परीक्षा भने हुनै बाँकी छ । परीक्षामा उत्तीर्ण हुँदैमा कोरियाको रोजगारी निश्चित नहुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

1 Comments

  • sagar bhattarai

    June 28, 2022, 5:53 p.m.

    पास गराएर नलैजानु भन्दा कोटा भन्दा कम पास गरएकै राम्रो

तपाईको प्रतिक्रिया